नापी कार्यालयका सर्वेक्षकविरुद्ध घुस लिएको आरोपपत्र दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार साहविरुद्ध एक लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
अंशबण्डाअनुसार जग्गाको नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने काममा आलटाल गर्दै सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस मागेको सूचनाका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले साहलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा साहले सेवाग्राहीसँग नक्सा संशोधनको काम गरिदिने भन्दै एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
आयोगले साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख रुपैयाँ बिगो कायम गरी सोही रकम बराबर जरिवाना तथा ऐनबमोजिम कैद सजायको मागदाबी गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment