मानव–हात्ती सहअस्तित्वका लागि एनटीएनसी र थाइल्यान्डको संस्थाबीच सम्झौता

डिसी नेपाल
१९ असोज २०८३ २०:४४

काठमाडौं। मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा सहअस्तित्व प्रवर्द्धनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र थाइल्यान्डको ‘सेभ एलिफेन्ट फाउन्डेसन’बीच तीन वर्षे समझदारी भएको छ।

समझदारीपत्रमा कोषका सदस्यसचिव डा. चिरञ्जीवीप्रसाद पोखरेल र फाउन्डेसनकी संस्थापक तथा निर्देशक साङदुआन चैलेर्टले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार जंगली हात्तीको बासस्थान संरक्षण र मानव–हात्ती द्वन्द्व घटाउन समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिनेछ।

त्यस्तै, घरपालुवा हात्तीको सुरक्षा, स्वास्थ्य, पोषण, उचित आवास, उद्धार तथा पुनर्स्थापनामा थाइल्यान्डको प्राविधिक ज्ञान र अनुभव आदानप्रदान गरिनेछ। माउते, हेरचाहकर्ता तथा वन्यजन्तु प्राविधिकको क्षमता अभिवृद्धि र संयुक्त अनुसन्धान पनि गरिनेछ।

प्रभावित समुदायमा सचेतना कार्यक्रम सञ्चालन तथा आवश्यक प्रविधि हस्तान्तरणमा समेत सहकार्य गरिने जनाइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले तराईका संवेदनशील क्षेत्रमा विद्युतीय तारबार, साइरन, टर्चलाइट वितरण र झाडी सफाइजस्ता उपायसमेत सञ्चालन गर्दै आएको छ।

सम्झौताले मानव–हात्ती द्वन्द्व न्यूनीकरणसँगै हात्ती संरक्षणमा दीर्घकालीन सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *