स्वाभाविक परिष्कृत पर्वहरूको मूल मर्म जोगिनु पर्छ

यमराज जोशी
३ कार्तिक २०८३ १९:२३
4
Shares

गाउँमा देउसी भैलो खेल्ने मान्छे रहेनन्, भएकाले पनि खेल्न मन गर्दैनन्। सबै विदेशिए, कोही सामाजिक सञ्जाल फेसबुक टिकटकजस्ता कुरामा लागे। तिहारको मात्र होइन अन्य हाम्रा मौलिक पर्वहरू विस्तारै हराउँदै जाने हुन् कि भन्ने ठूलो डर र चिन्ता देखिन थालेको छ।

हामी आफैँ त्यो चिन्ता गर्दै छौँ तर त्यसलाई चिन्ता गर्नुबाहेक अपनाउन सकिरहेका छैनौँ, किनकि समयको क्रम अनुसार त्यो स्वाभाविक हुँदै आएको छ। प्रकृतिले थुप्रै भौतिक वस्तुहरू प्रदान गरेको छ- जल, जङ्गल, माटो, हावा, पानी, वनस्पतिजस्ता तमाम प्रकृतिका सिर्जनाहरू छन्।

तिनै वस्तुहरूको अनेक प्रकारले प्रयोग गर्दै मानिसले आफ्ना थुप्रै आवश्यकताहरू पूरा गरिरहेका हुन्छन्। जीवनलाई सहज बनाउन हाम्रा पुर्खाले अहिलेका असल र खराब मानिसको वर्गीकरण गरी केही जसले असल कर्म गरेका छन्, अरूको भलो हुने काम गरेका छन्, तिनलाई भगवान् र केही जसले समाजमा खराब काम गरेका छन्, अरूलाई दुःख दिने काम गरेका छन्, तिनलाई राक्षसको रूपमा व्याख्या गरे।

तिनै भगवान् र राक्षसको स्वरूप हाम्रो मनमा छ र हामी उनीहरूप्रति त्यही अनुसारको आस्था राखिरहेका छौँ। त्यही स्वरूपलाई पूजा गर्ने र घृणा गर्नका निम्ति हामीले प्रकृतिका विभिन्न वरदानहरूलाई प्रयोग गर्दै आएका छौँ, जस्तो तीज, दशैँ, दीपावली, छठ पर्व, माघी, नयाँ वर्षजस्ता पर्वहरू छन्।

ती पर्वहरूमा फल, फूल, टीका, जमरा, दानदक्षिणा लगायत तमाम प्राकृतिक र कृत्रिम वस्तुहरूको प्रयोग गर्छौं। त्यही क्रममा हाम्रा अन्य पुर्खा जो हामीबीच रहनुभएन, उहाँहरूलाई समेत पितृका रूपमा सम्मान गर्ने, त्यही अवसरमा पूर्जा-शोक मनाउने र विभिन्न दानदक्षिणा गर्ने समेत परम्परा बसेको छ।

त्यस अवसरमा प्रकृतिले दिएको वरदानलाई नयाँ स्वरूप दिने, समय अनुसारको त्यसको स्वरूप निर्माण गर्ने र प्रयोग गर्नका निम्ति तिनैको खरिदबिक्री गरेर अर्थतन्त्र चलायमान बनाइएको पाइन्छ।

हाम्रा पुर्खा कति दूरदर्शी रहेछन्, हेर्नुहोस् त! असल काम गर्ने व्यक्तिलाई भगवान्को रूप दिए, असल काम भएको र सत्यको जीत भएको समयलाई पर्वको रूपमा लिए, त्यही असल व्यक्ति र असल समयको सम्मानका निम्ति विभिन्न उत्सवहरू मनाउन सुरु गरिएका छन्।

हेर्नुहोस् त, तीजको मूल मर्म पतिपत्नीबीचको प्रेमसम्बन्ध प्रगाढ बनाउने, एकअर्कालाई सम्मान गर्ने र एकअर्काको दीर्घायुको कामना गर्ने कुरामा जोड दिएको पाइन्छ। दशैँमा परिवारका र आफन्तका बीचमा सद्भाव राख्ने, निधारमा टीका शिरमा जमरा लगाउने तथा आशीर्वाद लिनेदिने चलन छ।

तिहारमा दिदीबहिनी तथा दाजुभाइबीचमा एकप्रकारको प्रेम र सम्मान राख्ने, दिदीबहिनी-दाजुभाइसँगै मानिसको जीवनमा महत्त्व राख्ने विभिन्न पशुहरूलाई जस्तै- कुकुर, काग, गाई, गोरुलाई पनि सम्मान गर्ने र प्रेम गर्ने; आफूले प्रेम गर्दा पशुले पनि हामीलाई प्रेम गर्छन् भन्ने मर्म पाइन्छ।

माघीमा खासगरी बिहे भएर गएका चेलीबेटीहरूलाई सम्झिने परम्परा छ। हामीलाई संसार दिने पुर्खा हाम्रा बीच नहुँदा पनि उहाँहरूलाई सम्झिने र सम्मान गर्ने मर्मसहित १६ श्राद्ध मनाउने गरिन्छ। यस्ता ससाना र ठूला थुप्रै पर्व तथा परम्परा हाम्रा पुर्खाले हामीलाई दिएर गएका छन्।

हामी तिनै अवसरमा उत्सव र शोक मनाउने गर्छौं। ती उत्सव र शोकमा विभिन्न सामग्रीहरू प्रयोग गर्ने परम्परा बसालिएको छ, जसका कारण हामीसँग भएका स्रोत-साधनको उपयोग भयो, खरिदबिक्री भयो, अर्थतन्त्र चलायमान भयो, मानिसले सामग्री निर्माण गर्न थाले, सीपको विकास भयो, काम गर्ने बानीको विकास भयो र एकअर्कालाई आवश्यक सामग्रीको परिपूर्ति तथा साटासाट गर्न थालियो जसले आपसी सम्बन्धको पनि विकास भयो। त्यो क्रमको निरन्तरता स्वरूप आज मानिस यतिधेरै विकसित भए कि केही पुराना परम्परा समय अनुसार परिष्कृत हुँदै गएका छन् र स्वाभाविक रूपमा आधुनिक हुँदै गएका छन्।

यो हाम्रा पुर्खाको दूरदर्शिताको उपज पनि हो। यी उत्सव, पर्व र शोकहरू मनाउन सुरु नगरिएको भए मानिस कसरी र केका लागि चलायमान हुन्थे, सोच्नुहोस् त? आय र व्ययको माध्यम के बन्थ्यो? यसरी पर्व-उत्सव हुँदैनथे भने आज फूल व्यापारीहरू फूल बेच्न पाउँदैन थिए, मिठाई व्यापारीहरू मिठाई बेच्न पाउँदैन थिए, मिठाई बन्न कति कच्चा पदार्थ चाहिन्छ त्यसको व्यापार हुँदैन थियो।

आज बजारमा झिलीमिली बत्तीहरू बलिरहेका छन्, कसैको घरमा बलेको झिलीमिलीले अर्को घरमा छाक टार्ने जोहो भएको हुन सक्छ। बजार नपाएर थन्किएका माटोका दियोहरूले दुईचार पैसा कमाउन पाएका छन्।

त्यसकारण समय अनुसारको परिवर्तन कतिपय अवस्थामा यो स्वाभाविक हो; माटोको ठाउँमा प्लास्टिकको दियो बेचिए होला, फूलका मालाको ठाउँमा कृत्रिम फूल बेचिए होलान्, तर आज फूल व्यापारीहरू परिष्कृत भएर फेरि फूलको व्यापार नयाँ ढङ्गले गर्नतर्फ लागेको पनि पाइन्छ। हो, यसरी नै समय अनुसार हामी परिष्कृत हुनै पर्छ।

आज विश्वले प्रविधिमा यतिधेरै फड्को मारिसक्यो कि अब मानिस जन्माउन पनि मानिसको आवश्यकता नपर्ने उपकरणको विकास हुने चरणमा छ। त्यसकारण हामीले यो तर्फ पनि ध्यान दिनु जरुरी छ, किनकि हामी आत्मनिर्भर छैनौँ। हामीले हाम्रा थुप्रै आवश्यकता पूरा गर्न तिनै विकसित र प्रविधिले सम्पन्न देशहरूसँग सम्बन्ध राख्नुपर्नेछ, तिनै देशबाट हाम्रा विभिन्न आवश्यकताको परिपूर्ति गर्नुपर्नेछ र कतिपय अवस्थामा तिनैसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

त्यसका निम्ति पनि हामीले उनीहरूको केही प्रतिशत मात्र भए पनि त्यो प्रविधिलाई प्रयोग गर्नुपर्नेछ वा सिक्नै पर्नेछ। तर हाम्रो मूल उद्देश्य र परम्पराको मूल मर्म भने बिर्सनु हुँदैन। हरेक उत्सव र पर्वको मूल मर्म असत्य माथि सत्यको जित, बेइमानीको अगाडि इमानको जित, अरूप्रतिको सहयोगी भावनाको विकास गर्नु, सामाजिक उत्तरदायित्व निर्वाह गर्नु र सामाजिक एकता कायम गर्नु रहेको छ। त्यही भावनाले मानिसलाई भगवान् बनाउँछ।

आजको समयमा पनि डा. सन्दूक रुइतजस्ता कैयौँ जिउँदा भगवान् हामीले मान्दै आएका छौँ र हाम्रा बीचमा छन्। त्यसैले, माथि उल्लेख गरिएका हाम्रा पर्व-परम्परालाई जोगाउन तिनको मूल मर्म र मूल संस्कार नबिर्सी- जस्तो थारु समुदायको मूल पहिचान सखिया, लेहेङ्गा, फरिया, लुङ्गी; अन्य मगर, नेवार, राई जातिको आफ्नो मूल पहिचान; पहाडी समुदायको आफ्नो मूल पहिचान हुड्को, छलिया तथा हाम्रो नेपालीको पहिचान दाउरा-सुरुवाल, ढाकाटोपी, गुन्युचोली, पटुकी कहिल्यै नमासिने र नमेटिने गरी तिनको संरक्षण गर्दै हामी आधुनिक समय अनुसार परिष्कृत हुनै पर्छ।

परम्परासँगै विज्ञान र प्रविधिलाई पनि अगाल्नै पर्छ। बरु सकिन्छ भने हाम्रो परम्परालाई अलिकति परिष्कृत गरेर यसलाई विश्वसामु लैजाने तथा विश्वका अन्य नागरिकलाई हाम्रो परम्परासँग लोभ्याएर पर्यटकको रूपमा भित्र्याएर यसलाई व्यावसायिक बनाउने तर्फ हाम्रो ध्यान जानुपर्छ।

(जोशी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) कैलाली बहुमुखी क्याम्पसका पूर्वसभापति हुन्।)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *