भीमफेदीको बाँदरेभीरमा माइक्रोबस दुर्घटना : ११ जना घाइते, एकको अवस्था गम्भीर
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, बाँदरेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
आइतबार दिउँसो करिब १२:३० बजे काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको यात्रुवाहक माइक्रोबस सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको थियो।
दुर्घटनामा परी रौतहटको दुर्गाभगवती गाउँपालिका–१ का ५० वर्षीय हरि साह गम्भीर घाइते हुनुभएको छ। मुखमा गम्भीर चोट लागेका उहाँको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका निम्ति चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको छ।
सोही दुर्घटनामा परी रौतहटकै ३२ वर्षीय राजेश साह, सर्फे आलम, २६ वर्षीया चन्दाकुमारी साह, २३ वर्षीया शिवाकुमारी साह, पाँच वर्षीय आर्यन साह, शान्तिकुमारी र शिवान्स घाइते भएका छन्। यसैगरी, चन्द्रपुर नगरपालिका–११ की २४ वर्षीया सविताकुमारी चौधरी, यमुनामाई गाउँपालिका–४ का १९ वर्षीय राहुल ठाकुर र धमनीमाई गाउँपालिका–४ का १६ वर्षीय विजयकुमार ठाकुर पनि घाइते भएका छन्। गम्भीर घाइते हरि साहबाहेक अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
घटनालगत्तै सबै घाइतेहरूलाई उद्धार गरी उपचारका निम्ति हेटौँडा अस्पताल पठाइएको थियो। गम्भीर घाइते हरि साहलाई चितवन रिफर गरिएपछि उहाँका छोरीहरू चन्दाकुमारी, शिवाकुमारी तथा नाति-नातिनीहरू पनि थप उपचारका लागि सीएमसी अस्पताल गएका छन्।
दुर्घटनापछि गाडीका चालक फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment