भक्तपुरमा ब्रह्मायणी जात्राको रौनक: मध्यरातिदेखि नै मन्दिरमा दर्शनार्थीको बाक्लो भीड

डिसी नेपाल
४ कार्तिक २०८३ ७:४६

भक्तपुर। विजयादशमीको अवसरमा भक्तपुरस्थित प्रसिद्ध ब्रह्मायणी मन्दिरमा परम्परागत ब्रह्मायणी जात्रा भव्यताका साथ मनाइँदै छ। नवदुर्गाको प्रमुख शक्तिपीठका रूपमा पुजिने यस मन्दिरमा मध्यरातिदेखि नै दर्शनार्थीको ठूलो भीड लागेको स्थानीयवासीले बताएका छन्।

विजयादशमीका दिन ब्रह्मायणी मन्दिरमा त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वास रहिआएको संस्कृतिविद्हरू बताउँछन्। सोही मान्यताअनुसार भक्तपुरवासीहरू धिमेबाजाको तालमा मध्यरातिदेखि नै पूजाअर्चनाका लागि मन्दिर पुगेका हुन्।

विशेष गरी व्रत बसेका श्रद्धालुहरू घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै तथा शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर ब्रह्मायणी पुग्ने गर्दछन्। यसरी शरीरमा बत्ती बालेर र भूमि नाप्दै मन्दिरसम्मको यात्रा पूरा गर्नाले मनोकांक्षा पूरा हुने र धर्म प्राप्त हुने विश्वास रहेको स्थानीयले जनाएका छन्।

नेवार समुदायमा आज ‘मोहिनी नखः’ मनाउँदै घरघरमा कालो टीका लगाएपछि ब्रह्मायणी मन्दिरमा पूजा लैजाने परम्परा रहेको छ। यसै अवसरमा दिनभरि नै मन्दिर परिसरमा ठूलो मेला लाग्ने गर्दछ।

जात्रामा भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागीश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डुका साथै काभ्रे, ललितपुर र काठमाडौँबाट समेत ठूलो संख्यामा भक्तजनहरू आउने गरेका छन्। मन्दिरमा जमराका साथै हाँसको फूल, हाँस, बोका र कुखुराको बलि दिने चलन रहेको छ।

गाँठेमंगलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक ‘खःमेय्’ (राँगो) लाई मंगलबार साँझ जाँड खुवाएर, अबिर र तेल दली दौडाउँदै ब्रह्मायणी मन्दिर पुर्याएर बध गरिएको थियो। खःमेय्‌को बधसँगै मध्यरातिदेखि यो ऐतिहासिक जात्रा विधिवत् रूपमा सुरु भएको आयोजकहरूले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *