हर्मुजमा डुबाइदिनका लागि अमेरिकी जहाजलाई पर्खिरहेका छौं : इरान

डिसी नेपाल
२८ असोज २०८३ ११:१८
24
Shares

काठमाडौं । इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ नौसेना र अमेरिकी सेनाको मध्य कमान्ड सेन्टकमबिच विश्वकै सबैभन्दा रणनीतिक समुद्री मार्ग हर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर तनाव चरम बिन्दुमा पुगेको छ।

आइआरजीसी नौसेनाका कमान्डरले हर्मुज जलडमरूमध्यमा अमेरिकी नौसैनिक फ्लीटको प्रतीक्षा गरिरहेको र हमला गरी त्यसलाई डुबाउन तयार रहेको चेतावनी दिएका छन्। आइआरजीसीले यस जलमार्गमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी पनि गरेको छ।

इरानी कमान्डरको चेतावनीलगत्तै अमेरिकी सेन्टकमले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत कडा र व्यङ्ग्यात्मक प्रतिक्रिया दिएको छ । सेन्टकमले इरानी कमान्डरको दाबीलाई खारेज गर्दै इरानसँग अब प्रभावकारी नौसेना नै बाँकी नरहेको दाबी गरेको छ।

सेन्टकमले लेखेको छ, “अमेरिकी सेना र हाम्रा क्षेत्रीय सहयोगीहरूको हर्मुज जलडमरूमध्यमा स्पष्ट नियन्त्रण रहेको छ। हिजो मात्र अमेरिकी सेनाले खाडीका सहयोगी राष्ट्रहरूको १ करोड ९० लाख ब्यारेल कच्चा तेललाई सुरक्षित रूपमा हर्मुज जलडमरूमध्यबाट पार गराएको छ।”

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका विभिन्न सैन्य तथा रणनीतिक संरचनाहरूमा सामूहिक आक्रमण गरेपछि दुवै पक्षबिचको सैन्य द्वन्द्व निरन्तर चर्कँदै गएको छ।

यस सम्पूर्ण द्वन्द्वमा हर्मुज जलडमरूमध्य सबैभन्दा मुख्य केन्द्रबिन्दु बनेको छ, जहाँबाट विश्वभर खपत हुने कुल इन्धन (तेल तथा एलपीजी ग्यास) को ठुलो हिस्सा ओसारपसार हुने गर्दछ। इरानले पटक-पटक यस जलमार्गलाई ठप्प पार्ने धम्की दिँदै आएको छ भने अमेरिका र उसका सहयोगी राष्ट्रहरूले यसलाई खुला राख्न सैन्य गस्ती बढाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *