मोरङमा गाँजा कारोबारी प*क्राउ गर्न प्रहरीले चलायो दुई राउन्ड गो*ली, एक जना घाइते

डिसी नेपाल
३० असोज २०८३ ९:२८
8
Shares

मोरङ । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउन्ड गोली चलाएको छ। बिहीबार राति रतुवामाई नगरपालिका–५, गोबिन्दपुरमा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्। घटनामा दुई भारतीय नागरिक पक्राउ परेका छन्।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार असोज २९ गते दिउँसो करिब १ बजे रतुवामाई नगरपालिका–५ स्थित बक्राहा खोलाको बगरमा बेवारिसे अवस्थामा २६४.५९ किलो गाँजा बरामद भएको थियो।

उक्त स्थानमा पुनः गाँजाको कारोबार हुन सक्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिजुवाबाट बिहीबार राति गस्ती टोली खटिएको थियो। राति करिब ९ः२५ बजे केही व्यक्तिहरू गाँजा बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीसँग जम्काभेट भएको थियो।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि सुरुमा एक राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि नरोकेपछि प्रहरीले अर्को राउन्ड गोली चलाएको थियो। उक्त गोली लागेर भारतको अररिया जिल्ला जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन्। उनको देब्रे खुट्टाको पिँडुलामा गोली लागेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट चौधरीसँगै भारतको अररिया जिल्ला महगामा ग्राम पञ्चायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले करिब १०० किलो गाँजा बरामद गरेको छ।

गोली लागेर घाइते भएका चौधरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *