न्यालु लेकमा हिउँ पन्छाउने काम बीचमै रोकियो, लिमीवासीलाई आउजाउमा सकस
सुर्खेत। हिमपातका कारण अवरुद्ध बनेको हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी जोड्ने सडक खुलाउने काम अधुरै रोकिएको छ। न्यालु लेकमा जमेको हिउँ पन्छाउन केही दिन जेसीबी परिचालन गरिए पनि लिमीतर्फको सडक सफा नगर्दै काम रोकिएको हो। यसले हिमालपारिको लिमी क्षेत्रको आवागमनलाई सहज बनाउने प्रयासमा थप जटिलता थपिदिएको छ।
केही दिनअघि सल्ली हुँदै गएको जेसीबीले सेलिवाङ दह क्षेत्रबाट हिउँ पन्छाउन सुरु गरेको थियो। न्यालु लेकबाट सदरमुकाम सिमकोटतर्फको सडक खुलाएर जेसीबी फर्किए पनि लेकको लिमीतर्फको भागमा भने ३ देखि ५ फिटसम्म बाक्लो हिउँ बाँकी नै रहेको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिएका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार पूर्वाधार विकास कार्यालयको सहयोगमा सडकको हिउँ पन्छाउन सुरु गरिएको थियो। तर, केही दिन काम गरेपछि बीचमै रोकिएकाले लिमी जाने सडकको समस्या यथावत् रहेको वडाध्यक्ष तामाङले बताएका छन्। उनले सम्बन्धित निकायसँग अधुरो काम तत्काल अघि बढाएर सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन आग्रह गरेका छन्।
असोज पहिलो सातादेखि नै उच्च हिमाली क्षेत्रमा परेको हिमपातका कारण सडक बन्द हुँदा स्थानीयवासीलाई अत्यावश्यक कामका लागिसमेत बाहिर निस्कन कठिन भएको छ। बिरामी तथा अन्य आपत्कालीन काम परेकाहरू हेलिकोप्टरको सहारा लिन बाध्य भइरहेका छन्।
यसअघि न्यालु लेकमा सडक अवरुद्ध हुँदा लिमीको तुम्लिङमा रोकिएका पर्यटक तथा यात्रुहरू हिउँ छिचोल्दै जोखिमपूर्ण यात्रा गरी सिमकोट पुग्न बाध्य भएका थिए। कर्णाली प्रदेश सरकारले निर्माण गरेको यो सडकमा रोकिएको हिउँ पन्छाउने काम पुनः सुरु गरी सुरक्षित रूपमा सञ्चालनमा ल्याउन स्थानीयवासीले माग गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment