मौसम सुधारिएपछि धौलागिरि हिमालको आरोहण पुनः सुरु: ३६ पर्वतारोही आधार शिविर पुगे

डिसी नेपाल
२४ असोज २०८३ १५:५०
4
Shares

म्याग्दी। प्रतिकुल मौसमका कारण रोकिएको विश्वको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको चालु शरदयामको आरोहण मौसममा सुधार आएसँगै पुनः सुरु भएको छ।

असोजको पहिलो साता प्रतिकूल मौसमका कारण आधार शिविरबाट फर्किएका पर्वतारोहीहरूको टोली मौसम सुध्रिएपछि पुनः आधार शिविर पुगेर चुचुरोतर्फ अघि बढेका हुन्। म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीको भूगोलमा अवस्थित यो हिमाल आरोहणका लागि अहिले शेर्पाहरूको टोली डोरी टाँग्ने (रोप फिक्सिङ) कार्यमा जुटिरहेको छ।

सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंका अनुसार रोप फिक्सिङ टोली हाल क्याम्प दुईभन्दा करिब ४०० मिटर माथि पुगिसकेको छ। असोज ८ गते प्रतिकूल मौसमका कारण उक्त कम्पनीका नेपाली र विदेशी गरी १४ जना पर्वतारोहीलाई हेलिकप्टरबाट उद्धार गरी पोखरा लगिएको उनले बताए। मौसममा सुधार आएपछि अक्टोबर १ मा पोखराबाट हिँडेको टोली आधार शिविर हुँदै चुचुरोतर्फ लागेको जानकारी पनि उनले दिए।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र भारी हिमपातका कारण आधार शिविर हिउँले पुरिएपछि पर्वतारोहीहरूले आरोहण स्थगित गरेर फर्कनुपरेको थियो।

मौसम अनुकुल भएपछि आधार शिविरमा खटिएको टोलीले हिउँ पन्छाउने, शिविरलाई व्यवस्थित बनाउने र आरोहणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेर पुनः आरोहण थालेको टोली प्रमुख लाक्पा शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिए।

हाल हिउँ जमेर कडा र स्थिर बनेकाले हिँड्न सजिलो भएको तथा भारी हिमपातपछिको अस्थिर हिउँ हटेकाले हिमपहिरोको जोखिमसमेत तुलनात्मक रूपमा कम रहेको उनले बताए।

पर्यटन विभागका शाखा अधिकृत सुवास रेग्मीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार यस शरदयाममा धौलागिरि हिमाल आरोहणका लागि चार वटा समूहका २६ पुरुष र १० महिला गरी कुल ३६ जना पर्वतारोहीले अनुमति लिएका छन्।

धौलागिरि आरोहणको अनुमतिबापत राज्यलाई रु ८२ लाख ४२ हजार ५० रोयल्टी दस्तुर सङ्कलन भएको विभागले जनाएको छ। पर्वतारोहीहरूसँग समन्वय गर्दै आएका म्याग्दी दानाका व्यवसायी इन्द्रसिंह शेरचनका अनुसार अन्य एजेन्सीका पर्वतारोही टोलीहरू पनि धौलागिरिको आधार शिविर पुगिसकेका छन्।

यसअघि गत वसन्तयाममा धौलागिरि आरोहणका लागि दुई समूहका आठ महिलासहित १७ जनाले अनुमति लिएका थिए। छिनछिनमै बदलिइरहने मौसम धौलागिरि आरोहणको मुख्य चुनौती मानिन्छ, जसले गर्दा अन्य हिमालको तुलनामा धौलागिरि आरोहण निकै कठिन, जोखिमपूर्ण र साहसिक मानिन्छ।

सन् १९६० मे १३ मा म्याक्स आइसेलिनको नेतृत्वमा रहेको स्वीस-अस्ट्रियाली संयुक्त आरोहण दलले धौलागिरिको शिखरमा पहिलोपटक सफल पाइला टेकेको थियो। आरोहण सुरु भएको ६६ वर्षको अवधिमा अहिलेसम्म ७३३ जना पर्वतारोहीले धौलागिरिको चुचुरो चुमिसकेका छन्।

धौलागिरि क्षेत्रमा आरोहणका साथै साहसिक पर्यटकहरू ‘राउन्ड धवलागिरि’ पदयात्राका लागि पनि पुग्ने गर्छन्। यो नौ दिने पदयात्रा मार्ग बगर, सल्लाघारी, इटाली आधार शिविर, जापानी आधार शिविर, धवलागिरि आधार शिविर, फ्रान्सेली पास (हिटिनी भ्याली) र याकखर्क हुँदै मुस्ताङको मार्फा पुगेर टुङ्गिने गर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *