कोप–३१ मा नेपालले परराष्ट्रमन्त्री खनालको नेतृत्वमा सहभागिता जनाउने
काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म हुँदैछ।
टर्किएको अन्टाल्या सहरमा हुने यस सम्मेलनमा नेपालले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा सहभागिता जनाउने भएको छ। कोप–३१ मा प्रधानमन्त्री वालेन्द्र शाह नजाने भएपछि परराष्ट्रमन्त्री खनालको नेतृत्वमा सहभागिता जनाउने गरी तयारी थालिएको हो।
मन्त्री खनालले पछिल्लो राजनीतिक संवाद र विकसित परिस्थितिका आधारमा आफ्नो नेतृत्वमा कोप–३१ मा प्रतिनिधिमण्डल जाने सम्भावना रहेको बताए। उनले भने, “यस विषयमा आवश्यक तयारीपछि औपचारिक घोषणा गरिने छ।” उनीसँगै सम्मेलनमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी पनि सहभागी हुनेछन्।
मन्त्री खनालले जलवायु परिवर्तनसम्बन्धी विषयमा नेपालको मुख्य नेतृत्व वन वातावरण मन्त्रालयले गर्दै आएको उल्लेख गर्दै कोप–३१ का लागि पनि उक्त मन्त्रालयमा विभिन्न तयारीका काम भइरहेको जानकारी गराए।
उनले जलवायु परिवर्तनका कारण उत्पन्न विपद्पछिको पुनःस्थापना तथा राहतका लागि हानिनोक्सानी सम्बन्धी कोषबाट नेपालले तत्काल सहायता पाउने व्यवस्थाका लागि अन्तरराष्ट्रियस्तरमा सक्रिय वार्ता भइरहेको बताए।
उनले आगामी कोप–३१ सम्ममा नेपालले प्रस्तुत गरेको दाबीअनुसार उक्त कोषबाट सहायता उपलब्ध गराउने विषयमा केही घोषणा हुने अपेक्षा गरिएको जानकारी दिए।
विपद्पछि प्रभावित देशले लामो प्रक्रियाबाट नभई तत्काल आवश्यक स्रोतसाधन प्राप्त गर्नुपर्ने नेपालको माग रहेको उनले बताए। “अहिलेसम्म उक्त कोषबाट यस प्रकारको संयन्त्रमार्फत सहायता उपलब्ध गराइएको छैन। नेपालले कोप–३१ सम्ममा सहायता प्राप्त गर्नेगरी घोषणा गराउन सक्रिय रूपमा वार्ता गरिरहेको छौँ”, उनले भने।
कोप–३१ सम्मेलनको मुख्य आयोजक राष्ट्र टर्किए रहेको छ भने सहआयोजक राष्ट्र अष्ट्रेलियाले सम्मेलनका अन्तरसरकारी वार्ताको नेतृत्वका साथै वार्ताको अध्यक्षताको रूपमा जिम्मेवारी सम्हाल्नेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment