लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दै छ। ओमानको अल अमारात क्रिकेट ग्राउन्डमा हुने यो खेल नेपाली समयअनुसार बिहानको पौने बाह्र बजेतिर सुरु हुनेछ।
यसअघि आइतबार भएको शृङ्खलाको पहिलो खेलमा कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट शतकको मद्दतमा नेपालले क्यानडामाथि जित हासिल गरेको थियो भने शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई पराजित गरेको थियो।
ओमानको जितसँगै अंकतालिकाको शीर्ष चारभित्र पर्ने नेपालको सम्भावना सकिएकाले नेपाली टोलीको मुख्य ध्यान अब एकदिवसीय मान्यता जोगाउनु तथा अङ्कतालिकामा आफ्नो स्थिति सुदृढ गर्नुमा केन्द्रित रहेको छ।
हाल लिग-२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अङ्कसहित छैटौँ स्थानमा छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौं स्थानमा रहेको छ। त्यस्तै घरेलु टोली ओमान २९ खेलबाट ३३ अंकसहित चौथो स्थानमा रहेको छ।
शीर्ष चारभित्र पर्न नसकेपछि नेपालले अब सन् २०२७ को एकदिवसीय विश्वकप छनोट यात्राका लागि प्लेअफ चरण खेल्नुपर्ने निश्चित भएको छ। उक्त प्लेअफ प्रतियोगितामा नेपालसँगै नामिबिया, क्यानडा र युएई प्रतिस्पर्धामा रहनेछन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले लिग-२ चक्रपछि ओडीआई मान्यता कायम राख्ने विषयमा स्पष्ट प्रावधान सार्वजनिक गरिनसकेको भए तापनि अंकतालिकाको कम्तीमा छैटौँ स्थानभित्र रहनुलाई सुरक्षित मानिएकाले बाँकी खेलहरूमा जित निकाल्नु नेपालका लागि निकै महत्त्वपूर्ण रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment