देश विकासमा नागरिकको पनि भूमिका हुन्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं। लेखक तथा विश्लेषक महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ नामक दुई पुस्तक सोमबार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच विमोचन गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेत्री विद्यादेवी भण्डारीले लोकतन्त्रलाई अधिकारका साथै कर्तव्य र जिम्मेवारीसँग जोडेर बुझ्नुपर्नेमा जोड दिइन्।
उनले लोकतन्त्र अधिकारको मात्र व्यवस्था नभई अधिकार र कर्तव्यबीचको सन्तुलन भएको उल्लेख गर्दै नागरिकले सेवा-सुविधा माग्ने अधिकारसँगै सार्वजनिक सम्पत्तिको संरक्षण, कानुनको पालना र अरूको अधिकारको सम्मान गर्नुपर्ने बताइन्।
देश विकासका लागि सरकार र राजनीतिक दलको प्रयास मात्रै पर्याप्त नहुने भन्दै उनले नागरिकको श्रम, सिर्जनशीलता, अनुशासन र इमानदारी पनि विकासका मुख्य आधार भएको उल्लेख गरिन्। साथै, पठन संस्कृतिले सचेत नागरिक र ज्ञानमा आधारित समाज निर्माण गर्न सहयोग पुर्याउने धारणा व्यक्त गरिन्।
सम्बोधनका क्रममा भण्डारीले नेपाल प्रज्ञा-प्रतिष्ठान (प्रज्ञा भवन) को व्यवस्थापन र सरसफाइप्रति असन्तुष्टि जनाइन्। प्रज्ञा भवनको ऐतिहासिक महत्त्व रहेको स्मरण गराउँदै उनले महँगो भाडा लिने गरिए पनि सरसफाइ र व्यवस्थापनमा उचित ध्यान नदिएकातर्फ सम्बन्धित पदाधिकारीहरूको ध्यानाकर्षण गराइन्।
३५ वर्षमा केही भएन भन्नु गलत : नेता राजेन्द्र पाण्डे
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले पछिल्ला ३५ वर्षमा नेपालमा भएका विकास र उपलब्धिलाई बेवास्ता गर्न नहुने बताए। केही मानिसहरू ‘३५ वर्षमा केही भएन’ भन्ने भाष्य बनाएर चुनाव लड्ने र सत्तामा पुग्ने गरेको उल्लेख गर्दै उनले पञ्चायत ढल्दाको समय र अहिलेको विकासको तुलनात्मक उदाहरण प्रस्तुत गरे।
पञ्चायतकालको अन्त्यमा करिब ५ हजार ३ सय किलोमिटर मात्र कालोपत्र सडक र ४० हजार टेलिफोन लाइन रहेकोमा अहिले २८ हजार किलोमिटर कालोपत्र सडक र करोडौँ नागरिकको हातमा मोबाइल पुगिसकेको तथ्य पाण्डेले राखे। प्राविधिक शिक्षालय, साक्षरता दर, स्वास्थ्य र औसत आयुमा उल्लेख्य सुधार आएको भए पनि देशमै पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा युवाहरू विदेशिनुपरेको यथार्थ उनले स्वीकार गरे।
नेता पाण्डेले ‘सबै पुराना नेता भ्रष्टाचारी हुन्’ भन्ने भाष्य सिर्जना गर्नु उचित नभएको बताउँदै सबैलाई एउटै तराजुमा राखेर हेर्न नहुने तर्क गरे। उनले लेखक शिवाकोटीलाई पुस्तकमा वर्तमान अवस्थाका तथ्य-तथ्यांकहरू थप समावेश गरी परिमार्जन गर्न र यसलाई विद्यार्थीहरूका लागि उपयोगी सन्दर्भ सामग्रीका रूपमा ढाल्न सुझाव दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment