कांग्रेस महाधिवेशनमा युवा पुस्तादेखि विज्ञसम्मको नेतृत्वमा दाबी

आकांक्षा धामी
२० असोज २०८३ २२:२०
4
Shares

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्तादेखि पेशागत विज्ञसम्मका उम्मेदवारहरूले पार्टीलाई समयसापेक्ष, सुदृढ र जनतामुखी बनाउने एजेन्डासहित विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका छन्।

बागमती प्रदेशबाट युवा महिला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी अभिप्सा पौडेलले आफू देशकै कान्छो उम्मेदवार रहेको दाबी गर्दै कांग्रेसप्रति घट्दै गएको जनविश्वास पुनः बढाउने र संगठन सुदृढ बनाउने आफ्नो प्रमुख उद्देश्य रहेको बताएकी छन्।

उननले पार्टीमा युवा र महिलालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै महिलालाई आफ्नो अधिकारबारे सचेत र सक्षम बनाउने तथा युवाका लागि देशमै रोजगारी र अवसर सिर्जना गर्ने आफ्नो एजेन्डा रहेको बताइन्।

पौडेलले आफू सानैदेखि नेतृत्व गर्न र अरूका लागि आवाज उठाउन रुचाउने भएकाले राजनीतिमा आएको बताइन्। उनले राजनीतिलाई ‘दिमागको खेल’ का रूपमा व्याख्या गर्दै युवा तथा महिलाको सहभागिता बढाउन आफू सक्रिय हुने बताइन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले खस–आर्य समूहबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्। दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेकाले अब नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिन आफू पदाधिकारीमा जान चाहेको उनले बताए।

कोइरालाले पार्टीलाई शुद्धीकरण गर्दै नेतृत्व परिवर्तन आवश्यक रहेको बताए। वर्तमान सभापति गगन थापाको नेतृत्वमा सशक्त टिम निर्माण हुनुपर्ने धारणा राख्दै उनले विगतमा कांग्रेसबाट भएका कमजोरी र गल्ती सच्याएर जनतासँग क्षमायाचना गर्दै आगामी दिनमा त्यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाए।

उनका अनुसार देश र कांग्रेस दुवै कठिन अवस्थामा रहेकाले जनताको आवाज, भावना र चाहना बुझ्ने कांग्रेस निर्माण गर्नु अहिलेको आवश्यकता हो। पार्टीलाई बलियो बनाएर देशको नेतृत्व गर्न आफूले पदाधिकारीमा उम्मेदवारी दिएको उनले बताए।

मधेसी खुलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार डा. गरिब दास ठाकुरले कांग्रेसलाई प्रजातन्त्रको लडाइँको अगुवा राजनीतिक दलका रूपमा थप सुदृढ बनाउन आफू उम्मेदवार बनेको बताए। उनले जनताको विकास, सुशासन र समृद्धिलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

ठाकुरले आफू गाउँ तहदेखि प्रतिस्पर्धा गर्दै निर्वाचित भएर आएको उल्लेख गर्दै यसपटक पनि आन्तरिक प्रतिस्पर्धामा विजयी हुने विश्वास व्यक्त गरे।

त्यस्तै, इन्जिनियर डा. रामकृष्ण पौडेलले पेशागत विज्ञतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनले कांग्रेसका एजेन्डालाई आम नागरिकसम्म पुर्याउन डिजिटल माध्यमको प्रभावकारी प्रयोग आवश्यक रहेको बताए।

कांग्रेसको डिजिटल व्यवस्थापन कमजोर रहेको आम नागरिकले समेत महसुस गरिरहेको भन्दै पौडेलले आफूले विज्ञका रूपमा पार्टी र जनताबीच ‘डिजिटल ब्रिजिङ’ को भूमिका निर्वाह गर्ने बताए।

पार्टीका नीति तथा एजेन्डालाई डिजिटल माध्यमबाट जनतासम्म पुर्याउन सके आगामी स्थानीय तह तथा अन्य निर्वाचनमा कांग्रेसले राम्रो पुनरागमन गर्न सक्ने उनको धारणा छ।

युवा नेता योगेश गौचन थकालीले केन्द्रीय कार्यसमितिमा आफ्नो न्यूनतम दाबी रहने बताउँदै सहमहामन्त्री पदमा समेत आफ्नो दाबी हुन सक्ने संकेत गरेका छन्। उनले युवाको सहभागिता मात्र नभई पार्टीमा हस्तक्षेपकारी भूमिका पनि आवश्यक रहेको बताए।

थकालीले २१औँ शताब्दीको बदलिँदो आर्थिक, सामाजिक र राजनीतिक परिवेशअनुसार कांग्रेसलाई समयसापेक्ष र सान्दर्भिक बनाउन युवाको भूमिका महत्वपूर्ण हुने बताए। नीति निर्माणदेखि परिणाममुखी कामसम्म युवालाई राजनीतिमा सहभागी गराउँदै कांग्रेसप्रति गुमेको विश्वास पुनस्र्थापित गर्नु आफ्नो प्रमुख एजेन्डा रहेको उनले बताए।

उनले १५औँ महाधिवेशनपछि कांग्रेसको राजनीतिक दृष्टिकोण, विचार, कार्यशैली र सांगठनिक संरचनामा परिवर्तन देखिनुपर्ने बताए। राष्ट्रियता, समाजवाद र लोकतन्त्रलाई पार्टीका मूल सिद्धान्तका रूपमा कायम राख्दै तिनलाई २१औँ शताब्दीको नेपालअनुकूल पुनःपरिभाषित गर्नुपर्ने उनको भनाइ छ।

महाधिवेशनले कांग्रेसलाई नयाँ राजनीतिक दृष्टिकोण र कार्यशैलीसहित जनतामाझ थप विश्वासयोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा उम्मेदवारहरूले जोड दिएका छन्।

यसैगरी आदिवासी जनजाति खुलामा नेपाली कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार खडकबहादुर रानाले मुलुकको समृद्धि र लोकतान्त्रिक व्यवस्था सुदृढ गर्न कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन्।

उनले कांग्रेस बलियो भए मात्रै मुलुकमा लोकतन्त्र, सुशासन र मानवअधिकार कायम गर्न सकिने धारणा राखे। विगतका नेतृत्वबाट भएका कमीकमजोरीलाई सुधार्दै पार्टीमा नयाँ पुस्ता, विभिन्न देशको अनुभव भएका युवा तथा विषयगत विशेषज्ञलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

रानाले आफूले दुई दशक पत्रकारिता क्षेत्रमा काम गर्दै सम्बन्धित विषयमा अनुभव र विशेषज्ञता हासिल गरेको बताए। जापान, चीन, अफ्रिकालगायत विभिन्न देशको भ्रमण गरी त्यहाँका विकासका मोडलहरूको अध्ययन गरेको उल्लेख गर्दै उनले मानवअधिकार र सुशासनका क्षेत्रमा समेत काम गरेको बताए।

आफूले तालिमका क्षेत्रमा समेत काम गर्दै लाखौँ मानिसलाई प्रशिक्षण दिएको उल्लेख गर्दै रानाले आफ्नो अनुभव, ज्ञान र विशेषज्ञतालाई अब कांग्रेसको संगठन निर्माण र सुदृढीकरणमा समर्पित गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताए।

उनले नयाँ पुस्ताको अनुभव र विशेषज्ञतालाई पार्टीमा उपयोग गर्न सके कांग्रेसलाई थप प्रभावकारी र सशक्त बनाउन सकिने धारणा व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *