सोह्रश्राद्धको मुख्य याममै कागबेनीधाम सुनसान, पर्यटन क्षेत्र प्रभावित
मुस्ताङ। चाडपर्वका बेला बर्सेनि हजारौं धार्मिक तीर्थालु र पर्यटकहरूको आवतजावतले गुल्जार हुने मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल कागबेनीधाम यसपटक भने पूर्ण रूपमा गुमनाम र सुनसान बनेको छ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको बेनी-जोमसोम सडकमार्ग बाढीपहिरोका कारण लामो समयदेखि अवरुद्ध हुँदा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित यो पवित्र तीर्थस्थलमा भक्तजनहरूको उपस्थिति शून्यप्रायः बनेको हो।
विशेष गरी चैते दशैं र बडा दशैंअघिको सोह्रश्राद्धको अवधिमा दैनिक सयौँको संख्यामा धार्मिक तीर्थालुहरूको घुइँचो लाग्ने कागबेनीधाम गत असोज ८ गतेयता पूर्ण रूपमा सुनसानप्रायः छ।
दिवङ्गत पितृको सम्झनामा कागबेनीधामस्थित पवित्र कालीगण्डकी नदीको तटमा पिण्डदान, तर्पण र श्राद्ध गर्नाले धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ। तेत्तीस कोटी देवताको वास रहेको धार्मिक तपोभूमि मुस्ताङको कागबेनीमा पूजापाठ गरी श्राद्ध गर्नाले दिवङ्गत पितृको उद्धार र सद्गति हुने हिन्दू धर्मशास्त्रमा उल्लेख छ।
सामान्यतया मुस्ताङको कागबेनीधाममा बर्सेनि हजारौँ धार्मिक तीर्थालु पितृको नाममा श्राद्ध गर्न आइपुग्ने गर्छन्। यसरी आएका भक्तजनहरू कागबेनीमा विधिपूर्वक पितृ श्राद्ध सम्पन्न गरी मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्कने परम्परा छ।
अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टद्वारा सञ्चालित पितृतीर्थ स्थल कागबेनी धर्मशालाका पुजारी गौतम कोइरालाका अनुसार भदौ १० गते रसुवामा आएको बाढी र असोज ८ गतेदेखिको भारी वर्षाका कारण ठाउँ-ठाउँमा आएको बाढीपहिरोले बेनी-जोमसोम सडक अवरुद्ध भएपछि कागबेनीधाममा श्राद्ध गर्न आउने धार्मिक तीर्थालुको सङ्ख्या शून्य अवस्थामा पुगेको छ।
यस वर्षको सोह्रश्राद्धको आठौँ दिन बितिसक्दा पनि एक प्रतिशत धार्मिक तीर्थालु पनि कागबेनीसम्म पुग्न नसकेको पुजारी कोइरालाले जानकारी दिए।
विगतका वर्षहरूमा दैनिक ५०० भन्दा बढी धार्मिक तीर्थालु दिवङ्गत पितृको नाममा श्राद्ध गर्न मुस्ताङको कागबेनी धाममा आइपुग्थे। अझ दसैँअघिको सोह्रश्राद्धको अन्तिम दिन अर्थात् औंसी तिथिमा त कागबेनीधाममा धार्मिक तीर्थालुको थेगिनसक्नु भीड लाग्ने गर्दथ्यो।
औँसीको अघिल्लो र पछिल्लो दिनमा कागबेनीमा श्राद्ध गर्न आउने तीर्थालुहरूको बाक्लो उपस्थितिका कारण मुस्ताङको घाँसादेखि माथि मुक्तिनाथसम्मका सम्पूर्ण होटलहरू खचाखच भरिने गरेका थिए।
तर, यसपटक भारी वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकीको नदी कटानले बेनी-जोमसोम सडक पूर्ण रूपमा ठप्प पारेपछि कागबेनीधाममा भक्तजनहरूको आगमनमा पूर्णविराम लागेको छ।
सडक अवरुद्ध भएकै कारण जिल्ला बाहिरबाट श्राद्ध गराउन आएका एक दर्जनभन्दा बढी पुजारीहरू काम नपाएपछि आफ्नो गन्तव्यतर्फ फर्किसकेका छन्। कागबेनी धर्मशालामा कार्यरत आठ जना पुजारीमध्ये तीन जना पुजारी घर फर्किसकेको पुजारी कोइरालाले बताए।
यसपालि सोह्रश्राद्धको आठौं दिनसम्म आइपुग्दा दैनिक २-३ जनाले मात्र पितृको नाममा श्राद्ध गर्ने गरेको र आठ दिनको अवधिमा जम्मा डेढ दर्जनजतिले मात्र श्राद्ध गरेको तथ्यांक छ। त्यसरी श्राद्ध गर्नेहरूमा पनि अधिकांश जिल्लाभित्रै कार्यरत निजामती कर्मचारी मात्रै रहेका छन्।
उहाँका अनुसार विगतका वर्षहरूमा कागबेनीधाममा श्राद्ध गराउन सयभन्दा बढी पुजारी तथा पण्डितहरू आउने गरेकामा यस वर्ष रसुवाको बाढी घटना र लगातारको भारी वर्षाले सडक अवरुद्ध हुँदा बाहिरबाट पुजारीहरूको उपस्थिति हुन सकेको छैन।
धार्मिक आस्थाको धरोहर मुस्ताङको कागबेनीधाम र मुक्तिनाथ मन्दिर क्षेत्र सडक सञ्जालबाट विच्छेद हुँदा पर्यटकीय रूपमा पूर्णतः विरक्तलाग्दो बनेको छ। गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मुख्य मेरुदण्ड मानिने कागबेनीधाम र मुक्तिनाथ मन्दिर जोड्ने सडक अवरुद्ध हुँदा मुस्ताङको मात्र नभई समग्र गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो नकारात्मक असर परेको छ।
सोह्रश्राद्ध सुरु भएदेखि दसैँको नवरात्रसम्म उल्लेख्य मात्रामा धार्मिक तीर्थालुहरू मुस्ताङ भ्रमणमा आउने गरेकामा सडक अवरुद्धताले यस क्षेत्रको समग्र पर्यटन व्यवसाय नै प्रतिकूल बनेको छ।
बेनी-जोमसोम सडकमार्ग एक साताभन्दा बढी समयदेखि अवरुद्ध भइरहँदा कागबेनीमै रोकिएका पुजारी-पण्डितहरू पनि कामविहीन र फुर्सदिला बनेका छन्।
कागबेनीस्थित होटल याक डोनाल्सकी सञ्चालिका एवं स्थानीय पर्यटन व्यवसायी लक्ष्मी गुरुङले रसुवाको भोटेकोशी बाढी विपद् र भारी वर्षाले बेनी—जोमसोम सडकमा पुर्याएको व्यापक क्षतिका कारण मुस्ताङको पर्यटन क्षेत्रले अपूरणीय नोक्सानी व्यहोर्नुपरेको बताइन्।
यो समय मुस्ताङका लागि पर्यटकीय हिसाबले सबैभन्दा अनुकूल याम भए पनि यही बेला बेनी-जोमसोम सडक अवरुद्ध हुनु व्यवसायीहरूका लागि ठूलो दुर्भाग्य भएको उनको भनाइ छ।
मुस्ताङको सिजनल व्यापारले बाह्रै महिनाको खर्च धान्नुपर्ने बाध्यता रहेका बेला मुस्ताङ आउने योजना बनाएका पर्यटकहरूले समेत धमाधम होटल बुकिङ रद्द गरिरहेको उनले दुःखेसो पोखिन्।
असोज ८ देखि ११ गतेसम्मको भारी वर्षाले मुस्ताङमा पर्यटन व्यवसायका साथै कृषक, यातायात व्यवसायी, उद्योगी र सर्वसाधारणलाई ठूलो सास्ती दिएको व्यवसायी गुरुङले उल्लेख गरिन्।
सडक, विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा मुस्ताङमा अलपत्र परेका पर्यटकहरू ठूलो मारमा परेका छन्। स्याउ किसानहरू पाकेको स्याउ बजारसम्म पठाउन र बिक्री गर्न नपाएर चिन्तित बनेका छन् भने सञ्चार र बैंकिङ सेवा ठप्प हुँदा अलपत्र पर्यटकहरूले होटलमा खाएको र बसेको पैसासमेत तिर्न नसक्ने अवस्था सिर्जना भएको छ। यसका साथै इन्धनको चरम अभाव खडकिनुका साथै सम्पूर्ण विकास निर्माणका कामहरूसमेत ठप्प भएका छन्।
सामान्य अवस्थाको सोह्रश्राद्ध अवधिमा झन्डै ५० हजारभन्दा बढी तीर्थालु तथा पर्यटक कागबेनीमा आउने गरेकामा अहिले सडक अवरुद्धताले गर्दा त्यो स्थिति पूर्ण रूपमा गुमेको पर्यटन व्यवसायी गुरुङको भनाइ छ।
धार्मिक मान्यता अनुसार मुस्ताङको कागबेनीस्थित पवित्र कालीगण्डकी नदी र मुक्तिनाथबाट बगेर आउने गण्डकी नदीको सङ्गमस्थलमा दिवङ्गत पितृहरूको सम्झनामा धार्मिक अनुष्ठानसहित श्राद्ध गर्नाले पितृहरू प्रसन्न भई पुण्य प्राप्ति हुने गर्दछ।
पौराणिक कथा अनुसार काग भुसुन्डे ऋषिले तिलिचो तालमा कठोर तपस्या गरी कागबेनीमा स्नान गरेकाले कागबेनीधामको कालीगण्डकी नदीको तटलाई पावन धार्मिक पुण्यस्थलका रूपमा लिने गरिन्छ।
सोही धार्मिक विश्वासका आधारमा बर्सेनि सोह्रश्राद्धको अवधिमा कागबेनीधामको कालीगण्डकी नदी तटमा हजारौँ तीर्थालुहरूले आफ्ना पितृको मोक्षका लागि श्राद्ध र पिण्डदान गर्ने गर्दछन्।
No ads found for this position




Facebook Comment