मिसाइल आक्रमणमा अदन विमानस्थल क्षतिग्रस्त, हुती विद्रोहीको आक्रमण तीब्र

डिसी नेपाल
२१ असोज २०८३ १३:२०
68
Shares

काठमाडौं । यमनमा हुती विद्रोहीहरू र सेनाबिचको युद्ध लगातार चर्कँदै गएको छ। बुधबार बिहान अदन अन्तर्राष्ट्रिय विमानस्थल लाई लक्ष्य गरी दुईवटा मिसाइल प्रहार गरिएको छ। अदनको सुरक्षा व्यवस्थासँग सम्बद्ध अधिकारीहरूका अनुसार, यस आक्रमणमा परी कुनै मानवीय क्षति भने भएको छैन। आक्रमणलगत्तै स्थानीय मिडियाहरूले भीषण विष्फोटका भिडियोहरू सार्वजनिक गरेका थिए।

यो आक्रमण यस्तो समयमा भएको छ, जब यमनको अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त सरकारले हुतीहरूबिरुद्ध ‘डन अफ यमन’ नामक ठुलो सैन्य अभियान चलाइरहेको छ। यमनी सरकारी बलहरू बाब अल-मन्दब जलडमरूमध्य वरपर अगाडि बढिरहेका छन् र रातो सागरको तटीय क्षेत्रमा आफ्नो पकड मजबुत बनाउने प्रयास गरिरहेका छन्। साउदी समर्थित गठबन्धनले यस अभियानमा वायुसेनामार्फत हवाइ सहयोग प्रदान गरिरहेको छ।

अदनमा भएको आक्रमणको एक दिनअघि, अर्थात् ६ अक्टोबरमा हुतीहरूले साउदी अरबको जिजान र नजरान विमानस्थललाई पनि निशाना बनाएका थिए। साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार यी आक्रमणहरूमा तीन जना मानिस सामान्य घाइते भएका थिए भने विमानस्थलको भौतिक संरचनामा क्षति पुगेको थियो। यसबाहेक हुतीहरूले साउदीका अन्य केही सैन्य तथा रणनीतिक अड्डाहरूमा पनि आक्रमण गरेको दाबी गरेका थिए, तर ती दाबीहरूको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

यी आक्रमणहरूको जवाफमा साउदी नेतृत्वको गठबन्धनले यमनस्थित हुतीका अखडाहरूमा कडा कारबाही गरिरहेको छ। गठबन्धनका अनुसार उसका १०० वटा फाइटर जेटहरूले यमनी सरकारी सेनालाई निरन्तर एयर सपोर्ट दिइरहेका छन्।

पछिल्ला केही दिनहरूमा यमनी सरकारी सेनाले बाब अल-मन्दब वरपरका रणनीतिक क्षेत्रहरूमा आफ्नो पकड जमाएको दाबी गरेको छ। धुबाब क्षेत्रको एक एयरस्ट्रिप (विमानस्थलको धावनमार्ग) र मोचा सहरमा नियन्त्रण कायम गरिएको खबरहरू बाहिर आएका छन्। बाब अल-मन्दब क्षेत्र विश्व व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण छ, किनकि यसले रातो सागरलाई अदनको खाडी सँग जोड्दछ र यो संसारकै प्रमुख समुद्री व्यापारिक मार्गहरूमध्ये एक हो।

हुतीहरूको बढ्दो आक्रमणका बिच पाकिस्तान, साउदी अरब र टर्कीले गत ७ अगस्टमा हस्ताक्षर गरिएको ‘मक्का डिफेन्स प्याक्ट’ लाई सक्रिय पारेका छन्। सोमबार रियादमा बसेको आपत्कालीन बैठकमा तीनै देशले सामूहिक प्रतिरोध मजबुत बनाउने र तय गरिएका सैन्य बल तथा क्षमताहरूलाई साउदी अरबमा तीव्र गतिमा तैनाथ गर्ने सहमति जनाएका छन्। यद्यपि, टर्की र पाकिस्तानले साउदीलाई सहयोग पठाइसकेका छन् वा छैनन् भन्ने कुरा अझै पूर्ण रूपमा स्पष्ट भइसकेको छैन।

यसैबिच, पाकिस्तान र टर्कीका सैनिकहरू हुतीहरूविरुद्ध सोझै यमनको भूमिमा ओर्लिनेछन् वा साउदीको सीमाभित्रै सीमित रहनेछन् भन्ने विषय अझै प्रस्ट छैन। पाकिस्तानले आफ्ना सैनिकहरूको सङ्ख्या वा सञ्चालन सम्बन्धी विवरणहरू सार्वजनिक गरेको छैन। टर्कीको तर्फबाट पनि कुनै नयाँ स्थायी सैन्य तैनाथीको आधिकारिक पुष्टि भइसकेको छैन।

यस्तो अवस्थामा अब प्रश्न हुतीहरूले आफ्नो आगामी आक्रमण कहाँ गर्छन् भन्नेमा मात्र सीमित छैन, बल्कि साउदीको पक्षमा उभिएका पाकिस्तान र टर्कीले यो चर्किँदो युद्धमा कस्तो र कतिसम्मको भूमिका निर्वाह गर्छन् भन्नेतर्फ पनि सोझिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *