रोनाल्डोमाथि अनुशासनको कारबाही: ३० दिन प्रतिबन्ध र २५५ युरो जरिवाना

डिसी नेपाल
३ कार्तिक २०८३ ६:३२
20
Shares

काठमाडाैं। पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोमाथि ३० दिनको प्रतिबन्ध र २५५ युरो (करिब २१५ पाउन्ड) जरिवाना आयशा गरेको छ। गत महिना राष्ट्रिय टोलीको बन्द प्रशिक्षण (क्याम्प) बिना अनुमति छाडेर हिँडेपछि उनीमाथि यो अनुशासनको कारबाही गरिएको हो।

४१ वर्षीय रोनाल्डोले गत सेप्टेम्बरमा नेसन्स लिग अन्तर्गत नर्वेविरुद्धको खेलमा बेन्चमा बस्नुपरेपछि र अक्टोबर १ मा डेनमार्कविरुद्धको खेलमा पनि सुरुआती-११ मा नपर्ने थाहा पाएपछि टोलीको क्याम्प छाडेका थिए। त्यसपछि एक वक्तव्य जारी गर्दै उनले पोर्चुगलका मुख्य प्रशिक्षक जोर्गे जेसुसले दुई पटक बाचा तोडेको र आफूसँग पूर्ण रूपमा ‘विश्वासघात’ भएको आरोप लगाएका थिए।

तथापि, एफपीएफको अनुशासन समितिले यो प्रतिबन्ध डेनमार्कविरुद्धको खेलकै दिनदेखि लागु हुने निर्णय गरेकाले रोनाल्डोले १९ दिनको सजाय भुक्तान गरिसकेका छन्। जसका कारण उनले पोर्चुगलका आगामी कुनै पनि आधिकारिक खेल गुमाउनुपर्ने छैन। पोर्चुगलले नोभेम्बर १४ मा नेसन्स लिगमा डेनमार्कको सामना गर्दैछ भने त्यसको तीन दिनपछि वेल्सको भ्रमण गर्नेछ।

सजाय तोक्दा अनुशासन समितिले रोनाल्डोले वक्तव्यमार्फत व्यक्त गरेको पश्चाताप, फुटबलमा पुर्‍याएको योगदान र उनका खेलकुद उपलब्धिलाई ध्यानमा राखेको जनाएको छ। रोनाल्डोले आफ्नो बचाउका क्रममा आफ्ना पुरस्कार र उपलब्धिहरूको विवरण (सिभी) समेत पेस गरेका थिए। उनले यसअघि नै टोलीका साथीहरू र समर्थकहरूसँग माफी माग्दै सजाय भोग्न तयार रहेको स्वीकार गरिसकेका छन्।

प्रशिक्षक जेसुसले रोनाल्डोसँग कुनै सम्झौता वा बाचा नगरिएको स्पष्ट पारे पनि उनलाई टोलीमा फर्किने ढोका खुल्लै रहेको बताएका छन्। एफपीएफका अध्यक्ष पेड्रो प्रोएन्साले पनि यो विवाद समाधान भएसँगै रोनाल्डोलाई पुनः राष्ट्रिय टोलीमा फर्काउने तीव्र इच्छा रहेको व्यक्त गरेका छन्।

पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गर्दै पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल र सर्वाधिक खेलको विश्वकीर्तिमान बनाएका छन्। उनी सम्मिलित पोर्चुगलले सन् २०१६ को युरोकप र दुई पटक नेसन्स लिगको उपाधि जितिसकेको छ। सन् २०२२ को डिसेम्बरमा साउदी क्लब अल-नासर पुगेका रोनाल्डोले गत वर्ष सम्झौता नवीकरण गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *