सामाजिक सञ्जालमा भ्रम छर्ने काम भइरहेको छ, कान छाम्नु कागको पछि नदौडिनू : ओली

डिसी नेपाल
२५ असोज २०८३ १६:५१
4
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा फैलिने प्रायोजित भ्रम र हल्लाका पछाडि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

पछिल्लो समय समाजमा तथ्य नबुझी प्रतिक्रिया जनाउने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै उनले ‘कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछि नदौडिन’ विशेष सुझाव दिएका हुन्।

आइतबार पार्टीको ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली जनताको चेतनास्तर उच्च भए पनि सामाजिक सञ्जालको दुरुपयोगका कारण भ्रम सिर्जना भइरहेको बताए। नेपाली जनतालाई कसैले झुक्याउन र अल्मल्याउन नसक्ने ठाने पनि अहिले केही अंशमा जनता अलमलिएको उनको भनाइ थियो।

अध्यक्ष ओलीले विचार, त्याग र योगदानविना नै हिंसात्मक गतिविधिबाट सस्तो लोकप्रियता कमाउने प्रवृत्ति बढेकोमा तीव्र असन्तुष्टि जनाए। राज्यको सम्पत्ति, निजी व्यावसायिक प्रतिष्ठान र सञ्चारमाध्यमका उपकरण जलाएर मान्छे लोकप्रिय बन्ने अनौठो प्रवृत्ति देखिएको उनले उल्लेख गरे।

सामाजिक सञ्जालको अल्गोरिदम र त्यसको गलत प्रयोगले यस्तो विकृति जन्माएको दाबी गर्दै उनले मुलुकमा सचेतना अभियानको आवश्यकता झन् बढेको औंल्याए।

यसैबीच, बाढीपहिरो प्रभावितको उद्धार तथा राहत कार्यमा सरकारले कुनै पनि लापरबाही गर्न नहुने चेतावनी दिँदै उनले विगतका गल्ती नदोहोर्‍याउन आग्रह गर्नुभयो। यसअघि भोटेकोशी र त्रिशूली बाढीका बेला सरकारी हेलिकप्टरको दुरुपयोग भएको र समयमै राहत नपुगेको उल्लेख गर्दै उनले यसपटक सरकारलाई प्रभावकारी ढङ्गले उद्धार र पुनःस्थापनाको काम अघि बढाउन माग गरे।

विपद्पछिको पुनर्निर्माणमा सरकारको प्रमुख दायित्व भए पनि पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता र जनवर्गीय संगठनहरूलाई समेत तत्काल राहत कार्यमा सक्रियताका साथ जुट्न उनले निर्देशन दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *