नवरात्रको सातौं दिन आज कालरात्रि देवीको पूजा आराधना, घर-घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं। बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज दशैं घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ देवी ‘कालरात्रि’को विधिपूर्वक पूजा आराधना गरिँदै छ। यसका साथै आजैको दिन वैदिक विधिअनुसार घर-घरमा फूलपातीसमेत भित्र्याइँदै छ।
वैदिक सनातन परम्पराअनुसार आश्विन शुक्ल सप्तमी (दुर्गा पक्षको सातौँ दिन) कालरात्रि देवीको उपासना गर्ने गरिन्छ। धार्मिक मान्यताअनुसार प्राणीमात्रलाई नष्ट गर्ने काललाई पनि देवी भगवतीले विनाश गरिदिने भएकाले यिनलाई ‘कालरात्रि’ भनिएको हो। पुराणहरूमा कालरात्रिको वर्ण कृष्ण (कालो) र स्वरूप भयानक रहेको वर्णन गरिएको छ।
यसअघि असोज १५ गते घटस्थापनाका दिन दसैँ घर वा पूजा कोठामा जमरा राखी पहिलो देवी शैलपुत्रीको आह्वान गरिएको थियो। त्यसपछिका दिनहरूमा क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता र कात्यायनी देवीको निष्ठाका साथ पूजा आराधना गरिसकिएको छ।
नवरात्रभरि पूजास्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका देवी स्तोत्रहरूको पाठ पारायण गर्ने गरिन्छ। नवरात्रमा देवीको उपासना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने जनविश्वास छ। यही आस्थाका कारण वैदिक सनातन धर्मावलम्बीहरूले प्रतिपदादेखि नवमीसम्म नवदुर्गाका नौवटा स्वरूपको विशेष पूजा अर्चना गर्छन्।
आज अपराह्नकालमा विधिपूर्वक फूलपाती भित्र्याएपछि महाअष्टमी र महानवमीका दिन क्रमशः महागौरी र सिद्धिदात्री देवीको पूजा गरिनेछ। विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा ग्रहण गरी सुरु हुने यो पर्व कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाइन्छ। आजका दिन देशभरका प्रमुख शक्तिपीठहरूमा पूजाअर्चना र दर्शनका लागि भक्तजनको बाक्लो उपस्थिति रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment