डिगोमा जोडियो जिओहटस्टार : अब एउटै प्लेटफर्ममा नेपाली र भारतीय मनोरञ्जनका सामग्री उपलब्ध

डिसी नेपाल
३ कार्तिक २०८३ १३:४४
4
Shares

काठमाडौँ । नेपालको लोकप्रिय ओटीटी प्लेटफर्म ‘डिगो’ ले जिओहटस्टारसँग एक महत्त्वपूर्ण साझेदारीको घोषणा गर्दै आफ्नो प्लेटफर्ममा जिओहटस्टारका उत्कृष्ट सामग्रीहरूको प्रसारण तथा प्रस्तुति आरम्भ गरेको छ।

दक्षिण एसियाली समुदायको उल्लेख्य बसोबास रहेको मध्यपूर्व र उत्तर अफ्रिकाका बजारमा प्रवेश गरेको केही साता नबित्दै, जिओहटस्टारले डिगोमार्फत नेपालमा पनि आफ्नो सेवा विस्तार गर्दै विश्वव्यापी पहुँचलाई थप बलियो बनाएको छ। भारतसँगको हाम्रो घनिष्ठ सांस्कृतिक सम्बन्ध तथा भारतीय चलचित्र र टेलिभिजन धारावाहिकहरूप्रतिको लामो समयदेखिको गहिरो आकर्षणलाई मध्यनजर गर्दै, जिओहटस्टारलाई विश्वभर छरिएर रहेका नेपाली दर्शकहरूसामु पुर्‍याउने यो एक ऐतिहासिक कदम हो।

यस सहकार्यले डिगो प्लेटफर्मभित्रै ब्लकबस्टर चलचित्रहरू, मौलिक सिर्जनाहरू (ओरिजिनल), दैनिक टेलिभिजन धारावाहिक, रियालिटी शो फ्रान्चाइजहरू तथा बालबालिका लक्षित विशेष सामग्रीहरू समेटिएको एक समर्पित ‘जिओहटस्टार’ खण्ड सिर्जना गरेको छ।

यसको नयाँ लञ्च लाइनअपअन्तर्गत ‘भेडिया’, ‘टुवेल्थ फेल’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’, ‘वेलकम टु द जंगल’ जस्ता चर्चित ब्लकबस्टर चलचित्रहरू उपलब्ध छन्। यसैगरी, जिओहटस्टारका बहुप्रतिक्षित ओरिजिनलहरू जस्तै— ‘हुंकार’, ‘प्रितम एण्ड पेड्रो’, ‘अलि बाबा और ४० भूत’, ‘स्पेसल अप्स’ र ‘चिरैया’ लगायतका सामग्रीहरू पनि दर्शकले हेर्न पाउनेछन्।

यसका साथै, हिन्दी भाषामा समेत उपलब्ध ‘बेथेलहेम कुटुम्ब युनिट’ र ‘थुडाकम’ जस्ता उत्कृष्ट साउथ इन्डियन चलचित्रहरूका साथै ‘बिग बोस’, ‘इन्डिया का टप १ पर्सेन्ट’ तथा हालैका दिनहरूमा अत्यधिक चर्चा बटुलिरहेको लोकप्रिय रियालिटी शो ‘कफी विथ करण’ जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू अब डिगोमार्फत सजिलै हेर्न सकिनेछ।

दर्शकहरूले डिगोका मोबाइल र प्लस प्लानमार्फत जिओहटस्टारको यो रोमाञ्चक अनुभव लिन सक्नेछन्, जसको विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँबाट सुरु हुन्छ। मोबाइल प्लानतर्फ एक महिनाको लागि २४९ रुपैयाँ, तीन महिनाको लागि ६९९ रुपैयाँ र एक वर्षको लागि २,४९९ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, प्लस प्लान एक महिनाको लागि ३९९ रुपैयाँ, तीन महिनाको लागि ८९९ रुपैयाँ र एक वर्षको लागि २,६९९ रुपैयाँमा उपलब्ध हुनेछ। इच्छुक दर्शकहरूले आधिकारिक वेबसाइट [www.digoapp.com](https://www.digoapp.com) मा गएर अथवा आईओएस, एन्ड्रोइड, एन्ड्रोइड टीभी र स्मार्ट टीभीमा डिगो एप डाउनलोड गरी सजिलै सब्स्क्राइब गर्न सक्नेछन्।

जिओहटस्टारको यो विशाल लाइब्रेरी जोडिएसँगै डिगोको आफ्नै नेपाली चलचित्र र शोहरूको सङ्ग्रह अझ बढी सशक्त बनेको छ। स्थानीय कथावाचनलाई उच्च प्राथमिकता दिँदै डिगोमा अबदेखि प्रत्येक हप्ता नयाँ नेपाली चलचित्रहरू थपिँदै जानेछन्। यस प्रकार भारतीय तथा नेपाली मनोरञ्जनका सामग्रीहरू एवं विश्वव्यापी खेलकुदका रोमाञ्चक गतिविधिहरू अब कुनै पनि अतिरिक्त शुल्क नतिरी एउटै डिगो सब्स्क्रिप्सनभित्र उपलब्ध भएका छन्।

जिओहटस्टारको नेपाल प्रवेशको यस सुखद अवसरमा टिप्पणी गर्दै जिओस्टारका अन्तर्राष्ट्रिय व्यापार प्रमुख अमित मल्होत्राले भारतमा सिर्जना भएको विशाल दायरा र विदेशमा भारतीय मनोरञ्जनप्रतिको उच्च मागलाई यो विस्तारले एकै ठाउँमा ल्याएको बताएका छन्।

“पुस्ताैँदेखि हाम्रा चलचित्र, टेलिभिजन शो र कलाकारहरूलाई गहिरो रूपमा पछ्याउँदै आएका दर्शकहरू भएको नेपाल यस यात्राको एक अति महत्त्वपूर्ण हिस्सा हो। डिगोसँगको यस सहकार्यमार्फत हामीले जिओहटस्टारको उच्चस्तरीय मनोरञ्जनलाई स्थानीय प्लेटफर्मको सहजतासँग जोड्दै दर्शकहरूलाई अझ फराकिलो र सुलभ विकल्प प्रदान गर्न सक्षम भएका छौँ,” उनले खुसी व्यक्त गरे।

त्यसैगरी, यो साझेदारी डिगो र समग्र नेपालको मनोरञ्जन उद्योग दुवैका लागि एक कोसेढुङ्गा साबित भएको डिगोका प्रमुख कार्यकारी अधिकृत रोशन निरालाले बताए।

उनले भने, “जिओहटस्टारका उत्कृष्ट चलचित्र र शोहरूदेखि लिएर हरेक हप्ता प्रसारण हुने नयाँ नेपाली चलचित्रहरू तथा प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुदहरूसम्म, नेपाली दर्शकहरूलाई डिगो रोज्ने हरेक दिन नयाँ कारण दिनु नै हाम्रो मुख्य उद्देश्य हो। हामी हाम्रा प्रिय दर्शकहरूका लागि विशेष रूपमा तयार पारिएको सुलभ मूल्यमा नेपालकै लागि बनेको प्लेटफर्ममार्फत यी सम्पूर्ण विकल्पहरू एकै ठाउँमा एकत्र गर्दैछौँ।”

नेपालमा भएको यो भव्य लञ्चले भारतीय मनोरञ्जनको व्यापक पहुँच र आकर्षणलाई बलियो आधार बनाउँदै अन्तर्राष्ट्रिय बजारमा आफ्नो दिगो र मजबुत उपस्थिति स्थापित गर्ने जिओहटस्टारको दूरगामी लक्ष्यलाई प्रष्ट्याउँछ। यसैबीच, डिगोले नेपाली चलचित्र ‘लालीबजार’ बडादसैँको सुअवसर पारेर दर्शकमाझ सार्वजनिक गरिसकेको छ भने ‘मन बिनाको धन’, ‘जनै हराएको मान्छे’ र ‘सोल्टिनी’ जस्ता चर्चित चलचित्रहरू पनि छिट्टै एपमा उपलब्ध हुने जानकारी डिगोले गराएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *