डा. प्रदीप मिश्रद्वारा पेसागत विज्ञतर्फ कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

डिसी नेपाल
२० असोज २०८३ २२:३२
4
Shares

काठमाडौं । नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।

लामो समयदेखि स्वास्थ्य क्षेत्रमा पुर्‍याउँदै आएको सेवा, उच्च पेसागत अनुभव र राजनीतिक प्रतिबद्धताका साथ पार्टीको नीति निर्माण तहमा प्रभावकारी योगदान दिने सङ्कल्पसहित उनले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गर्दै डा. मिश्रले भने, ‘राजनीति नै सबै नीतिको मूल नीति हो। स्वास्थ्य र सामाजिक नीतिको पुनर्संरचना राजनीतिक तहबाटै सम्भव छ। त्यसैले विषय विज्ञका रूपमा पार्टीमा काम गर्ने, स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि सुझाव दिने र सरकारलाई ती योजना कार्यान्वयन गराउन पार्टीबाटै दबाब दिने उद्देश्यका साथ म मैदानमा छु।’

पेसागत वृत्तमा कुशल सङ्गठकका रूपमा स्थापित डा. मिश्रले नेपाल चिकित्सक संघ, सुदूरपश्चिम शाखाको सचिव र अध्यक्षका साथै प्रजातान्त्रिक चिकित्सक संघ सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी सम्हालिसकेका छन्। उनले सुदूरपश्चिम प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री गोविन्द बोहराको विज्ञ सल्लाहकार भएर पनि काम गरिसकेका छन्।

हरेक विपन्न र पहुँचविहीन नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने संवैधानिक अधिकारको ग्यारेन्टीका लागि राष्ट्रिय स्वास्थ्य नीतिमा व्यापक सुधार ल्याउनु आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताएका छन्।

यसका साथै बुद्धिजीवी, चिकित्सक, इन्जिनियर लगायत पेसागत समूहका आवाजलाई पार्टीको मूलधारमा जोड्दै कांग्रेसलाई संस्थागत र आधुनिक बनाउने संकल्पका साथ उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूसँग अमूल्य मतको अपिल गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *