नेतान्याहुद्वारा इजिप्टका गुप्तचर प्रमुखको इजरायल भ्रमण पुष्टि, पूर्वचेतावनीको दाबी खारेज

डिसी नेपाल
२८ असोज २०८३ १२:०७
84
Shares

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सन् २०२३ अक्टोबर ७ मा हमासको भयानक आक्रमण भएकै दिन इजिप्टका तत्कालीन गुप्तचर प्रमुख अब्बास कामेल इजरायल आएको कुराको औपचारिक पुष्टि गरेका छन्।

यद्यपि, नेतान्याहुले कामेलसँग आफ्नो कुनै भेटघाट नभएको र उनले इजरायलमा कोसँग भेटे भन्नेबारे आफूलाई कुनै जानकारी नरहेको दाबी गरेका छन्।

इजरायली टेलिभिजन ‘च्यानल १४’ लाई दिएको एक विशेष अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री नेतान्याहुले इजिप्टले हमास आक्रमणबारे इजरायललाई पूर्वचेतावनी दिएको भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका दाबीहरूलाई पूर्णतया ‘झुटो’ भन्दै अस्वीकार गरेका छन्।

नेतान्याहुका अनुसार इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेल ७ अक्टोबर २०२३ का दिन इजरायलको भूभागमा जम्मा ५९ मिनेट बिताएर फर्किएका थिए।

आफूमाथि राजनीतिक आरोप लगाउने नियतले यस्ता भ्रम फैलाइएको भन्दै नेतान्याहुले भने, “कोही ममाथि आरोप लगाउने प्रयास गरिरहेको छ, यो सब झुट हो। कुनै देशका गुप्तचर प्रमुख कहिलेदेखि अर्को देशको राष्ट्रप्रमुख वा सरकारप्रमुखलाई सिधै आएर भेट्न थाले? मेरो कार्यकालमा त्यस्तो कहिल्यै भएको छैन। अरू नेताहरूसँग त्यस्तो हुन्थ्यो होला, तर ममाथि यो लागू हुँदैन।”

वैदेशिक मिडियाहरूमा लामो समयदेखि इजिप्टको गुप्तचर एजेन्सीले हमासको ठुलो आक्रमणअघि नै इजरायली नेतृत्वलाई सचेत गराएको खबर प्रकाशित हुँदै आएका थिए। नेतान्याहुले यसअघि जस्तै पुनः त्यस्ता खबरहरू निराधार रहेको स्पष्ट पारेका छन्।

इजरायलमा आगामी अक्टोबर २७ मा हुन गइरहेको आम निर्वाचनको पूर्वसन्ध्यामा ७ अक्टोबरको सुरक्षा असफलता र जिम्मेवारीको मुद्दा प्रमुख बनेको छ। नेतान्याहुको यो पछिल्लो भनाइले इजरायली राजनीति र गुप्तचर निकायहरूको भूमिकाबारे चुनावी बहसमा थप तरङ्ग पैदा गरिदिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *