हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइन : १२ वर्षपछि अन्तिम चरणमा, दसैंलगत्तै सञ्चालनमा ल्याइने
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा-ढल्केबर ४०० केभी सबस्टेसनको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले सबस्टेसनमा निर्माणाधीन हेटौँडा-ढल्केबर ४०० केभी प्रसारण लाइनका दुईवटा मल्टिसर्किट टावरको कार्यप्रगति विवरणबारे ब्रिफिङ लिएका छन्।
ब्रिफिङका क्रममा मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डका रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन्।
करिब १२ वर्षदेखि रोकिएको हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अगाडि बढाउन मन्त्री श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रक्रिया अगाडि बढाएका थिए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले १२ वर्षदेखि अड्किएको हेटौंडा-ढल्केबर प्रसारण लाइनको काम मन्त्री श्रेष्ठकै पहलमा अघि बढेर अहिले अन्तिम चरणमा पुगेको जानकारी दिए।
उनका अनुसार हेटौँडा-ढल्केबर प्रसारण लाइनका १६ वटा टावरमध्ये १४ वटा डबल सर्किटका टावर निर्माण भइसकेका छन् भने बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माणको अन्तिम चरणमा पुगेका छन्।
कार्यकारी निर्देशक श्रेष्ठले भने, `१४ वटा टावर तयार भइसकेका छन्। बाँकी दुईवटा टावरको कार्यप्रगति पनि राम्रो छ। १०/१५ दिनमै निर्माण सम्पन्न गरेर चार्ज गर्छौं। यसलाई हामीले ब्याक बोनका रूपमा लिएका छौँ, जसले गर्दा आपूर्ति क्षमता र विश्वसनीयता धेरै बढेर जान्छ । यसबाट आन्तरिक खपत पनि बढाउन सकिन्छ भने निर्यात वृद्धि गर्न पनि मद्दत पुग्छ । दसैँलगत्तै लाइन चार्ज गर्ने तयारी छ ।´
निरीक्षणकै क्रममा मन्त्री श्रेष्ठले हेटौँडा-ढल्केबर प्रसारण लाइन नेपालको ऊर्जा क्षेत्रका लागि मेरुदण्ड नै भएको बताए। `यहाँको लाइन चितवन हुँदै बुटवल जाने र अर्कातिर ढल्केबर जाने टावरको काम रोकिएको थियो। १६ वटा टावरको काम विगत १२ वर्षदेखि रोकिएको स्थिति थियो राज्यको अर्बौँ रुपियाँ खर्च भएको तर के गर्ने भन्ने अन्योल भइरहेका बेला सबैको सत्प्रयासले ऐतिहासिक काम सम्भव भएको छ । यसले बुटवलको लाइन इनरूवा र इनरूवाको लाइन बुटवल जान सक्ने ऊर्जाको राजमार्ग नै बनाउँछ। यहाँका दुईवटा टावरबारे चिन्ता थियो, तर सबै टिमको सक्रियतामा यो अहिले सम्पन्न हुने चरणमा पुगेको छ,´ मन्त्री श्रेष्ठले भने ।
मन्त्री श्रेष्ठले यो प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आएपछि नेपालको ऊर्जा प्रणाली निकै सन्तुलित र गुणस्तरीय हुने विश्वास व्यक्त गरे।
मन्त्री श्रेष्ठले अगाडि भने, `यो प्रसारण लाइन चार्ज भइसकेपछि नेपालको ऊर्जा धेरै सन्तुलित र गुणस्तरीय हुनेछ । मेरुदण्ड भएकाले नै हामीले टावर निर्माणको प्रगति अलि अघिदेखि नै अनुगमन गरिरहेका थियौं। आज प्रत्यक्ष हेर्दा १२ वर्षदेखि अलमलमा परेको प्रसारण लाइनले गति लिएको स्पष्ट हुन्छ । अब ऊर्जा क्षेत्र धेरै स्टेबल हुन्छ। अहिले यहाँबाट ढल्केबरतर्फ तीन सय मेगावाट क्षमतामा विद्युत् प्रवाह भइरहेकामा यो लाइन बनेपछि दुई हजार मेगावाट क्षमतामा विद्युत् प्रवाह हुनेछ। यो सानो उपलब्धि होइन।´
मन्त्री श्रेष्ठका अनुसार हेटौंडा-ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व-पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुनेछ।
यसले देशभित्रको विद्युत् आपूर्ति प्रणालीलाई बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग सम्बोधन गर्न, अन्तर्देशीय विद्युत् व्यापार बढाउन र वर्षायाममा उत्पादन हुने विद्युत् खेर जान नदिनसमेत महत्त्वपूर्ण भूमिका खेल्नेछ। यो आयोजना सम्पन्न हुँदा राष्ट्रिय ग्रिडको विश्वसनीयता र विद्युत् व्यापारको सम्भावना थप विस्तार हुने उनको भनाइ छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment