उच्च शिक्षा सुधारबारे मधेशमा उच्चस्तरीय संवाद सुरु
सिमरा । उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारुपबारे मधेश प्रदेशमा उच्चस्तरीय संवाद कार्यक्रम बाराको सिमरामा सुरु भएको छ।
युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको दुईदिने कार्यक्रममा संघीय सांसद, प्रदेश सरकार तथा विश्वविद्यालयका पदाधिकारी, स्थानीय सरोकारवाला, नागरिक समाज, नीति निर्माता र विज्ञहरूको सहभागिता रहेको छ।
कार्यक्रममा मधेश प्रदेशको उच्च शिक्षाको अवस्था, सम्भावना र विद्यमान समस्याबारे कार्यपत्र प्रस्तुत गरी समूहगत छलफल गरिनेछ। विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा खड्गबहादुर केसीले मधेश प्रदेशको उच्च शिक्षाको अवस्थाबारे प्रस्तुति दिएका छन्।
संवादमा मधेश प्रदेशको उच्च शिक्षाको भविष्य, जिल्लागत सम्भाव्यता, सुधारका उपाय तथा विश्वविद्यालयको भूमिकाबारे छलफल हुनेछ। विभिन्न विश्वविद्यालयका पदाधिकारीले उच्च शिक्षाको वर्तमान अवस्था र सुधारका विषयमा प्रस्तुति दिने कार्यक्रम छ।
शिक्षा मन्त्रालयका अनुसार राष्ट्रिय योग्यता प्रारुपअन्तर्गत औपचारिक, अनौपचारिक तथा सीप शिक्षाबाट प्राप्त ज्ञान र सीपलाई एकीकृत तथा प्रमाणीकरण गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाइनेछ। शिक्षाबीच रूपान्तरण, शिक्षामा गतिशीलता तथा श्रेय सञ्चय र स्थानान्तरण प्रणाली विकास गर्ने विषयमा पनि छलफल हुनेछ।
मन्त्रालयका सहसचिव जयराम अधिकारीले आधारभूत शिक्षा नपाएका, वैकल्पिक माध्यमबाट शिक्षा हासिल गरेका तथा परम्परागत रूपमा सीप प्राप्त गरेका व्यक्तिलाई समेत राष्ट्रिय योग्यता प्रणालीमा समेट्ने उद्देश्य रहेको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment