नागरिकका गुनासा सुन्न रास्वपाको ‘हामी आउँदैछौं’ अभियान, धादिङबाट सुरु
धादिङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी घरदैलोभन्दा फरक ढङ्गले नागरिकका दैनन्दिन समस्या, गुनासा र अपेक्षा बुझ्न ‘हामी आउँदैछौं’ अभियान सुरु गरेको छ।
धादिङबेसीबाट सुरु गरिएको उक्त अभियानका क्रममा रास्वपाका प्रवक्ता एवम् प्रतिनिधिसभा सदस्य जगदीश खरेलले राजनीतिक दल र आम नागरिकबीच निरन्तर संवाद हुनुपर्नेमा जोड दिए।
नेता खरेलले चुनावका बेला मात्रै भोट माग्न मतदाताको ढोका ढक्ढक्याउने परिपाटीको अन्त्य गर्दै नागरिकका सास्ती र आवश्यकता बुझ्न अभियान थालिएको स्पष्ट पारे।
राज्यको केन्द्रीय संरचना र जनताको दैनिक जीवनबीचको दूरी घटाउन प्रत्यक्ष सम्पर्क आवश्यक रहेको भन्दै उनले घरदैलोमै पुगेर संकलन गरिएका सुझाव तथा गुनासालाई पार्टीको आगामी नीति निर्माण, संगठन सुदृढीकरण र जनप्रतिनिधिको भूमिका प्रभावकारी बनाउन प्रयोग गरिने जानकारी दिए।
साथै, सांसदको जिम्मेवारी आफ्नो निर्वाचन क्षेत्रमा मात्रै सीमित नभई देशभरका नागरिकका सवाल संसद्मा उठाउनु रहेको धारणा राख्नुभयो।
धादिङ आउने क्रममा बाढीबाट क्षति पुगेका सडक तथा पुलको निरीक्षण गर्दै खरेलले पूर्वाधार पुनर्निर्माणमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराए। साथै उनले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरे।
अभियानमा प्रवक्ता खरेलका साथै प्रतिनिधिसभा सदस्यहरू बसुमाया तामाङ र डा. राम लामा एवम् केन्द्रीय सदस्य सुशीला कार्की सहभागी छन्। रास्वपा धादिङका सभापति राजन अर्यालका अनुसार अभियान टोलीले जिल्लाका विभिन्न स्थानीय तह र टोल-टोलमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछ र संकलित सुझावहरू पार्टीको केन्द्रीय नेतृत्वसमक्ष पेस गरिनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment