एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा

डिसी नेपाल
२९ असोज २०८३ १०:०७
8
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलनमा नेपालमा करिब १० करोड अमेरिकी डलर बराबरको लगानी सम्भावना र सहकार्यका विषयमा छलफल हुने भएको छ। सन् २०२७ अप्रिल २४ र २५ मा क्यानडाको टोरन्टोस्थित होटल रेडिसनमा ‘कनेक्टिङ फर प्रस्पेरिटी’ नारासहित सम्मेलन आयोजना हुन लागेको हो।

एनआरएनए अमेरिकाजका क्षेत्रीय संयोजक भुवन खरेलका अनुसार सम्मेलनमा विदेशमा रहेका नेपालीको पुँजी, ज्ञान, सीप, प्रविधि र अनुभवलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा परिचालन गर्ने विषयलाई प्राथमिकता दिइनेछ।

लगानीसँगै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, वंशजको नागरिकतासम्बन्धी सरोकार, कृषि, जलविद्युत्, दोस्रो पुस्ताको सहभागिता र ज्ञान हस्तान्तरण सम्मेलनका प्रमुख एजेन्डा रहनेछन्।

सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई निमन्त्रणा गरिएको खरेलले बताएका छन्। सरकारका प्रतिनिधि र प्रवासी नेपालीबीच प्रत्यक्ष संवाद गराई लगानीका सम्भावना, नागरिकतासम्बन्धी समस्या र नीतिगत सुधारका विषयमा छलफल गर्ने तयारी छ।

नेपालमा लगानी गर्न इच्छुक गैरआवासीय नेपालीले भोगिरहेका नीतिगत अस्पष्टता, प्रशासनिक झन्झट र लगानी सुरक्षाका विषयलाई समेत सम्मेलनमा उठाइनेछ। विदेशमा आर्जित पुँजीलाई उत्पादनमूलक उद्योग, व्यवसाय र रोजगारी सिर्जनामा परिचालन गर्न सामूहिक लगानी तथा सम्भावित परियोजनाबारे छलफल गरिने खरेलले बताएका छन्।

कृषि क्षेत्रमा गैरआवासीय नेपालीको लगानी विस्तारलाई पनि सम्मेलनले प्राथमिकता दिनेछ । खरेलका अनुसार गैरआवासीय नेपालीको पहलमा गुल्मीको आँपचौरमा करिब एक हजार रोपनी क्षेत्रफलमा कफी खेती सुरु गरिएको छ। उक्त परियोजनालाई पाँच हजार रोपनीमा विस्तार गर्ने लक्ष्य राखिएको छ।

कफी खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने, उत्पादन र गुणस्तर बढाउने, प्रशोधन तथा ब्रान्डिङ गर्ने र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने सम्भावनाबारे सम्मेलनमा छलफल हुने अपेक्षा गरिएको छ।

कृषि क्षेत्रमा प्रवासी नेपालीको पुँजी, प्रविधि र बजारसम्बन्धी अनुभव परिचालन गरी उत्पादन वृद्धि तथा ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने विषय पनि प्राथमिकतामा रहनेछ।

त्यसैगरी, जलविद्युत् क्षेत्रमा गैरआवासीय नेपालीको लगानी विस्तार तथा आयोजनाको विकासका विषयमा छलफल गरिनेछ। ऊर्जा उत्पादन, वित्तीय व्यवस्थापन, प्रसारण पूर्वाधार र विद्युत् बजारसँग सम्बन्धित चुनौतीलाई सम्बोधन गर्दै थप लगानीका अवसर पहिचान गर्ने सम्मेलनको उद्देश्य छ।

गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र वंशजको नागरिकतासम्बन्धी सरोकारलाई नीतिगत तहसम्म पु¥याउने विषय पनि सम्मेलनको एजेन्डामा समेटिएको छ।

विदेशमा रहेका नेपालीले नागरिकतासम्बन्धी अधिकार व्यवहारमा उपयोग गर्दा भोग्ने प्रशासनिक तथा कानुनी समस्याबारे सम्बन्धित सरकारी निकायसँग छलफल गर्ने तयारी छ।

विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली मूलका युवालाई मातृभूमिसँग जोड्ने र एनआरएनएका गतिविधिमा उनीहरूको सहभागिता बढाउने विषयलाई पनि महत्त्व दिइनेछ।

विदेशमा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका नेपाली विज्ञ, प्राविधिक, अनुसन्धानकर्ता तथा उद्यमीको ज्ञान र सीपलाई नेपालको शिक्षा, प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलताको विकासमा उपयोग गर्ने विषयमा समेत छलफल हुनेछ।

सम्मेलन व्यवस्थापन खर्च कटाएर बाँकी रहने रकम एनआरएनए क्यानडाको नेपाली घर परियोजनामा लगानी गर्ने प्रस्तावसमेत अघि सारिएको छ । प्रस्ताव कार्यान्वयन भए क्यानडामा नेपाली समुदायको साझा भेटघाट, सांस्कृतिक गतिविधि र सामुदायिक पहिचान प्रवद्र्धन गर्ने पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

क्षेत्रीय संयोजक खरेलले सम्मेलन सफल बनाउन क्यानडावासी नेपाली, अमेरिकाज क्षेत्रका एनआरएनए अभियन्ता तथा विश्वभर छरिएर रहेका नेपाली समुदायलाई सक्रिय सहभागिता र सहयोगका लागि आग्रह गरेका छन्।

उनका अनुसार सम्मेलनलाई औपचारिक भेटघाटमा सीमित नराखी प्रवासी नेपालीको सामूहिक पुँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकासमा जोड्ने ठोस आधार निर्माण गर्ने मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *