टाइगर श्राफको कारलाई लक्षित गरी आक्रमण, ग्याङ्स्टर पण्डितद्वारा सलमान खानलाई पुनः धम्की

डिसी नेपाल
२ कार्तिक २०८३ १७:४२
8
Shares

काठमाडौं।— बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको घटनाले भारतीय चलचित्र क्षेत्रमा फेरि एकपटक सुरक्षा त्रास बढाएको छ। आइतबार साँझ मुम्बईको जुहू क्षेत्रमा भएको यस आक्रमणको जिम्मेवारी अमेरिकामा रहेका भनिएका ग्याङ्स्टर अनिल पण्डितले लिएको दाबी गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरूमा आएका विवरण अनुसार, घटनापश्चात प्राप्त एक अडियो सन्देशमार्फत पण्डितले टाइगरसहित अन्य बलिउडकर्मीहरूलाई कडा धम्की दिएका छन्। उक्त सन्देशमा अभिनेता सलमान खानलाई लक्षित गर्दै लरेन्स बिश्नोई र बिश्नोई समुदायसँग माफी माग्न पुनः चेतावनी दिइएको छ।

आइतबार साँझ जुहू क्षेत्रमा टाइगर श्राफको कारलाई लक्षित गरी गरिएको गोली प्रहारमा उनका चालक फिरदौस र अर्का एक व्यक्ति घाइते भएका थिए भने अभिनेता टाइगर भने सुरक्षित रहेका छन्। घटनालगत्तै सुरक्षा निकायले हात पारेको भनिएको अडियो क्लिपमा पण्डितले आफ्ना सहयोगी हरमन सन्धुसँग मिलेर आक्रमण गराएको दाबी गरेका छन्।

अडियोमा टाइगरलाई यसअघि नै चेतावनी दिएको तर त्यसलाई बेवास्ता गरेकाले आक्रमण गर्नु परेको उल्लेख छ। साथै, सलमान खानसँग सहकार्य गर्ने फिल्मकर्मीहरूलाई समेत निशाना बनाउने धम्की दिइएको छ। यद्यपि, प्रहरीले उक्त अडियोको प्रामाणिकता, पण्डितको दाबी र घटनामा उनको वास्तविक संलग्नताको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि गरिसकेको छैन।

भारतीय सञ्चारमाध्यमका अनुसार हरियाणाको पानीपतका पण्डित सन् २०२४ मा अवैध मार्गबाट अमेरिका पुगेका थिए। अमेरिका पुगेपछि उनी बिश्नोई गिरोहसँग जोडिएर आपराधिक गतिविधिमा संलग्न भएको दाबी गरिएको छ।

अमेरिका जानुअघि उनका नाममा कुनै पनि आपराधिक रेकर्ड नरहेको पाइएको छ। पण्डित प्रत्यक्ष रूपमा लरेन्स बिश्नोईको सम्पर्कमा नरही अमेरिकाबाटै सक्रिय हरिचन्द जाट उर्फ ह्यारी बक्सरमार्फत निर्देशन लिने गरेको बताइएको छ। बक्सरमाथि राजस्थान, पञ्जाब र दिल्लीमा फिरौती, डकैती तथा ज्यान मार्ने उद्योग जस्ता गम्भीर प्रकृतिका थुप्रै मुद्दाहरू लाग्दै आएका छन्।

बलिउड कलाकार तथा संगीतकर्मीहरूलाई धम्की दिने र आक्रमण गर्ने यस्ता घटनाहरू पछिल्लो समय बढेका छन्। गत जुन ११ मा पञ्जाबी गायक गुरु रन्धावाको पश्चिम दिल्लीस्थित २४ एचएस फिटनेस जिमबाहिर मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली चलाएका थिए जसमा मानवीय क्षति नभए पनि सातवटा खाली कारतुस बरामद भएका थिए।

त्यस्तै, गत फेब्रुअरी १ मा फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित निवासबाहिर पनि गोली प्रहारको घटना भएको थियो। यसअघि अभिनेता रणवीर सिंह र सलमान खानका भिनाजु आयुष शर्मासहित अन्य केही सेलिब्रेटीहरूले पनि विभिन्न माध्यमबाट ज्यान मार्ने धम्की पाएको विवरणहरू सार्वजनिक भइसकेका छन्।

सलमान खान र लरेन्स बिश्नोई गिरोहबीचको यो तिक्तताको जड करिब दुई दशक पुरानो ‘कालो हरिण सिकार प्रकरण’सँग जोडिएको छ। बिश्नोई समुदायले कालो हरिणलाई धार्मिक तथा सांस्कृतिक रूपमा अत्यन्त पवित्र र पूजनीय मान्ने भएकाले उक्त घटनालाई लिएर यो गिरोह लामो समयदेखि सलमानप्रति आक्रामक रहँदै आएको छ। यसअघि सन् २०२४ मा समेत सलमानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर गोली प्रहार भएको थियो। त्यसयता उनका लागि सुरक्षा व्यवस्था कडा पारिए पनि धम्कीका शृङ्खलाहरू रोकिएका छैनन्।

टाइगर श्राफको कारमाथिको हालैको आक्रमण र त्यसपछि बाहिरिएका धम्कीपूर्ण अडियोले बलिउडकर्मीहरूको सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ। यद्यपि, आपराधिक गिरोहको नाम लिएर जिम्मेवारी दाबी गरिने यस्ता विषयहरूमाथि मुम्बई प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ र सत्यतथ्य बाहिर आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *