बहुविधाका सिद्धहस्त सर्जक : प्राज्ञ कलाकार रमेश खनाल
आजका प्राज्ञ कलाकार एवम् कला लेखक रमेश खनालले त्यस बखतका जल्दाबल्दा कलाकार रामानन्द जोशीसँग चित्रकला सिक्नुभएको हो। रत्नपार्कमा उहाँको ‘पार्क ग्यालरी’ थियो।
चित्र सिक्दै गर्दा नेपाली साहित्यमा ‘तेस्रो आयाम’को बेग्लै भूमिका थियो। सोही तेस्रो आयामका प्रवर्तकमध्येका एक वरिष्ठ कवि ईश्वर बल्लभसँग २०३९ सालमा खनालको परिचय भयो। पछि आयामका अरू कविहरू बैरागी काइँला र इन्द्रबहादुर राईसँग पनि उहाँको परिचय र साथसंगत बढ्यो।
एकदिन कवि ईश्वर बल्लभसँग उहाँले जिज्ञासा राख्नुभयो- ‘म मेरै किसिमको काम गर्न चाहन्छु। म अरू कोहीजस्तो हुन चाहन्नँ। यसका लागि के गर्नुपर्छ कविज्यू ?’
खनालको यस्तो दार्शनिक जिज्ञासाले कवि बल्लभ दंग पर्नुभयो। खनालले खोजेको, सोचेको र परिकल्पना गरेको नयाँ विचारको प्रस्थानबिन्दु पनि यस्तै नयाँ दर्शन, नयाँपनको अनुभूति र नौलो चिन्तनमा आधारित थियो।
कवि बल्लभले खनाललाई ‘तिमीले अब केही पृथक् गर्ने सोच’ भन्दै एक सातापछि भेटौँ भन्नुभयो। उहाँ ती क्षणलाई सम्झिँदै भन्नुहुन्छ- ‘सात दिनपछि भेट्दा कवि ईश्वर बल्लभले ‘अरूपण’ शैलीमा चित्रकला बनाउन भन्नुभयो। जिन्दगीमा कहिल्यै नसुनेको शब्द ‘अरूपण’ सुनेर सुरुमा त म वाल्ल परेँ। कविज्यूले बुझाएपछि मैले बल्ल बुझेँ अरूपणको सक्कली सार।’
‘अरूपण’ अर्थात् कुनै रूप नभएको, रूपविहीन। यस्तो चित्र बनाउन भनेपछि खनालले पनि त्यस्तै कला सिर्जना गर्न थाल्नुभयो। क्यानभासमा रङहरू हुन्थे, तर निश्चित आकार वा रूप हुँदैनथ्यो। यस किसिमको काम उहाँको विचारमा ’एक्सिडेन्टल आर्ट’ पनि हो।
रूपविहीन चित्रलाई अरूपण भनिन्छ भन्ने थाहा पाएपछि त्यसको गहिराइमा पुग्न धेरै अध्ययन आवश्यक थियो। त्यसपछि उहाँ प्रशस्त किताबहरू पढ्न थाल्नुभयो र साधनालाई निरन्तरता दिनुभयो। आज पनि उहाँ अरूपण शैलीमै चित्र कोर्दै आइरहनुभएको छ- जसमा रूप र विम्ब हुन्न, केवल रङ र भाव हुन्छन्।
२००५ साल श्रीपञ्चमीका दिन धरानमा जन्मनुभएका कलाकार खनाल हाल काठमाडौँको लाजिम्पाटस्थित खोलागालमा स्थायी बसोबास गर्नुहुन्छ। उहाँ बुबा रघुनाथ र आमा नन्दादेवीका एक्लो छोरा हुनुहुन्छ। उहाँले आमाको नाममा ‘नन्दादेवी खनाल कला सम्मान’ तथा पुरस्कारको स्थापना गर्नुभएको छ। साथै उहाँ ‘अरूपण आर्ट ग्यालरी’का संस्थापक हुनुहुन्छ।
सोही ग्यालरीमार्फत उहाँले विगत लामो समयदेखि हरेक शनिबार विद्यार्थी भाइबहिनीहरूलाई निःशुल्क कला सिकाउँदै आउनुभएको छ। ग्यालरीमा वरिष्ठ र युवा कलाकारहरूका कलाप्रदर्शनी आयोजना हुनुका साथै विश्वप्रसिद्ध कलाकारका प्रतिलिपि कलाकृतिहरूसमेत प्रदर्शनीमा राखिएका छन्। कलाकार, समीक्षक र पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रम पनि सो ग्यालरीमा हुँदै आएको उहाँ बताउनुहुन्छ।
गत वर्ष भदौमा उहाँले आफ्नो अरूपण शैलीका कलाकृतिहरूको एकल प्रदर्शनी सोही ग्यालरीमा गर्नुभएको थियो। खनालका अनुसार केही वर्षअघि अमेरिकामा पनि अरूपण शैलीका चित्रहरूको ३२औँ एकल प्रदर्शनी भएको थियो।
अरूपण आर्ट ग्यालरीमा उहाँकी धर्मपत्नी रीता खनालको एकल कलाप्रदर्शनी भइसकेको छ। उहाँका दुई छोरीहरू रुरु खनाल (लम्साल) र रुविना खनाल (मैनाली) पनि कलाकार हुनुहुन्छ र उहाँहरूका कलाप्रदर्शनी पनि सोही ग्यालरीमा सम्पन्न भइसकेका छन्।
खनालकै प्रधान सम्पादकत्व र ग्यालरीको प्रकाशनमा कला गतिविधिहरू समेटिएको मासिक बुलेटिन पनि प्रकाशित हुँदै आएको छ।
सिर्जनात्मक कार्यमा सधैँ सक्रिय, उत्तिकै उत्साहित र समर्पित कलाकार खनालले थुप्रै कलापुरस्कार प्राप्त गर्नुभएको छ। उहाँका डेढ दर्जनभन्दा बढी कला र साहित्यसम्बन्धी पुस्तकहरू प्रकाशित छन्।
उहाँका प्रकाशित केही कृतिहरूमा ‘एक मुठी माटो’ (कथासङ्ग्रह), ‘घाममा पानी-पानी हुन्छु’ (कवितासङ्ग्रह), ‘तेस्रो झर्को घाम लाग्यो पानी पर्याे’ (कवितासङ्ग्रह), ‘उपेक्षित पक्षहरूसँग जीवनको एक सम्झौता’ (सचित्र कवितासङ्ग्रह) र ‘इन्दिराको भ्यागुतो’ (कथासङ्ग्रह) आदि छन्।
त्यस्तै कलासम्बन्धी कृतिहरूमा ‘चन्द्रमानसिंह मास्के’ (जीवनी), ‘विश्वप्रसिद्ध कला र कलाकार’, ‘कला मन्थन’, ‘नेपालका प्रसिद्ध कलाकार’, ‘अन्तरचेतनामूलक साहित्यिक अध्ययन’ (समालोचना), ‘विश्वप्रसिद्ध कलाकार माइकल एञ्जेलोसँग साक्षात्कार’ (संस्मरण) र ‘विश्वप्रसिद्ध कलाग्यालरीभित्र फन्को मार्दा’ (संस्मरण) आदि छन्। हालसालै उहाँको ‘युद्धमा विलाएको सपना’ शीर्षकको पुस्तक पनि प्रकाशित भएको छ।
आफ्नो बाल्यकाललाई सम्झिँदै कलाकार खनाल भन्नुहुन्छ- ‘आमाले सिलोटमा खरीले लेख्दै मलाई अक्षर चिनाउनुहुन्थ्यो। सानोमा म अहिले पढेको कुरा भरे बिर्सिहाल्थेँ। धरानको शारदा विद्यालयबाट मेरो औपचारिक शिक्षा आरम्भ भयो। पछि म शिक्षा निकेतन हाइस्कुलमा भर्ना भएँ।
सानैदेखि म धरानमा हुने साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूमा जाने गर्थेँ। मेरो बुबा रघुनाथ खनाल कवि तथा पत्रकार हुनुहुन्थ्यो। उहाँले ‘साँघुरी’ तथा ‘कलाकार’ पत्रिका निकाल्नुहुन्थ्यो। बुबाकै प्रभावबाट मैले पनि सानैदेखि साहित्यमा कलम चलाउन सिकेको हुँ।’
चित्रकलाप्रतिको अभिरुचि र आकर्षणबारे उहाँ थप्नुहुन्छ- ‘ठूलोबाका छोरा गोविन्द दाइ चित्रकार हुनुहुन्थ्यो। उहाँले घरको भित्ताभरि बनाएका चित्रले मलाई पनि चित्रकलातर्फ आकर्षित गर्यो। म खेलकुदमा पनि निकै रुचि राख्थेँ। लेफ्ट आउट पोजिसनमा फुटबल खेल्दै धरान टाउन टिमबाट थुप्रै म्याच खेलेको छु।’
२०२७ सालमा उहाँ ‘मिस्टर धरान’ भएर काठमाडौँ आउनुभयो र २०३१ सालमा ‘मिस्टर काठमाडौं’ बन्नुभयो। काठमाडौं आएपछि उहाँले कलाकार रामानन्द जोशीसँग चित्रकला सिक्न थाल्नुभएको हो। तिनताका जोशीले रत्नपार्कमा ‘पार्क ग्यालरी’ सञ्चालन गर्नुहुन्थ्यो।
उहाँ भन्नुहुन्छ- ‘मेरा चित्ररचनामा रङकै प्राधान्य हुन्छ। रङको माधुर्य पक्षलाई मैले विशेष महत्त्व दिँदै आएको छु। चित्रमा रङले बोल्नुपर्छ र दर्शकले रङसँग संवाद गर्न सक्नुपर्छ भन्ने मेरो मान्यता छ। अमूर्तकलामा आकृतिलाई विम्बका रूपमा प्रस्तुत गरिन्छ, तर अरूपण शैलीमा विम्बबिना नै क्यानभासमा रङ पोतिन्छ। अब कलाकारले ‘मैले यस्तो चित्र बनाएको हुँ’ भन्दै बुझाउने जमाना गयो; त्यसको व्याख्या गर्ने हक अब दर्शककै हुन्छ।’
२०३० सालमा काठमाडौँको सरस्वती सदनमा उहाँको पहिलो एकल कलाप्रदर्शनी भएको थियो। त्यसयता काठमाडौँ, पोखरा, धरानका साथै मस्को र बेलायतजस्ता स्थानमा गरी दुई दर्जनभन्दा बढी पटक उहाँका एकल प्रदर्शनीहरू भइसकेका छन्। त्यस्तै विभिन्न सामूहिक कलाप्रदर्शनी र कार्यशालाहरूमा पनि उहाँको सक्रिय सहभागिता रहँदै आएको छ।
आफ्ना सिर्जनाहरू जीवनवादी दृष्टिकोणबाट प्रेरित रहेको र तिनमा सौन्दर्य एवम् संवेगको उपस्थिति हुने उहाँ बताउनुहुन्छ। ‘अमूर्तशैली भनेको रङको लिपपोत मात्रै होइन, प्रत्येक रङबीचको सम्बन्ध र संवाद हो। त्यसमा दृश्यमान संयोजित एवम् सन्तुलित मिठास नै कलारचनाको ज्यान हो,’ उहाँ भन्नुहुन्छ।
कलाकार खनालले साहित्यिक कृतिहरूमा आधारित कलारचना पनि सिर्जना गर्नुभएको छ। बी.पी. कोइरालाको कथा ‘दोषी चश्मा’ र पारिजातको ‘शिरीषको फूल’ उपन्यासमा आधारित उहाँका कलाकृतिहरूको छुट्टाछुट्टै एकल कलाप्रदर्शनी भइसकेको छ।
कलाकार तथा कला लेखक खनालले आफ्नै लेखन र निर्देशनमा ‘कलाकार बालकृष्ण समको चित्रकला यात्रा’ नामक वृत्तचित्रसमेत निर्माण गर्नुभएको छ। उहाँले ‘नेपाल कलाकार समाज’ तथा ‘ललितकला समीक्षक समाज, नेपाल’को अध्यक्षका रूपमा नेपाली कलाक्षेत्रको संस्थागत विकासमा सराहनीय योगदान पुर्याउनुभएको छ। उहाँ नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ-परिषद् सदस्यसमेत भइसक्नुभएको छ।
कलाकार रमेश खनालले २०५७ सालमा ‘राष्ट्रिय प्रतिभा पुरस्कार’, २०६९ सालमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट ‘ललितकला लेखन पुरस्कार’, २०७३ मा ‘भूपेन्द्र सुभारीलाल ललितकला चेतना पुरस्कार’ र २०७६ सालमा ‘भद्रकुमारी घले कला पुरस्कार’ प्राप्त गर्नुभएको छ।
एकछिन पनि चुप लागेर नबस्ने र निरन्तर केही न केही गरिरहने उहाँको स्वभाव छ। जीवन सङ्घर्ष, अनुशासन र समर्पण हो भन्ने मान्यता उहाँ राख्नुहुन्छ। उहाँसँग यी पङ्क्ति लेखकको लामो सङ्गतका आधारमा उहाँ सधैँ काममै समर्पित हुन रुचाउने स्वभावका हुनुहुन्छ।
‘नेपाल कलाकार समाज’ तथा ‘ललितकला समीक्षक समाज, नेपाल’मा उहाँसँग रहेर काम गर्दा धेरै सकारात्मक भावना उहाँमा मैले भेटेको छु। त्यसैले सामूहिक हितमा काम गर्न रुचाउने उहाँ सिर्जनाका हरेक विधामा उत्तिकै सिर्जनशील सर्जक हुनुहुन्छ।
No ads found for this position




Facebook Comment