माछापुच्छ्रे बैंकद्वारा सुनसरीमा २० मेगावाटको सौर्य ऊर्जा आयोजनामा वित्तीय व्यवस्थापन
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेशको सुनसरी जिल्लामा स्थापना हुन लागेको २० मेगावाट क्षमताको ग्रिड-आबद्ध सौर्य ऊर्जा आयोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेको छ। पशुपति इनर्जी प्राइभेट लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनामा माछापुच्छ्रे बैंकले एकल लगानी गर्न लागेको हो।
बैंकले आयोजनाको कूल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी गर्नेछ। डेढ (१.५) वर्षको निर्माण अवधि रहेको यो ग्रिड-आबद्ध सौर्य ऊर्जा आयोजनाले नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जाको उत्पादन क्षमता विस्तार गर्न र ऊर्जा क्षेत्रमा दिगो पूर्वाधार विकासलाई थप टेवा पुर्याउने विश्वास लिइएको छ।
माछापुच्छ्रे बैंकले वातावरणमैत्री तथा दिगो विकासमा योगदान पुर्याउने ऊर्जा पूर्वाधार आयोजनाहरूमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ। यस आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुनुलाई बैंकले नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने आफ्नो प्रतिबद्धताको निरन्तरता भएको जनाएको छ।
आगामी दिनमा पनि नेपालको ऊर्जा आवश्यकता परिपूर्ति, स्वच्छ ऊर्जा प्रवर्द्धन तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने आयोजनाहरूलाई प्राथमिकताका साथ वित्तीय सहयोग उपलब्ध गराउँदै जाने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment