दसैँको अग्रिम टिकट बुकिङसँगै सार्वजनिक सवारीको नयाँ भाडादर तोकियो
काठमाडौं । सरकारले छोटो, मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ। दसैँलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला भएसँगै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो।
विभागका अनुसार विद्युतीय सवारीसाधन (ईभी) को हकमा भने अघिल्लो पटक तोकिएको भाडादर नै यथावत् राखिएको छ। परिमार्जित नयाँ दरअनुसार तराई तथा पहाडी बाटोमा सञ्चालन हुने यात्रुवाहक र मालवाहक सवारीको प्रतिकिलोमिटर भाडादर परिमार्जन गरिएको छ।
तराईको २५० किलोमिटरभन्दा बढी लामो दूरीका पक्की तथा ग्राभेल बाटोमा प्रतिव्यक्ति प्रतिकिलोमिटर २ रुपैयाँ ९३ पैसा कायम गरिएको छ। त्यस्तै २५ देखि २५० किलोमिटरसम्मको दूरीका लागि प्रतिकिलोमिटर ३ रुपैयाँ तोकिएको छ। काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ खण्डका लागि भने प्रतिकिलोमिटर ३ रुपैयाँ २४ पैसा भाडादर निर्धारण गरिएको छ।
यसैगरी डिलक्स तथा सुपर डिलक्स सुविधा प्रमाणित भएका यात्रुवाहक सवारीसाधनले तोकिएको साधारण भाडादरमा थप रकम लिन पाउने व्यवस्था छ। डिलक्स सवारीले साधारण भाडादरमा २० प्रतिशतसम्म थप गर्न पाउनेछन् भने सुपर डिलक्स सवारीले डिलक्सको भाडादरमा थप २० प्रतिशत जोडेर लिन सक्नेछन्।
मालवाहक सवारीसाधनको हकमा तराई र पहाडी क्षेत्रमा प्रतिटन प्रतिकिलोमिटरका आधारमा नयाँ दर निर्धारण गरिएको छ। यसअघि तराईमा प्रतिटन प्रतिकिलोमिटर ७ रुपैयाँ ७२ पैसा र पहाडी क्षेत्रमा १४ रुपैयाँ ६५ पैसा रहेकोमा नयाँ निर्णयअनुसार पहाडी क्षेत्रको दर बढाएर १४ रुपैयाँ ७७ पैसा कायम गरिएको छ। तराई क्षेत्रको साविककै दर कायम राखिएको छ। विभागले उक्त दरलाई १० टनका आधारमा हिसाब गरी विभिन्न रुटका लागि छुट्टाछुट्टै भाडादर तोकेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment