सेवा र बाध्यताको घेरा: जसले चाहेर पनि परिवारसँग दशैंको टीका लगाउन पाउँदैनन्

डिसी नेपाल
४ कार्तिक २०८३ १५:३०
4
Shares

चितवन। स्वदेश तथा विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि बडादशैंको मुख्य दिन परिवारका साथमा बसेर टीका लगाउन पाउँदैनन्। कतिपय कार्यव्यस्तताका कारण त कतिपय घरभन्दा निकै टाढा रहेकाले टीका थाप्नबाट वञ्चित हुने गरेका छन्।

नागरिक तहमा भने स्वदेशमै रहेर पनि अत्यावश्यक सेवा अवरुद्ध हुन नदिन धेरैले परिवारका साथमा बसेर दशैं मनाउन पाएका हुँदैनन्। विशेष गरी स्वास्थ्य, सुरक्षा, सञ्चार लगायतका अति अत्यावश्यक सेवा प्रवाहमा खटिने कर्मचारीहरू यसरी बडादसैँको टीका थाप्नबाट वञ्चित हुने गर्छन्।

सर्वसाधारणको दसैँलाई सहज, शान्त र सुरक्षित बनाई टीका लगाउने वातावरण मिलाउनका लागि रातदिन सुरक्षा निकायमा खटिने सुरक्षाकर्मीहरू नै टीका लगाउन पाउँदैनन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार करिब ९० प्रतिशत हाराहारीका प्रहरी कर्मचारी सेवामै व्यस्त रहने भएकाले घर गएर परिवारको हातबाट टीका थाप्न पाउँदैनन्।

“सर्वसाधारणले सुरक्षित रूपमा चाडपर्व मनाउन सकून् भनेर हामी परिवारसँग टीका लगाउन पाउँदैनौँ। यो एक-दुई वर्षको कुरा मात्र होइन, कैयौँ वर्षदेखि यस्तै हुँदै आएको छ,” उनले भने।

संवेदनशील मानिएका जिल्लाहरूमा अन्यत्रबाट थप सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गरिने उनले बताए। कमान्ड र विशेष जिम्मेवारी सम्हालेका अधिकारीहरूले बिदा पाउँदैनन् भने अन्य तल्लो तहका जनशक्तिले एकापसमा मिलाएर न्यूनतम सङ्ख्यामा मात्रै परिवारसँग दसैँ मनाउन जाने पौडेलले जानकारी दिए।

यस्तै नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सम्पूर्ण जनशक्तिले पनि यस महान् पर्वमा परिवारसँग बसेर दसैँ मनाउन पाउँदैनन्।

यता निजी क्षेत्रमा कार्यरत सुरक्षा गार्डहरूले पनि दशैंका बेला बिदा नपाउने गरेको गढी सेक्युरिटीजका सञ्चालक अश्विन गोले बताउँछन्। चाडपर्वको समयमा धेरैजसो उद्योग, व्यवसाय र कार्यालयहरू बन्द हुने हुँदा तिनको सुरक्षाको सम्पूर्ण जिम्मेवारी सुरक्षा गार्डकै काँधमा पर्ने भएकाले उनीहरूले बिदा नपाउने उनको भनाइ छ। “चाडपर्वका बेला सुरक्षाका लागि उल्टै थप जनशक्तिको माग हुने गर्छ,” उनले भने।

स्वास्थ्य क्षेत्रको अवस्था पनि उस्तै छ। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालमा करिब ३० प्रतिशत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरू निरन्तर ड्युटीमा खटिने भएकाले उनीहरूले परिवारसँग दसैँको टीका थाप्न नपाउने बताए। बहिरङ्ग (ओपिडी) सेवा बाहेक आकस्मिक (इमर्जेन्सी) र अन्तरङ्ग (इनडोर) सेवा २४ सै घण्टा सुचारु रहने भएकाले चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाइकर्मी बिदामा बस्न पाउँदैनन्।

उनीहरूले दसैँ र तिहारमा आलोपालो गरेर बिदा मिलाउने गर्छन्। डा. बगालेले थपे, “बिरामीका लागि जुनसुकै बेला सेवा दिनुपर्ने भएकाले स्वास्थ्यकर्मीहरू सधैँ तयारी अवस्थामा रहनुपर्छ।”

चाडपर्वका बेला अस्पतालमा अधिकांश समय नर्सिङ कर्मचारीले सेवा दिने गर्छन्। नेपाल नर्सिङ सङ्घ चितवनकी अध्यक्ष विष्णु अधिकारीका अनुसार ५० प्रतिशत नर्सले दसैँमा बिदा लिएर बस्न पाउँदैनन्। “दशैं र तिहारमध्ये आलोपालो गरेर बिदा व्यवस्थापन गरिन्छ,” उनले भनिन्। यसका कारण आधा जसो नर्सहरू दशैंमा परिवारसँग टीका थाप्नबाट वञ्चित हुने उनको भनाइ छ।

अर्कोतर्फ वैदेशिक रोजगारीका क्रममा विदेशमा ठूलो सङ्ख्यामा रहेका नेपालीहरू छन्। उनीहरूमध्ये अधिकांशले परिवारसँग बसेर दशैं मनाउन र टीका लगाउन पाउँदैनन्। कतिपयले एकाघरका परिवारलाई आफू भएकै देशमा बोलाउँछन् भने कतिपयले बिदा मिलाएर मात्र दशैंमा नेपाल आउने गर्छन्।

चार वर्षको अन्तरालपछि बुबा-आमाको हातबाट टीका लगाउन चितवनको रत्ननगर आइपुगेका विष्णु पौडेल चाडपर्वमा परिवारसँग बस्न पाउनु ठूलो खुसीको कुरा भएको बताउँछन्। “विदेशमा रहनेहरूमध्ये निकै कमैले मात्र परिवारसँग पर्व मनाउने अवसर पाउँछन्,” उनले भने।

यस्तै अन्य पेशामा संलग्न नागरिकहरू पनि टीका लगाउनबाट वञ्चित हुने गर्छन्। सञ्चार क्षेत्र, सार्वजनिक यातायात, नगर सरसफाइ र हस्पिटालिटी (होटल तथा रेस्टुरेन्ट) क्षेत्रमा कार्यरत कर्मचारीहरूले पनि परिवारसँगै बसेर टीका थाप्न पाउँदैनन्। उनीहरूले आलोपालो प्रणालीमा काम गर्दै आफ्ना सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गरिरहेका हुन्छन्।

नारायण अधिकारी\रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *