पत्रकार किशोर श्रेष्ठ निवासबाटै पक्राउ

डिसी नेपाल
१ कार्तिक २०८३ १३:२०
16
Shares

काठमाडौं। वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएर भोटाहिटीस्थित कार्यालय पुर्‍याएको छ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार प्रहरी टोलीले श्रेष्ठलाई उहाँको नख्खुस्थित निजी निवासबाटै नियन्त्रणमा लिएको हो।

यस विषयमा साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले दुवै पक्षबाट उजुरी परेकाले छलफलका लागि बोलाइएको जानकारी दिए। “छलफलका लागि बोलाएका हौँ, अरू विषयमा कुरा गर्ने फुर्सद छैन,” प्रवक्ता अवस्थीले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तले शुक्रबार श्रेष्ठविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएका थिए। पन्तको परिवारले जग्गा कब्जा गरेकोसम्बन्धी समाचार प्रकाशित भएपछि उक्त जाहेरी परेको हो। यता श्रेष्ठले पनि पन्तविरुद्ध साइबर ब्युरोमै उजुरी दिएका छन्।

यसैबीच, बिदाको दिन समाचारकै विषयलाई लिएर पत्रकार श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ। महासंघकी अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्, “समाचार चित्त बुझेन भने साइबर ब्युरोमा उजुरी हाल्न लगाउने र २४ घण्टा नबित्दै बिदाको दिन पत्रकार पक्राउ गर्ने? यो अधिनायकवादी शैली हो।”

त्यस्तै, महासंघका महासचिव रामप्रसाद दाहालले पनि श्रेष्ठलाई नियन्त्रणमा लिने कार्यप्रति आपत्ति जनाएका छन्। “जनआस्थामा छापिएको समाचारको विषयलाई लिएर प्रहरीले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोज्नु निन्दनीय छ। समाचारको विषय हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो भन्ने कुरा वर्तमान सरकारलाई जानकारी रहोस्,” दाहालले उल्लेख गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *