नयाँ बसपार्कमा दशैंका यात्रुको उच्च चाप, ९ दिनमा दुई लाखभन्दा बढी बाहिरिए

डिसी नेपाल
२६ असोज २०८३ ९:४८
4
Shares

काठमाडौं। बडादशैं नजिकिएसँगै राजधानी काठमाडौँको नयाँ बसपार्कबाट आफ्नो घरगाउँ फर्किने यात्रुहरूको चाप अत्यधिक बढेको छ। दशैंको पावन अवसरमा परिवार तथा आफन्तसँग भेटघाट गरी मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्किरहेका छन्।

जसका कारण नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लाहरूका लागि छुट्ने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधनहरूमा यात्रुको ठूलो चहलपहल देखिएको छ।

नयाँ बसपार्कको सञ्चालक संस्था लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्मको अवधिमा नयाँ बसपार्कबाट मात्रै कूल दुई लाख सात हजार २५१ जना यात्रुहरू बाहिरिएका छन्।

उनले दिएको तथ्यांक अनुसार असोज १७ गते १८ हजार ७२९, असोज १८ गते १९ हजार ५३०, असोज १९ गते २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार १२३, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० जना यात्रुले नयाँ बसपार्कबाट यात्रा गरेका छन्।

दशैंमा घर फर्किने यात्रुहरूको संख्या तीव्र रूपमा बढेपछि यातायात व्यवसायीहरूलाई यात्रु व्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले सडकको खराब अवस्थाका कारण यातायात व्यवस्थापनमा जटिलता थपिएको बताए।

गत असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला गरिएको पहिलो दिनमै धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएपछि सवारीसाधनको आवतजावत अवरुद्ध भएको र धेरै सवारीसाधन काठमाडौँमै रोकिनुपरेकाले यात्रु व्यवस्थापनमा समस्या उत्पन्न भएको उनले जानकारी दिए।

यसैबीच महासङ्घले सम्पूर्ण यात्रुहरूलाई अनिवार्य रूपमा आधिकारिक टिकट काटेर मात्रै यात्रा गर्न, सरकारले तोकेको मापदण्ड अनुसारको भाडा मात्र तिर्न र आफू चढ्ने सवारीसाधनको प्राविधिक अवस्था जाँच गरेर मात्र यात्रा तय गर्न आग्रह गरेको छ।

दशैं पर्वले परिवार, आफन्त र समुदायबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ तथा मधुर बनाउने भएकाले रोजगारी, अध्ययन र विभिन्न व्यवसायका क्रममा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष जस्तै यस वर्ष पनि निरन्तर बढिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *