बीपीको प्रसंग कोट्याउँदै शशांकले भने- ‘सत्यको पक्षमा उभिएपछि परिणाम भोग्न तयार हुनुपर्छ’
काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालाले राजनीतिमा लाग्ने व्यक्ति आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट अनि अडिग हुनुपर्ने बताए।
काठमाडौँ जिल्लाको प्रदेश तथा क्षेत्रीय अधिवेशनमा बोल्दै उनले राजनीतिमा सबैलाई मिलाएर लैजाने क्रममा आफ्नै विचार धमिलिन सक्ने खतरा रहने उल्लेख गरे। त्यसैले राजनीति गर्ने मानिसले स्पष्ट नीति र दृढ दृष्टिकोण राख्नुपर्नेमा उनले जोड दिए।
उनले राजनीतिमा पूर्ण सन्तुष्टिको अवस्था नरहने भन्दै आफूले रोजेको बाटो र सिद्धान्तमाथि विश्वास गर्न सक्ने व्यक्तिले मात्रै राजनीति गर्न सक्ने धारणा व्यक्त गरे।
“आफूलाई लागेको विश्वासमा अटल र आफ्नो स्पष्ट नीति हुनुपर्छ। राजनीति भनेको यस्तो नीति हो, जसमा आफ्नो मस्तिष्कमा पूर्ण रूपमा प्रस्ट हुनुपर्छ कि म यो गर्छु,” उनले भने।
सत्यको पक्षमा उभिनु मात्रै पर्याप्त नभई त्यसक्रममा आउने जुनसुकै परिणाम भोग्न पनि तयार हुनुपर्ने उनले बताए। आफ्ना पिता बीपी कोइराला र काका मातृकाप्रसाद कोइरालासँग जोडिएको भारतको ‘क्विट इन्डिया मुभमेन्ट’ (भारत छोडो आन्दोलन) को उदाहरण दिँदै उनले सत्य बोल्दा र निष्ठाको राजनीति गर्दा मूल्य चुकाउने साहस चाहिने जनाए। महात्मा गान्धीको आह्वानमा बीपी कोइरालाले विद्यालय बहिष्कार गर्दा सजाय र सास्ती भोग्नुपरेको प्रसङ्ग पनि उनले स्मरण गराए।
यस्तै, डा. कोइरालाले कांग्रेसको आगामी १५औँ महाधिवेशन पार्टीलाई एकताबद्ध र बलियो बनाउने महत्त्वपूर्ण अवसर भएको बताए। आगामी निर्वाचनमा पार्टी एकजुट भएर होमिएमा कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने दाबी उनले गरे।
नेपाली कांग्रेसको लामो इतिहास, परिपक्व विचार र स्पष्ट नीतिकै कारण यो पार्टी मुलुकको बलियो शक्ति बनेको उनले बताए। कांग्रेसकै नेतृत्वमा देशमा सडक, शिक्षा, स्वास्थ्य, बैंकिङ तथा निजी क्षेत्रको विकासमा ठूलो परिवर्तन सम्भव भएको दाबी उनले गरे।
कांग्रेसले सत्ताको दुरुपयोग गर्न नहुने भन्दै उनले राजनीतिमा आउने हरेक व्यक्तिले जनताको हितलाई केन्द्रमा राख्नुपर्ने बताए। “कांग्रेसले सत्ताको दुरुपयोग गर्दैन, गर्नु हुँदैन र गर्दा पनि गर्दैन,” उनले भने।
राजनीति व्यक्तिगत स्वार्थका लागि नभई सत्य, नीति र सर्वसाधारणको हितका लागि हुनुपर्नेमा जोड दिँदै उनले पार्टीका नेता तथा कार्यकर्तालाई सिद्धान्त र विचारप्रति प्रतिबद्ध भएर अघि बढ्न आग्रह गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment