नेपालमा हवाई भाडा: बालेनको ‘स्टाटस’लाई गिज्याउने धनगढी-काठमाडौं भाडादर
काठमाडौं। गत फागुन २ि को प्रतिनिधि सभा निर्वाचनका दौरानमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं हालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले “सुदूर अब दूर नाइ” भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। चुनावी आमसभामा सुदूरपश्चिम र जनकपुरको खुलेर प्रशंसा गरेका बालेनले मतदाता आकर्षित गर्न जहाँ पुगे, त्यस स्थानको तारिफ गर्न छुटाएनन्।
तर, दशैंको मुखमा हवाई भाडादर साँच्चै अत्यासलाग्दो बनेको छ। वास्तवमा यतिबेला हवाई भाडाको दृष्टिले सुदूरपश्चिम अझै टाढै रहेको देखाएको छ।
काठमाडौं-धनगढीको हवाई भाडा महँगो हुँदा भारतका विभिन्न सहरहरूसम्म पुग्न तुलनात्मक रूपमा सस्तोपर्ने अवस्था सिर्जना भएको छ। यातायात सहज र सुलभ हुनुपर्ने सुदूरपश्चिममा हवाई भाडा नै अकासिएपछि सर्वसाधारण नराम्ररी मारमा परेका छन्।
दशैं नजिकिएसँगै राजधानी काठमाडौंबाट घर फर्किने यात्रुहरूको चाप तीव्र रूपमा बढ्न थालेको छ। तर, घर जाने तयारीमा रहेका यात्रुका लागि यसपटकको दशैं यात्रा सहज हुनुको साटो झन् महँगो र कष्टकर बन्दै गएको छ।
सडकमार्गको लामो यात्रा र सडकको अनिश्चितताका कारण यात्रुहरू हवाई यात्रातर्फ आकर्षित भए तापनि हवाई टिकटको चर्को मूल्यले उनीहरूलाई थप समस्यामा पारेको छ।
विशेष गरी काठमाडौं-धनगढी हवाई यात्राको भाडा अत्यधिक महँगो भएपछि सुदूरपश्चिम घर जाने यात्रुहरू अन्योलमा परेका छन्। बसको यात्रा लामो हुने र सडकको अवस्था अनिश्चित रहेको भन्दै कतिपय यात्रुहरूले महँगो भए पनि हवाई टिकट खोजिरहेका छन्। तर, टिकटको मूल्य सुनेपछि कतिपयले हवाई यात्रा नै रद्द गर्नुपर्ने बाध्यता आएको बताएका छन्।
बाजुरा जाने तयारीमा रहेका हिमाल विष्ट काठमाडौं-बाजुरा बस भाडा करिब ५ हजार ६ सय रुपैयाँ रहेको बताउँछन्। तर, बाटो बिग्रिएमा तोकिएको समयमा घर पुग्न नसकिने चिन्ता उनमा छ।
उनले भने, “बाजुराका लागि काठमाडौंबाट बस भाडा ५ हजार ६ सय रहेछ। तर बाटो बिग्रियो भने दुई दिनमै पुगिन्छ भन्ने छैन। ड्राइभरले पनि दुई दिनमा पुग्नैपर्छ भन्ने ग्यारेन्टी गर्न सक्दैन। मलाई भने दुई दिनमै घर पुग्नुपर्ने छ।”
बाजुरा सदरमुकाम मार्तडीसम्म बस पुगे पनि त्यहाँबाट आफ्नो घरसम्म थप दुई दिन हिँड्नुपर्ने भएकाले आफूलाई झनै समस्या भएको विष्ट बताउँछन्। त्यसैले उनले धनगढीसम्मको हवाई टिकट हेरेका थिए।
तर, टिकटको मूल्य करिब २२ हजार ९ सय रुपैयाँ पुगेपछि उनी झनै अन्योलमा परेका छन्। “प्लेनको टिकट धनगढीसम्म २२ हजार ९ सय रहेछ, अति महँगो भयो। जाने कसरी भन्ने दोधारमा छु। घरसम्मै २२ हजारमा पुग्ने भए त ठीक थियो, त्यो भाडा धनगढीसम्मको मात्रै हो,” उनले भने।
यस्तै, अर्का यात्रु प्रदीप कार्कीका लागि भने यसपटकको यात्रा रोजाइभन्दा पनि बाध्यता बनेको छ। घरमा बुवा बिरामी रहेकाले जतिसक्दो छिटो घर पुग्नुपर्ने अवस्था भए पनि हवाई टिकटको महँगो मूल्यले उनलाई सकसमा पारेको छ।
“बाध्यताले भए पनि जानै पर्नेछ। घरमा बुवा बिरामी हुनुहुन्छ, मलाई छिटो पुग्नु थियो। प्लेन टिकट साह्रै महँगो रहेछ,” उनले भने। उनले आफूजस्तै बाध्यतामा रहेका यात्रुका लागि दशैँको समयमा यातायात सहज र पहुँचयोग्य बनाउनुपर्ने बताए।
अर्की यात्रु गरिमा शाहले पनि घरबाट छिटो आउन दबाब आएपछि हवाई टिकट काटने तयारी गरेकी थिइन्। तर, टिकटको मूल्य साह्रै महँगो भएपछि उनले आफ्नो यात्राको योजना नै रद्द गर्नुपरेको सुनाइन्।
“घरबाट छिटो आउनु भन्नुभएको छ। प्लेनको टिकट काटेर छिटो आउँछु भनेकी थिएँ। तर भाडा महँगो भएपछि प्लेनको टिकट नै रद्द गर्नुपर्यो,” उनले भनिन्।
दशैंमा देशका विभिन्न ठाउँबाट काठमाडौं आएका नागरिक घर फर्किने क्रम बढ्दै गर्दा यातायातको भाडा र यात्राको सहजता अहिले प्रमुख चासो र सरोकारको विषय बनेको छ। विशेष गरी सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लाहरूमा जाने यात्रुका लागि सडकको खराब अवस्था, लामो दूरी र सीमित हवाई सेवा मुख्य चुनौती बन्ने गरेको छ।
यहीबिच, चुनावी अभियानका क्रममा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा “सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई” भन्दै लेखेका थिए। उनको उक्त अभिव्यक्ति सुदूरपश्चिम यात्राका क्रममा निकै चर्चामा आएको थियो।
तर अहिले दशैँमा घर फर्किन खोजिरहेका सुदूरपश्चिमका नागरिक भने महँगो यातायात खर्च र लामो यात्राको बाध्यतामा पिसिएका छन्। त्यसैले यात्रुहरूले अहिले प्रश्न गर्न थालेका छन्- “सुदूर अब दूर नाई” भन्ने भाव व्यवहारमा पनि कहिले देखिने हो?
यता बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले भने हवाई भाडा महँगो नभएको दाबी गर्छन्। उनले यात्रुहरूलाई कुनै पनि ठाउँबाट नठगिन आग्रह गर्दै बुद्ध एयरको आधिकारिक वेबसाइटमा गएर भाडादर हेरेर मात्र टिकट काट्न अनुरोध गरेका छन्।
यात्रुहरूले दशैंको समयमा हवाई तथा सडक यातायातको भाडा सहज र पारदर्शी बनाउन, यात्रुको चापअनुसार पर्याप्त यातायातको व्यवस्था गर्न र सडकमार्गको अवस्था सुधार गर्न सरकारसँग जोडदार माग गरेका छन्। घर फर्किने नागरिकलाई आर्थिक भार नपर्ने गरी यातायात व्यवस्थापन गर्न सके मात्रै दशैँको यात्रा वास्तविक रूपमा सहज र खुसीको बन्ने उनीहरूको अपेक्षा छ।
सन्तोषी रावल/ नेपाल न्यूज बैँक
No ads found for this position



डिसी नेपाल
Facebook Comment