दशैंमा उपत्यकाबाट करिब १० लाख यात्रु गाउँ फर्किने अनुमान: दयनीय सडकले यात्रा जोखिमपूर्ण
काठमाडौं। दशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड दिनप्रतिदिन बढ्दो छ। घटस्थापना सकिएसँगै दसैँलगायतका मुख्य चाडपर्व मनाउनका लागि उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ।
वर्षमा एकपटक आउने महान् पर्वमा इष्टमित्र र आफन्तसँगको पारिवारिक मिलन हुने भएकाले सर्वसाधारण ट्राफिक जाम र असुरक्षित यात्राको जोखिम मोलेरै भए पनि आ-आफ्नो गाउँघरतर्फ लागिरहेका छन्। कमजोर सडक संरचना र अत्यधिक ट्राफिक जामकै बीच सर्वसाधारण गन्तव्यतर्फ अघि बढिरहेका छन्।
कैलालीको गोदावरी नगरपालिकाका अमर महताले आफ्नो परिवारसहित दसैँ मनाउन घर जान लागेको बताए। “हवाई टिकट महँगिएर छोइसक्नुछैन। हामी त बस चढेर नै दसैँ मनाउनका लागि घर जान लागेका हौँ,” उनले भने, “अहिले सडकको अवस्था हेर्दा जामको डर छ, तर वर्षदिनको चाड मनाउन त जानैपर्यो !”
महता जस्तै काठमाडौँ उपत्यका बाहिर घर भएका देशका ७४ वटै जिल्लाका सर्वसाधारण दसैँ मनाउन घर फर्किने क्रममा छन्। पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ‘२०८३ दसैँ पर्वका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापनसम्बन्धी प्रतिवेदन’ अनुसार यसपालिको दसैँमा सार्वजनिक यातायातमार्फत उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्या न्यूनतम ६ लाख ५० हजारदेखि अधिकतम ९ लाख ७५ हजारसम्म हुने प्रक्षेपण गरिएको जानकारी दिए।
“दसैँमा यात्रुहरूलाई सुरक्षित रूपमा गाउँघर पुर्याउनका लागि न्यूनतम ४३ हजारदेखि ६५ हजारसम्म सार्वजनिक सवारीसाधनका ‘ट्रिप’हरू आवश्यक पर्नेछन्,” सभापति गजुरेलले भने, “उक्त प्रतिवेदनले दसैँका बेला यात्रा गर्ने यात्रुहरूको अल्पकालीन र दीर्घकालीन समस्या समाधानका उपायहरू पनि ठम्याएको छ।” कुल यात्रुमध्ये ठूला बसले ४८ प्रतिशतभन्दा बढी हिस्सा ओसार्ने अनुमान छ भने माइक्रोबसले ४३ प्रतिशत र मिनीबसले ९ प्रतिशत यात्रु बोक्नेछन्।
पूर्वाधार विकास समितिका सभापति गजुरेलको नेतृत्वमा गठित १७ सदस्यीय अध्ययन टोलीले उक्त प्रतिवेदन तयार पारेको हो। प्रतिवेदन अनुसार यसपालिको दसैँमा सबैभन्दा बढी यात्राको चाप असोज ३१ (फूलपाती) देखि कात्तिक २ (अष्टमी) सम्मको तीन दिनमा हुनेछ। असोज ३१ गते फूलपातीको दिन न्यूनतम ७५ हजार ५२२ देखि अधिकतम १ लाख १३ हजार २८३ यात्रुले उपत्यका छाड्ने र त्यसका लागि न्यूनतम ४ हजार ९११ देखि अधिकतम ७ हजार ३७६ सवारीसाधन चाहिने अनुमान छ।
यस्तै, कात्तिक १ गते न्यूनतम ६७ हजार २४३ देखि अधिकतम १ लाख ८६४ यात्रुका लागि ४ हजार ४६३ देखि ६ हजार ६९५ सवारीसाधन आवश्यक पर्नेछ। कात्तिक २ गते न्यूनतम ५० हजार ३११ देखि अधिकतम ७५ हजार ४६६ यात्रु बाहिरिने र उनीहरूका लागि २ हजार ८१८ देखि ३ हजार २२७ वटा सवारीसाधन आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। कात्तिक ३ गते भने न्यूनतम ३६ हजार ४४१ देखि अधिकतम ५४ हजार ६६१ यात्रु बाहिरिनेछन्, जसका लागि १ हजार ८२६ देखि २ हजार ७३९ वटा सवारीसाधन आवश्यक पर्नेछ।
कमजोर सडक संरचनाले यात्रामा चुनौती
गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढी र त्यसपछि त्रिशूली नदीको बहावले पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक भासिने समस्या निम्त्याएपछि सर्वसाधारण ढुक्क भएर यात्रा गर्न सकिरहेका छैनन्। बिपी राजमार्गमा पनि पटक-पटक खसिरहने पहिरोले यात्रामा निकै बाधा पुर्याएको छ।
अर्कातर्फ, गत असोज १५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका वडा नं २ र ३ जोड्ने सोतीस्थित पक्की फलामे पुलमा क्षति पुर्याएकाले असोज २५ गतेदेखि उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले देशका राष्ट्रिय राजमार्गहरू दयनीय अवस्थामा रहेकाले यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन ठूलो चुनौती रहेको बताए। “हामीले दसैँलगायतका चाडपर्वमा घर जाने सर्वसाधारणलाई सुरक्षित रूपमा पुर्याउन आवश्यक समन्वय र सहकार्य गरिरहेका छौँ,” उनले भने, “तर राजमार्गहरूको अवस्था एकदमै खराब भएकाले यात्रुलाई सुरक्षित पुर्याउने विषय निकै चुनौतीपूर्ण छ।”
पूर्वाधार विकास समितिका सभापति गजुरेलले भोटेकोशीको बाढी र अन्य जिल्लामा परेको अविरल वर्षाका कारण राजमार्ग तथा पुलहरूमा पुगेको क्षतिलाई ध्यानमा राख्दै यातायात व्यवस्थापन सहज बनाउन सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराइएको बताए। “अहिले राज्यको ठूलो जनशक्ति र स्रोत अवरुद्ध सडक खुलाउन र मर्मत गर्नमै लगाउनुपर्ने आवश्यकता छ,” उनले भने, “यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सहज यात्राको व्यवस्था मिलाउनु अत्यावश्यक छ।”
यसैबीच, सडक विभागले सम्भावित विपद् र दुर्घटनालाई लक्षित गर्दै ५३ वटा ठूला डोजर, स्काभेटर, लोडर लगायतका उपकरणहरू तयारी अवस्थामा राखिएको जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि दसैँ अवधिभर उपत्यकाभित्रको ट्राफिक व्यवस्थापनका लागि १ हजार ३०० भन्दा बढी ट्राफिक जनशक्ति परिचालन गरिने जनाएको छ। पर्वको मुख्य समयमा अधिकृत तथा जवानहरूलाई दैनिक १५ देखि १६ घण्टासम्म ड्युटीमा खटाइने कार्यतालिका बनाइएको छ।
प्रतिवेदनले दसैँका बेला सञ्चालन हुने सवारीसाधन र चालकको कडा जाँच गर्न सुझाव दिएको छ। सो क्रममा ट्राफिक प्रहरीले सवारीसाधनको प्राविधिक अवस्था (फिटनेस), कागजात तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जाँच गर्ने, मापसे तथा लापसे परीक्षण गर्ने, क्षमताभन्दा बढी यात्रु बोके/नबोकेको हेर्ने र लामो दूरीका सवारीमा अनिवार्य दुई जना चालक राखिए/नराखिएको अनुगमन गर्नेसमेत जनाइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment