राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने : अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

डिसी नेपाल
१८ असोज २०८३ ११:५७

काठमाडौं। नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान नयाँ सिक्का टकमारी (मिन्टिङ) गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले चलनचल्तीका ४० करोड थान सिक्काको डिजाइन, टकमारी, आपूर्ति तथा डेलिभरीका लागि पूर्वयोग्य सुरक्षण सिक्का टकमारी कम्पनीहरूबाट बोलपत्र माग गरेको हो।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (आईसीबी) प्रक्रियाअन्तर्गत ‘सिंगल स्टेज, टू इनभेलप’ विधिमार्फत यो बोलपत्र आह्वान गरिएको राष्ट्र बैंकले जनाएको छ।

इच्छुक पूर्वयोग्य कम्पनीहरूले काठमाडौंको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टकमारी प्रभागबाट सन् २०२६ नोभेम्बर २ सम्म बोलपत्र कागजात खरिद गर्न सक्नेछन्। त्यसका लागि गैर-फिर्ताहुने गरी २० हजार नेपाली रुपैयाँ, १३१ अमेरिकी डलर वा ११५ युरो शुल्क तोकिएको छ।

राष्ट्र बैंकका अनुसार अक्टोबर १५ मा दिउँसो १२ बजे पूर्व-बोलपत्र (प्रि-बिड) बैठक आयोजना गरिनेछ। बोलपत्रदाताले नोभेम्बर ३ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र पेस गरिसक्नुपर्नेछ भने सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ।

यस प्रतिस्पर्धामा सहभागी हुने कम्पनीले न्यूनतम १ लाख ४८ हजार अमेरिकी डलर वा सो बराबरको बोलपत्र जमानत (बिड सेक्युरिटी) पेस गर्नुपर्ने सर्त राखिएको छ।

नयाँ सिक्का टकमारी गरी आपूर्ति गर्ने यो प्रक्रियामार्फत राष्ट्र बैंकले बजारमा चलनचल्तीका लागि आवश्यक पर्ने १ रुपैयाँ दरका सिक्काको मौज्दात र आपूर्ति व्यवस्थापन गर्न लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *