विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत

डिसी नेपाल
२९ असोज २०८३ १७:०४
16
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म नेपालको कुल विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति दुई महिनामा ४.३ प्रतिशतले बढेको हो।

अमेरिकी डलरमा गणना गर्दा विदेशी मुद्रा सञ्चिति असार मसान्तको २५ अर्ब ३१ करोड डलरबाट ४.६ प्रतिशतले बढेर भदौ मसान्तमा २६ अर्ब ४८ करोड डलर पुगेको छ।

कुल विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तको ३४ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँबाट ४ प्रतिशतले बढेर ३६ खर्ब १० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति ७.२ प्रतिशतले बढेर ४ खर्ब ५५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। भदौ मसान्तसम्म कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.३ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा थियो।

अमेरिकी डलरमा हेर्दा शोधनान्तर बचत अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १० करोड डलर रहेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा १ अर्ब २३ करोड डलर पुगेको छ।

यसैगरी, समीक्षा अवधिमा चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा चालु खाता बचत अघिल्लो वर्षको ९३ करोड ६७ लाख डलरबाट बढेर १ अर्ब ११ करोड डलर पुगेको छ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम २ अर्ब २० करोड रुपैयाँ थियो। प्रत्यक्ष वैदेशिक लगानी पनि बढेको छ। समीक्षा अवधिमा इक्विटीका रूपमा २ अर्ब ९८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी १ अर्ब २७ करोड रुपैयाँ थियो।

चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चितिले २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको छ।

भदौ मसान्तमा विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ६१.६ प्रतिशत, कुल आयातको १४८.५ प्रतिशत र विस्तृत मुद्राप्रदायको ४४.९ प्रतिशत बराबर रहेको छ। असार मसान्तमा यी अनुपात क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत थिए।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढेको छ। सन् २०२५ भदौ मसान्तमा प्रतिब्यारेल ६९.६९ अमेरिकी डलर रहेको ब्रेन्ट कच्चा तेलको मूल्य सन् २०२६ भदौ मसान्तमा ८३.४ प्रतिशतले बढेर १२७.८४ अमेरिकी डलर पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पनि बढेको छ। सन् २०२५ भदौ मसान्तमा प्रतिऔँस ३ हजार ६९५.४० अमेरिकी डलर रहेको सुनको मूल्य सन् २०२६ भदौ मसान्तमा १५.४ प्रतिशतले बढेर ४ हजार २६३.५५ अमेरिकी डलर पुगेको छ।

२०८३ असार मसान्तको तुलनामा भदौ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अवमूल्यन भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.७ प्रतिशतले अवमूल्यन भएको थियो।

भदौ मसान्तमा अमेरिकी डलरको एकाइ खरिद विनिमय दर १५३ रुपैयाँ २४ पैसा पुगेको छ। असार मसान्तमा यस्तो दर १५३ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *