आइसीसी विश्वकप लिग २ : रोहित पौडेलको शतक, क्यानडालाई २३६ रनको लक्ष्य
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमनको अल अमारात क्रिकेट मैदानमा जारी खेलमा रोहित पौडेलको शानदार शतकीय पारिको मद्दतले नेपालले क्यानडालाई जितका लागि २३६ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रनको योगफल तयार पारेको हो। सुरुवातमा खराब लयबाट गुज्रिएको नेपालका लागि रोहित पौडेलले टोलीको इनिङ्स उकासेका थिए। उनले १२७ बलमा ८ चौका र १ छक्काको मद्दतमा १०१ रनको योगदान दिए।
नेपालको सुरुआत भने निराशाजनक रहेको थियो। ओपनर आसिफ शेख ४ रन र ईशान पाण्डे शून्य रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो। अर्का ओपनर अर्जुन कुमालले २३ रन बनाए। चौथो विकेटका लागि रोहित पौडेल र बसिर अहमद (३० रन) बीचको साझेदारीले नेपाली इनिङ्सलाई सम्हालेको थियो।
इनिङ्सको अन्त्यतिर गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४ चौका र ३ छक्का प्रहार गरी उत्कृष्ट ४८ रन जोडेपछि नेपाल बलियो स्थितिमा पुगेको हो।
ब्याकिङतर्फ क्यानडाका बलर अखिल कुमारले १० ओभरमा ६८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै सुखजिन्दर सिंहले ३ विकेट तथा जाहिद शिर्जादले २ विकेट हात पारे। नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याउँदै क्यानडाले केही बेरमा जवाफी ब्याटिङ सुरु गर्दैछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment