घुस लिएको आरोपमा विद्युत् प्राधिकरणका इन्जिनियरविरुद्ध मुद्दा दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
इटहरी उपमहानगरपालिका–८ स्थित वितरण केन्द्रमा कार्यरत यादवले गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडान गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोप छ।
उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा विद्युत् लाइन जडानमा अनावश्यक ढिलासुस्ती गरी सेवाग्राहीलाई दुःख हैरानी दिएर घुस दिन बाध्य बनाएको र लाइन जडान तथा सहजीकरणका लागि रकम माग गरी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
अख्तियारले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अनुसार ५० हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment