दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम

पूर्णप्रसाद मिश्र
२० असोज २०८३ १९:०७
16
Shares

काठमाडौं। यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

त्यस दिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ। विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिए।

राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए। देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ।

नेपालमा राष्ट्रिय चाडका रूपमा दसैँ मनाउने गरिन्छ। दसैँमा वातावरण नै उल्लासमय बन्छ। विभिन्न पेसा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन्। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दसैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ।

असोज २५ गते बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

यस वर्ष असोज २५ गते आइतबारदेखि नवरात्रारम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान ११ः४७ बजेको साइत शुभ रहेको छ। यो दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगका शान्ति गर्नुपर्ने उनले बताए।

असोज २६ गते झण्डा फेर्ने साइत १०ः०७ बजे उत्तम रहेको समितिले जनाएको छ। झण्डा फेर्दा पश्चिम मोहडा गरेर फेर्नुपर्ने पनि उहाँले सुनाउनुभयो। असोज २९ गते बिहीबार पचलीभैरव यात्रा हुने भएको छ। असोज ३१ गते शनिबार फूलपाती पर्व परेको छ। यसै दिन बिहान ०७ः३७ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ। तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान १०ः३९ बजेको छ।

कात्तिक १ गते आइतबार महाअष्टमी पर्व परेको छ। यसै दिन राति भने कालरात्रि पर्व मनाइन्छ। कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कात्तिक ३ गते मङ्गलबार महानवमी पर्व परेको छ। कात्तिक ४ गते बुधबार विजयादशमी पर्व परेको छ। नेपालीको महान् पर्व बडादशैँको यो मुख्य दिन हो। यस दिन देवी विसर्जनको साइत बिहान ०८ः४९ बजे रहेको समितिले जनाएको छ। बिहान ०८ः४९ बजे देवी विसर्जन गरी साइतमा टीका लगाउनेका लागि बिहान १०ः२६ बजेको साइत उत्तम रहेको छ।

यस दिन बिहान १०ः५१ बजे तुलजा भवानी यात्राको साइत छ। तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ११ः५२ बजे रहेको समितिले जनाएको छ। खड्गयात्रा पनि यसै दिन परेको छ।

कात्तिक ८ गते आइतबार सबै बलिपूर्ति गर्नुपर्नेछ। कात्तिक ८ गते आइतबार कोजाग्रतव्रत र पूर्णिमा व्रत परेको छ। यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैँ पर्व समापन हुन्छ। कात्तिक ९ गते सोमबार कोजाग्रत पूर्णिमा परेको पनि समितिले जनाएको छ।

बडा दसैँका अवसरमा बजार पसलमा पनि भीड हुने गर्छ। राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा पनि यसलाई उल्लासमय वातावरणमा मनाइन्छ। दसैँ नजिकिएसँगै बजारमा भीड बढ्न थालेको छ। दशैँमा सहुलियत मूल्यमा खाद्यपदार्थ बिक्री वितरणका लागि सरकारले सुपथ मूल्य पसल पनि सञ्चालन गर्दै आएको छ।

दसैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन्। दसैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ। बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन्। यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ। शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *