‘१२ गाउँ २’को प्रेमिल गीत ‘लालीगुराँस’ सार्वजनिक : समीर र कृशुको आकर्षक नृत्य
काठमाडौं। वर्षकै बहुप्रतिक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’ को प्रेमिल गीत ‘लालीगुराँस’ शुक्रबार सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा चर्चित गायक शिव परियार र गायिका सारोही कुमारको स्वर रहेको छ भने शब्द र सङ्गीत युग भुसालको रहेको छ।
प्रकृतिलाई बिम्ब बनाएर तयार पारिएको यो प्रेमगीतमा युवक र युवतीबीचको अगाध प्रेम, समर्पण र मायालु जोडीको भावनालाई प्रस्तुत गरिएको छ। प्रेमी-प्रेमिकाले एकअर्कालाई चाहेपछिको समर्पण र सम्झनालाई संगीतमार्फत सुन्दर ढंगले व्यक्त गरिएको छ।
सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार समीर भट्ट र कृशु शाहीको आकर्षक नृत्य देख्न सकिन्छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा दुई कलाकारको जोडी सुहाउँदो देखिएको छ।
अभिनेता विराज भट्टको निर्देशनमा बनेको यो चलचित्र आगामी असोज ३० गते फूलपातीका दिनदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ। विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको यस सिनेमाको कथा सन्तोष सरकारले लेखेका हुन् भने महेश पौडेलको छायाङ्कन रहेको छ।
चलचित्रमा समीर र कृशुका साथै निर्देशक विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ। यसै चलचित्रमार्फत कृशु शाही र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।
सिनेमामा युग भुसाल र डीपी खनालको सङ्गीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शङ्कर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment