ट्रम्पद्वारा डिजेलको मूल्य घटाउने उद्देश्यले कार्यकारी आदेश जारी
वासिंटन डिसी। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अबेर राति करमुक्त ‘रातो डिजेल’ को बिक्री-वितरणमा लगाइएको प्रतिबन्ध हटाउँदै उच्च विन्दुमा पुगेको डिजेलको मूल्य घटाउने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
डिजेलको मूल्यवृद्धिबाट निकै प्रभावित बनेको नेब्रास्का राज्यमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले यो आदेशले “जोकोहीलाई पनि कुनै पनि प्रयोजनका लागि करमुक्त रातो डिजेल खरिद गर्न अनुमति दिने” बताए।
“यो आदेशले खाद्यान्नलगायत सबै उपभोग्य वस्तुको लागत घटाउनेछ,” आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भने। यद्यपि, सो आदेशको आधिकारिक दस्तावेज भने अझै सार्वजनिक गरिएको छैन।
रातो डिजेल र सामान्य डिजेल एउटै हुन्। तर यसमा कर नलाग्ने भएकाले ट्र्याक्टर वा औद्योगिक प्रयोजनजस्ता ‘अफ-रोड’ (सडकबाहिर) काममा मात्र प्रयोग होस् भनेर यसलाई छुट्याउन रातो रङ मिसाइएको हुन्छ।
इरान युद्ध, रुसी रिफाइनरीहरूमा भएका आक्रमण र चीनको निर्यात प्रतिबन्धका कारण उकासिएको डिजेलको मूल्यबाट पेलिएका ट्रक चालकहरूका लागि यो करमुक्त डिजेल प्रयोग गर्न पाउनु निकै राहतपूर्ण हुन सक्छ।
यो कदमले कृषि उपज बजारसम्म पुर्याउन तथा मल र अन्य आपूर्ति प्राप्त गर्न ट्रकमा निर्भर रहने किसानहरूलाई पनि सहयोग पुग्नेछ।
“धेरै वर्षदेखि कृषि वाहन, निर्माण उपकरण र अन्य अफ-रोड वाहनहरूले रातो डिजेल प्रयोग गर्दै आएका छन्। तपाईंलाई थाहा छ त्यो के हो? मलाई थाहा छैन त्यो के हो, तर जे भए पनि यो धेरै राम्रो मानिन्छ,” ट्रम्पले भने, “यो सामान्य डिजेलसरह नै हो।”
ह्वाइट हाउसद्वारा जारी तथ्यपत्र अनुसार यो आदेशले “अस्थायी रूपमा सडक वाहनका लागि पनि अफ-रोड ‘रातो’ डिजेल प्रयोग गर्न अनुमति दिनेछ र लागू हुने संघीय अन्तःशुल्क स्थगित गरी अमेरिकीहरूको लागत घटाउनेछ।”
तथ्यपत्रमा भनिएको छ कि आदेशले अर्थमन्त्री लाई रक्षा मन्त्रीसँगको परामर्शमा वर्षको बाँकी अवधिका लागि बिना कुनै ब्याज वा जरिवाना रातो डिजेलको अन-रोड प्रयोग बापतको भुक्तानी स्थगित गर्न र “स्थगित कर मिनाहा गर्ने उपायहरू खोज्न” निर्देशन दिएको छ।
ह्वाइट हाउसले थपेको छ कि आदेशले अधिकारीहरूलाई यस्तै नीतिहरू अपनाउन थप राज्यहरूलाई प्रोत्साहन गर्न र उच्च माग भएका क्षेत्रहरूमा किसानहरूको रातो डिजेलमा पहुँच सुनिश्चित गर्न निर्देशन दिएको छ।
एएएका अनुसार, इरान युद्धअघि प्रति ग्यालन ३.७६ डलर रहेको डिजेलको मूल्य ह्वात्तै बढेर सेप्टेम्बर २२ मा कीर्तिमानी ६.५३ डलर पुगेको थियो। सोमबार डिजेलको राष्ट्रिय औसत मूल्य प्रति ग्यालन ६.३२ डलर थियो।
सामान्यतया, सडकमा चल्ने वाहनका लागि प्रयोग हुने डिजेलमा संघीय सरकारले प्रति ग्यालन २४.४ सेन्ट कर लगाउँछ। यसका साथै राज्यहरूले पनि औसत ३५.५ सेन्ट प्रति ग्यालन कर असुल्ने गर्दछन्।
ट्रक चालकहरूलाई राहत दिन राज्यहरूले आफैँ पनि कदम चालिसकेका छन्। रिसर्च फर्म ‘क्लियरभ्यू इनर्जी पार्टनरन्स’का अनुसार सेप्टेम्बर २३ देखि अक्टोबर २ को बीचमा टेक्सास, ओक्लाहोमा र अलाबामासहित १० राज्यहरूले सडक वाहनका लागि रातो डिजेलको पहुँच बढाउन कदम चालिसकेका छन्। यी १० राज्यहरूले कूल डिजेल बिक्रीको करिब एक तिहाइ ओगट्छन्।
ह्वाइट हाउसले प्रशासन र राज्यका गभर्नरहरूले रातो डिजेलको अन-रोड प्रयोगमा लाग्ने निरीक्षण रोक्न र कर दायित्व मिनाहा गर्न “आफ्नो तजविजी अधिकार” प्रयोग गर्न सक्ने जनाएको छ।
अहिले २५० ग्यालनको इन्धन ट्यांकी भएको १८-पाङ्ग्रे ठूलो ट्रकमा पूरै डिजेल भर्दा करिब १,५७५ डलर खर्च हुन्छ। संघीय र राज्य कर नलाग्ने डिजेल प्रयोग गर्न पाएमा सो लागत करिब १५० डलरले घट्न सक्छ।
“यसले परिस्थितिमा ठूलो फेरबदल ल्याउने छैन,” इन्धनको मूल्य ट्र्याक गर्ने एप ‘ग्यासबडी’का पेट्रोलियम विश्लेषण प्रमुख प्याट्रिक डी हानले भने।
डी हानले अनिश्चित परिस्थिति र ट्रक चालकहरूले धेरै राज्यका सीमाहरू पार गर्नुपर्ने भएकाले रातो डिजेल सर्वसुलभ बनाउनु भन्नु जति सजिलो नभएको चेतावनी दिए।
“वासिङ्टन अप्ठ्यारो कुरालाई सजिलो सुनिने बनाउन माहिर छ। तपाईंले कुनै कुराको अनुमति दिँदैमा त्यो लागू भइहाल्छ भन्ने छैन,” डी हानले भने, “यसले रातारात समस्या समाधान गर्दैन, तर नेताहरूलाई आफ्नो सफलताको प्रचार गर्ने मौका भने दिन्छ।”
यो कार्यकारी आदेश कति समयसम्म लागू रहनेछ भन्ने स्पष्ट छैन।
“हामीलाई यसको धेरै समय आवश्यकता पर्दैन भन्ने आशा छ, किनकि इन्धनको मूल्य घट्दैछ र यो अझै तीव्र रूपमा घट्नेछ,” ट्रम्पले भने।
हालैको उच्चतम विन्दुबाट डिजेलको मूल्य करिब २० सेन्टले घटेको भए तापनि यस वर्ष डिजेलको मूल्य करिब ७७% ले बढेको छ, जुन सन् २००० मा एएएले तथ्यांक राख्न थालेयताकै सबैभन्दा ठूलो वार्षिक वृद्धि हो।
अवश्य पनि, इन्धनमा कर छुट दिँदैमा मुख्य समस्या समाधान हुँदैन: विश्वले अहिले रिफाइनरी (शोधनागार) को ठूलो अभाव झेलिरहेको छ।
मध्यपूर्व र रुसका रिफाइनरीहरू युद्धका कारण क्षतिग्रस्त भएका छन्। स्थिति थप बिगार्दै चीनले स्वदेशमा अभाव हुन नदिन इन्धन निर्यात रोकेको छ।
अमेरिकी रिफाइनरीहरूले यो अभाव पूर्ति गर्ने प्रयास गरिरहेका छन्, तर तिनीहरू पहिले नै आफ्नो पूर्ण क्षमतामा चलिरहेका छन्।
“यसले अल्पकालका लागि उपभोक्ताको पैसा त बचाउँछ, तर मुख्य समस्या समाधान गर्दैन,” ‘लिपौ ओयल एसोसिएट्स’का अध्यक्ष एन्डी लिपौले भने।
सप्ताहन्तमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी तेल रिफाइनरीहरूमा आफ्ना घातक आक्रमणहरू दोब्बर पार्ने प्रतिबद्धता व्यक्त गरे।
“युक्रेनका लागि यो अस्तित्वको लडाइँ हो। मस्कोलाई वार्ताको टेबलमा ल्याउने एउटै उपाय भनेको रुसी रिफाइनरी प्रणाली ध्वस्त पार्नु हो,” लिपौले भने, “मलाई लाग्छ यो ड्रोन आक्रमण जारी रहनेछ।”
No ads found for this position



डिसी नेपाल
Facebook Comment