‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

डिसी नेपाल
१ कार्तिक २०८३ २०:२७
16
Shares

तेहरान। ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने योजना अझै छलफलका क्रममा रहेको इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले बताएका छन्।

इराकको राजधानी बग्दादमा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को विदेशमन्त्री परिषद्को ५२औँ सत्रका क्रममा आइतबार इरानको सरकारी समाचार संस्था इर्नासँगको अन्तर्वार्तामा उनले उक्त जानकारी दिएका छन्।

अराघचीका अनुसार, शत्रुतापूर्ण गतिविधि अन्त्य गर्न र ‘स्ट्रेट अफ होर्मुज’ पुनःखोल्न इरानले राखेका सर्तहरू स्पष्ट छन्। ती सर्त समेटिएको सातदिने योजना अमेरिकासमक्ष प्रस्तुत गरिसकिएको उनले बताए। अमेरिकाले उक्त योजनाबारे आफ्नो धारणा प्रस्तुत गरिसकेको र त्यसको अहिले इरानले समीक्षा गरिरहेको उनको भनाइ छ।

“इरानको योजना अझै पनि छलफलको टेबुलमा छ”, अराघचीले भने। अमेरिकाले इरानका सर्तहरू पूरा गरे छैटौँ दिनमा ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोलिने र सातौँ दिनमा वार्ता पुनः सुरु हुने उनले प्रष्ट पारे।

इरानका सर्तहरू कुनै असाधारण नरहेको उल्लेख गर्दै उनले ती सर्तहरू शान्तिसम्बन्धी समझदारीपत्र (एमओयु) तथा अन्य वार्ताका क्रममा अमेरिकाले यसअघि नै स्वीकार गरेका प्रतिबद्धताहरूसँग सम्बन्धित रहेको दाबी गरे। अराघचीले इरान कुनै पनि धम्कीका अगाडि नझुक्ने र आफ्नो देशको रक्षा गर्न पूर्ण रूपमा तयार रहेको बताउँदै समस्या समाधानका लागि कूटनीतिक मार्ग अपनाउन पनि इरान उत्तिकै इच्छुक रहेको स्पष्ट पारे।

यसैबीच, इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा इरानको राजधानी तेहरानसहित अन्य सहरहरूमा संयुक्त आक्रमण गरेका थिए। त्यसको जवाफमा इरानले इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो। साथै, इरानले ‘स्ट्रेट अफ होर्मुज’ मा आफ्नो नियन्त्रण थप कडा बनाएको थियो।

युद्धरत पक्षहरूबीच अप्रिल ८ मा युद्धविराम भएपछि जुन १८ मा इरान र अमेरिकाले यस क्षेत्रमा जारी युद्धलाई सबै मोर्चामा अन्त्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। उक्त समझदारीअनुसार इरानको आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवासम्बन्धी विषयमा अन्तिम सहमतिमा पुग्न दुवै पक्षले ६० दिनभित्र वार्ता गर्ने तय गरेका थिए। उक्त समयसीमा अगस्ट १७ मा समाप्त भए पनि दुवै पक्ष सम्झौतामा पुग्न पर्याप्त प्रगति गर्न असफल भएका थिए।

‘स्ट्रेट अफ होर्मुज’ विश्वको प्रमुख ऊर्जा पारवहन मार्गहरूमध्ये एक हो। यस क्षेत्रमा उत्पन्न तनावले अन्तरराष्ट्रिय तेल आपूर्ति तथा विश्व ऊर्जा बजारमा गम्भीर असर पार्नसक्ने भएकाले होर्मुज पुनः खोल्ने विषयलाई अन्तरराष्ट्रिय समुदायले उच्च चासोका साथ हेरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *