जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
सांकेतिक तस्बिर एआई
चितवन। स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन्। कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका छन्।
कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दसैँ मनाउन पाएका हुँदैनन्। स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरु यसरी बडादसैँको टीका थाप्नबाट बञ्चित हुन्छन्।
अरुको दसैँलाई सहज र सुरक्षित बनाई टीका लगाउन दिनका लागि सुरक्षा निकायमा खटिने टीका लगाउनबाट बञ्चित हुन्छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल नब्बे प्रतिशत हाराहारी प्रहरी सेवामा रहेका घरमा गएर टीका थाप्नका लागि घर जान नपाउने बताउँछन्।
उनले भने, ‘सर्वसाधारणले सुरक्षित रुपमा चाडपर्व मनाउन् भनेर हामी परिवारसँग टीका लगाउन पाउँदैनौं। यो कतिबर्ष भन्ने होइन कि कैयौँ बर्षसम्म पनि यस्तै हुने गरेको छ।’
संवेदनशील जिल्लाहरुमा अन्यत्रबाट थप सुरक्षाकर्मी पठाएर सुरक्षा दिइने गरेको पनि उनले बताए। जिम्मेवारी लिएकाले विदा पाउँदैनन्। अन्यले मिलाएर न्यूनतम सङ्ख्या मात्रै परिवारसँग दसैँ मनाउने उनले जानकारी दिए।
यस्तै नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानमा कार्यरत पनि यो पर्वमा परिवारसँग सबैले दसैँ मनाउन पाउँदैनन्।
त्यसो त निजी क्षेत्रमा काम गर्ने सुरक्षा गार्डहरुले पनि विदा नपाउने गरेको गढी सेक्युरिटीका सञ्चालक अश्विन गोले बताउँछन्।
चाडपर्वको समयमा कतिपय उद्योग व्यवसाय बन्द हुने हुँदा सुरक्षाको जिम्मेवारी सुरक्षा गार्डको हुने भएको विदा नपाउने उनको भनाइ छ। उनले भने, ‘चाडपर्वमा सुरक्षा दिन थप जनशक्ति माग हुने गर्दछ।’
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगाले ३० प्रतिशत चिकित्सक, नर्स र स्वास्थ्यकर्मी अस्पतालमा नै रहने भएकाले उनीहरुले परिवारसँग दसैँको टीका थाप्न नपाउने बताउँछन्।
बहिरङ्ग सेवा बाहेक आकस्मिक र अन्तरङ्ग सेवा सुचारु हुने भएकाले चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाईकर्मी विदा बस्न नपाउने उनको भनाइ छ।
उनीहरूले दसैँ र तिहार पालो मिलाएर विदा लिने गर्दछन्। बगालेले भने, ‘जुनसुकै बेला सेवा दिनु पर्ने भएकाले तयारी अवस्थामा हुनुपर्छ।’
पर्वको समयमा अधिकांश समय नर्सिङ कर्मचारीले समय दिने गर्दछन्। नेपाल नर्सिङ सङ्घ चितवनका अध्यक्ष विष्णु अधिकारी ५० प्रतिशत नर्सले विदा लिएर बस्न नपाउने बताउँछिन्।
‘दसैँ र तिहारमध्ये आलो पालो गरेर विदा मिलाइन्छ’ जसका कारण ५० प्रतिशत नर्सले दसैँमा परिवारसँग टीका थाप्न नपाउने उनको भनाइ छ।
विदेशमा ठूलो सङ्ख्यामा नेपाली छन्। उनीहरुमध्ये अधिकांशले परिवारसँग बसेर टीका लगाउन पाउँदैनन्। कतिपयले एकाघरको परिवारलाई उतै बोलाउँछन् भने कतिपयले विदा मिलाएर दसैँमा नेपाल आउने गर्दछन्।
चार वर्षपछि बुबा आमाको हातबाट टीका लगाउन चितवनको रत्ननगर आइपुग्नु भएका विष्णु पौडेल पर्वमा परिवारसँग बस्न पाउनु निकै खुसीको कुरा हुने बताउँछिन्।
उनले भनिन्, ‘विदेशमा रहनेले परिवारसँग कमैले मात्र पर्व मनाउन पाउँछन्।’
यस्तै अन्य क्षेत्रमा पेशा गर्नेहरु पनि टीका लगाउनबाट बञ्चित हुन्छन्। सञ्चार क्षेत्र, यातायत, सरसफाई, हस्पिटालिटी क्षेत्रमा काम गर्ने पनि सबैले परिवारसँगै बसेर टीका थाप्न पाउँदैनन्। आलो पालो गरेर उनीहरुले काम गर्छन्। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment