भारतको उत्तराखण्डमा ५.१ म्याग्निच्युडको भूकम्प: सुदूरपश्चिममा पनि कडा धक्का महसुस
काठमाडौं। भारतको उत्तराखण्ड राज्यलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १०:३८ बजे ५.१ म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको हो।
उक्त भूकम्पको केन्द्रबिन्दु नेपालको सीमावर्ती जिल्ला दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड आसपास रहेको थियो।
भूकम्पको कम्पन सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलाली लगायतका जिल्लाहरूमा स्पष्ट महसुस गरिएको थियो। रातको समयमा एक्कासि कडा धक्का महसुस भएपछि धेरैजसो सर्वसाधारण त्रसित बन्दै घरबाहिर निस्किएका थिए।
भूकम्पको धक्का नेपालतर्फ कडा महसुस भए तापनि हालसम्म कुनै पनि मानिस घाइते भएको वा भौतिक क्षति भएको विवरण आएको छैन।
सीमावर्ती क्षेत्रमा स्थिति सामान्य रहेको छ भने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सबैलाई सजग र सतर्क रहन आग्रह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment