परम्परा, प्रविधि र परिवर्तनको मोडमा हाम्रा चाडबाड

कपिल लोहनी
७ कार्तिक २०८३ ७:५७
32
Shares

यसपालिको बडादशैं मुलुकमा घटेका कहालीलाग्दा दैवीप्रकोपका कारण मनाउने वातावरण कहीँ पनि थिएन । तर पनि सोह्रश्राद्धमा पुर्खा तथा सबै मृतात्माहरूको सम्झनामा श्राद्ध गर्नुका साथै घटस्थापनाको दिन नवदुर्गाको पूजाको घडा स्थापना गर्ने, जमरा राख्ने र देवीको पूजाअर्चना सुरु गर्ने काम गरियो ।

आजभन्दा नौ वर्ष पहिले घटस्थापनाको तेस्रो दिन मेरी अर्धाङ्गिनीको क्यान्सरजस्तो कडा रोगबाट निधन भएकोले उनको सम्झनामा दशैंको सोही दिन श्राद्ध नगरुञ्जेलसम्म कुनै पनि शुभकार्य गर्ने चाहना हाम्रो परिवारमा कसैलाई पनि हुँदैन, तर पनि पहिलो दिनदेखि नै पूजा भने सुरु गरिन्छ । बाँच्नेहरूले जीवन र संस्कार चलाउनु नै पर्‍यो भन्ने दर्शनका साथ बिस्तारै दशैंको पूजामा सबै केन्द्रित हुन थाल्यौं।

घटस्थापनादेखि नौ दिनसम्म प्रत्येक दिन दुर्गा भवानीका विभिन्न रूपको पूजा गर्ने चलन छ । नौ दिनको पूजापश्चात् कालरात्रीमा देवीलाई बली चढाएर पूजा गरेपछि देवीको पूजाको विसर्जन गरिन्छ र भोलिपल्ट टीकाको दिन सोही पूजाको प्रसाद र जलद्वारा अभिषेक लिएर र घटस्थापनाको दिन उमार्न राखिएको जमरा लगाएर टीकाको कार्यक्रम मनाइन्छ ।

मेरो पिताजीजस्तै मलाई पनि धर्मकर्ममा खासै दिलचस्पी र विश्वास छैन र पनि आदिकालदेखि चल्दै आएको रितिरिवाज र संस्कृतिलाई कायम राख्ने हेतुले मेरो सक्रियता सबै प्रकारका धर्मकर्म र संस्कारमा भइरहन्छ । यो सम्बन्धी मेरो काम देखेर नै होला मेरा छोराछोरीले पनि यी संस्कारलाई जीवित र प्रतिष्ठित राख्न निकै काम गर्ने गरेका छन् ।

अब त तिनका लालाबालाले पनि पूजाआजाको बेलामा घण्टी र डमरु बजाएर, देवीदेवताको तस्बिर र मूर्तिमा ढोगेर र भजन र पाठहरूमा रमाएर चाडपवाडलाई अझ रोचक बनाउने गरेका छन्। यसरी नै हाम्रो धर्म र संस्कार सन्तान-दरसन्तानसम्मले जोगाएर राखुन्।

फूलपातीको दिन घरका कलिलादेखि म जस्ता पाकासम्मका सबै परिवारजनले उखु, जल, लावा, फूल, वरपिपलको पात, नैवेद्य र फल, धूपबत्ती तथा अन्य आवश्यक सामग्री बोकेर डमरु, घण्टी, शङ्ख आदि बजाउँदै दसैँ कोठामा फूलपाती भित्र्यायौं।

हाम्रो घरमा दसैँको पूजा गर्दा जो कोहीले पनि हेर्न सक्दछ । कट्टर धर्मावलम्बीले जस्तो दशैं कोठामा कोही पस्न नहुने, हेर्न नहुने, घरैका महिला र बाहिरियालाई त्यहाँ जान वा हेर्न मनाही गर्ने तथा रातो कपडाको पर्दा लगाएर सो कोठालाई छेक्ने काम हामी गर्दैनौं।

हामीकहाँ पुरोहित बाजे आएर पूजाका अन्य सबै प्रक्रिया र पूजापाठ गरिदिन्छन्। महाअष्टमीमा पनि हामीले पशुबलि दिने प्रथालाई निकै अघिदेखि नै छोडी सकेका छौं भने कुभिन्डो, नरिवल, मुला वा अन्य वनस्पतिजन्य वस्तु चढाउने गर्दछौं र होम गर्ने काम हुन्छ।

हो, दशैं मासु खाने चाड पनि भएकोले अरू बेलामा दिनहुँजसो माछा वा कुखुराको मासु र अण्डा खाने गरे पनि हामी दशैंको बेलामा पसलबाट किनेर ल्याई अझ बढी र विभिन्न थरीका मासुका परिकार खाने गर्दछौं। तिथिको घडीपलाको हिसाबले यो पटक महाअष्टमी दोस्रो दिनको बिहानभर सम्म भएकोले सो दिनलाई पनि अष्टमीकै रूपमा मानियो। हामीले अघिल्लो दिनमा नै अष्टमीको पूजा गरिसकेकोले भोलिपल्ट भने आराम गरेरै बित्यो।

महानवमीको दिन घरमा सवारीसाधन र कन्या पूजा गरेको हेरेर दशैंको आनन्द लिएँ। हिजोआज यस्ता सबै काम मेरा छोराछोरी र तिनका परिवारले गर्दछन्। पिताजीको देहावसानपछि म घरमुली बन्न पुगेको छु। आमाको निधन भएको करिब ३० वर्ष भयो। ५८ वर्षको उमेरमा मुटुको व्यथाका कारण उहाँको छोटो उमेरमा नै निधन भयो। आजजस्तो अत्याधुनिक प्रविधि आइसकेको थिएन स्वास्थ्य क्षेत्रमा त्यतिबेला। पिताजी भने ९३ वर्षको उमेरसम्म बाँच्नुभयो।

घरपरिवारमा आमाबुवा हुञ्जेलसम्म छोराछोरी जति नै बुढौलीतिर उन्मुख भए पनि आफूलाई सानै छु भन्ने महसुस गर्दा रहेछन्। आमाबुवाको शेषपछि भने आफू टुहुरो भएको र घरको मुली पनि बन्न पुगेको कुराले मन निकै घबराउँदो रहेछ। त्यसैले पनि मानिसलाई यो पलदेखि मभन्दा माथि आमाबुवा नभए पनि ईश्वर छ भन्ने कुराको अनुभूति भएर केही सुरक्षित महसुस हुँदोरहेछ र उ बिस्तारै धर्मकर्ममा पनि संलग्न हुन थाल्दो रहेछ।

आज काठमाडौं मात्र होइन, नेपालका धेरै सहरहरूले विशाल रूप धारण गरिसकेका छन्। पहिले जस्तो सहरी क्षेत्रमा चाडपर्वमा छिमेकीको घर जाने, चाडवाडको शुभकामना आदानप्रदान गर्ने तथा टोलछिमेकमा पाकेका मिष्ठान्न भोजन चाख्ने चलन हराउँदै गएको छ।

टोलछिमेकमा मुलुकभरबाट आएर घर किनेर बसोबास गरेका मानिसहरूको सङ्ख्या पुराना छिमेकीको भन्दा बढी भइसकेको छ भने एउटा टोलमा पनि एकले अर्कोलाई राम्ररी चिनेको हुँदैन। कतिपय पुराना छिमेकीहरू अन्यत्र बसोबास गर्न थालेका छन्।

घरैपिच्छे खुलेका किराना पसल, चिया पसल र होस्टेल तथा एकुन्टा कोठा भाडामा लिएर बस्नेहरूको भिड र हल्लाले पहिलेको शान्त टोलको माहोल अब छैन । घर तथा पसल बहालमा दिन अलिकति पनि जमिन नछोडेर घर बनाउने चलनले गर्दा पहिलेका जस्ता ठूलाठूला घरबारी भएका घर पहाड र तराई कतैका सहरी क्षेत्रमा पनि भेट्न कठिन भइसकेको छ।

आज नेपालमा करिब ४५ लाख सवारीसाधन दिनहुँ सडकमा चल्ने गर्दछन् भने तीमध्ये करिब २५ लाख मोटरसाइकल र स्कुटर छन्। सडकमा यी दुई पाङ्ग्रे सवारीसाधनको अधिक चाप हुने भएकोले बटुवाहरूलाई हिँड्न ज्यादै मुस्किल हुने गरेको छ र धुवाँ, धुलो र ध्वनि प्रदूषणले पनि टोलछिमेकको जीवनशैलीमा निकै नकारात्मक असर पारेको छ। दशैंको केही दिन भने सहरमा नै चकमन्नता छाउने गर्दछ। एकप्रकारको दिव्य शान्ति, तर केही दिनको लागि मात्र !

कुनै समय सम्पूर्ण टोलवासी मिलेर दशैंमा चङ्गा उडाउने, तास खेल्ने, लङ्गुरबुर्जा खेल्नेदेखि नौरथाभरि विभिन्न देवीदेवताको मन्दिरमा समूह बनाएर एकाबिहानै हिँड्दै जाने ज्यादै रमाइला चलनहरू हुन्थे। तर आज आएर यीमध्ये सबैजसो चलन लोप हुँदै गएका छन्।

कागजका कार्डमा विजया दसैँको शुभकामना छपाएर आफन्त तथा साथीहरूलाई दिने चलन पनि प्रविधिले फड्को मारेसँगै हरााइसकेको छ । विश्वमा सबैजसोको हातमा मोबाइल फोन र सोमार्फत विश्वभरका ज्ञान, मनोरञ्जन प्राप्त गर्ने सुविधा मिलेसँगै र मोबाइलमार्फत नै समाज, साथीभाइ र आफन्तसँग विश्वभर जोडिन थालेपछि मानिसलाई भौतिक रूपमा साथीहरूसँग चाडवाडमा भेट्ने, रमाइलो गर्ने जस्ता कार्यबाट पनि खिन्नता लाग्न थालेको छ ।

आफूबाट टाढा रहेका परिवारजन र इष्टमित्र तथा साथीहरूलाई आधुनिक प्रविधिबाटै आफ्ना मोबाइल फोन र कम्प्युटरमा देख्न र कुरा गर्न सक्ने भएकोले हिजोआज ई-टीकाको पनि चलन बढ्दो छ।

दशैंमा घरमा भेला हुन नसक्नेहरूले भिडियो कलमार्फत परिवारजनसँग जोडिएर एकापसमा टीका ग्रहण गर्ने तथा दशैं खर्च, दक्षिणा र उपहार पनि यही प्रविधिमार्फत आदानप्रदान गर्ने सुविधाले नेपालका गाउँगाउँमा बस्ने मानिसहरूमा पनि निकै हर्ष र उल्लास ल्याएको छ। सूचना प्रविधिको तीव्र विकासले एकातर्फ विश्वलाई अझै सानो र सबैको पहुँचमा पुर्‍याएको छ भने अर्कातर्फ यसले घरपरिवारलाई भौतिक रूपमा टाढा बनाएको छ। त्यसैले यसको सही उपयोग गर्न अति जरुरी भएको छ।

पहाडी सहरका घरघरमा भोगटे, नासपाती, हलुवावेद, केरा, आरू, आरुपख्दा, दाख, अम्बा आदिका बोट हुनुका साथै विभिन्न प्रकारका साग, मुला, गाजर, गोलभेँडा, खुर्सानी, काउली, भन्टा आदि जस्ता मौसमी तरकारी फल्ने गर्दथे भने सबैका घरमा फूलका बगैँचा पनि हुन्थे ।

तराईका सहरी घर परिसरमा पनि खेतीको निम्ति राखिएका ट्र्याक्टर, साइकलहरू, परालको थुप्रो, ओखर, लिची, आँप, सुपारी, नरिवल आदिका रूख तथा तरकारी र फूलका बागहरू हुन्थे । खेल्नलाई प्रस्ट जमिन र सार्वजनिक मैदान पनि । स्थानीय मिठाई तथा खाजा र नास्ताका पसल । गर्मीबाट बच्न सडक छेउमा आँप, वर र पिपलका गाछीहरू । कति शान्त, सुन्दर र सरल जीवन थियो त्यतिबेलाको !

कुनै समय यस्तो पनि थियो हाम्रो बाल्यकालमा कि टोलछिमेकका घरहरूमा फलानाको घरको सेफ्टी ट्याङ्कको फोहोर झिकेर सहरबाट ज्यादै नजिकका खेतबारीहरूमा मलको रूपमा हाल्न लगेको कुरा पनि निकै रोचक हुने गर्दथ्यो । किसानहरूले मधुर भाकामा गीत गाउँदै धान तथा अन्य बाली रोप्न र गोड्न लागेका दृश्य र हरिया खेतबारीहरू सहरका घरहरूबाटै देखिन्थे भने घण्टाघरले समयको जनाउ दिन बजाएको मधुर सङ्गीत पनि सुनिन्थ्यो ।

सन् १९८० को दशकमा जर्मन सरकारको सहयोगमा फोहोरमैला व्यवस्थापन तथा स्रोत परिचालन केन्द्रको स्थापना भएपछि सहरमा सरसफाइ बढ्यो र ढलको पनि राम्रो विकास हुन थाल्यो। तर सो ढलको दुरुपयोगको रूपमा घरघरबाट सेफ्टी ट्यांक पुर्दै सोही ढलमार्फत मानव फोहोर नदीमा विसर्जन गर्ने कुप्रथाको सुरुवात भयो। फलस्वरूप आज हाम्रा नदीहरू फोहोर ढल बन्न पुगेका छन्।

आमाबुवासँग दशैंको बेलामा दक्षिणकाली, बज्रयोगिनी आदि शक्तिपिठको दर्शन गर्न जाँदा हुस्सु र कुहिरोले ढाकिएका पहाड, शान्त सडक र खुला गाउँबस्ती हुँदै जानुपर्दथ्यो  तर आज गर्मी निकै बढिसकेकोले र गाउँघरमा पनि खेतीयोग्य जमिनमा घर बनेर कोलाहलको स्थिति बन्न थालेपछि पहिलेको त्यो सुन्दरता सबै गुग्न पुगेको छ।

हाम्रो बाल्यकालमा यी शक्तिपिठहरूमा जाँदा मोटरगाडीमा हामीसँग बोकाहरू पनि चढेका हुन्थे भने फर्किंदा तिनका शिरछेदन भएका मृत शरीर मात्र हामीसँग यात्रा गर्दथे। मासु खाने र दसैँ मनाउने बालमस्तिष्कमा त्यो बोका माथि कुनै दयाको भावना अटेको हुँदैनथ्यो । आज सम्झँदा हामी बच्चैदेखि कस्ता क्रूर मनुवा बन्दै गएका रहेछौँ भन्ने कुराले अचम्म लाग्दछ।

बोका र खसी किन्न बजारमा जाने, मोलमोलाइ गरेर घरमा ल्याउने, मन्दिर र घरमा पनि बोका, खसी, भेडा, च्याङ्ग्रा र कुखुरा, हाँस आदि काट्ने र दिनभर तिनका मृत शरीरका रौँ खुइलाउने र मासु काट्ने काममा नै एक थरी परिवारजनको समय बित्ने गर्दथ्यो।

बुवाले जिस्किएर हामीलाई ‘अमेरिकी राष्ट्रपति रेगन पनि दशैंको निम्ति बोका किन्न गइरहेको कल्पना तिमीहरूलाई आउँछ होला हगी !’ भन्दा हामी खित्का छोडेर हाँस्थ्यौं। राँगा ठूलो जनावर भएकोले यसलाई काटेर सफा गर्न समुदायका धेरै मानिस खटिन्थे।

दशैंको बेलाको यो कार्य एकप्रकारले रमाइलो पनि लाग्थ्यो भने आज सम्झँदा यस्तो क्रूर कार्यमा आफू पनि संलग्न भएकोमा आत्मग्लानी भएर आउँछ। हाल यसरी दशैंमा मन्दिर र घरमा हुने काटमारमा ज्यादै नै कमी आएको छ। मानिसहरू आफूलाई आवश्यक पर्ने मासु टोल र विभिन्न ठाउँका मासु पसलबाट किनेर ल्याउने गर्दछन्।

महानवमीमा काठमाडौँको हनुमानढोकामा अवस्थित मठमन्दिरहरूमा सयौँको सङ्ख्यामा पशुबलि दिइन्छ। उमेर ढल्कँदै गएपछि त्यस्ता विभत्स दृश्य हेर्दा कहालीलाग्दो रहेछ। विदेशी पर्यटकहरू पनि निकै ध्यानमग्न भएर ती काटमारहरू हेर्दै आफ्ना क्यामेरामा कैद गरिबस्छन्। तर तिनको मुहारमा भने एकप्रकारको डर पनि देखिरहेको हुन्छ।

दशैंमा नेपालका सबै देवीहरूको मन्दिरमा बेहिसाब पशुबलि दिइन्छ । त्यस्तै भारतको बङ्गाल, आसाम तथा देवीको आराधना गर्ने अन्य सबै स्थानहरूमा दसैँको नाममा ठूलो सङ्ख्यामा पशुबलि दिइन्छ। भारतका कतिपय ठाउँ र मन्दिरहरूमा त कलिला तथा साना बोकाको पनि बलि दिइन्छ। हिन्दू धर्ममा मात्र नभई अन्य धेरै धर्महरूमा पशुबलि दिने प्रथा छ।

पशुबलि प्रथालाई क्रमिक रूपमा परिमार्जन गरेर पशुबलि बन्द नै गर्नुपर्दछ । सारा संसार र ब्रह्माण्डको सृष्टिकर्ता ईश्वरले आफ्ना एकथरी मानव रूपी सृजनाको मात्र हितको निम्ति अन्य सृजनाको बलि कसरी स्वीकार गर्लान् र ! त्यसमाथि महान् दार्शनिकहरू ईश्वरलाई निर्गुण, निःस्वार्थ र निष्पक्ष दैवी शक्तिको रूपमा मान्ने गर्दछन्।

दसैँ पर्वको दसौँ दिन विजया दसैँ मनाउने र परिवारजन, इष्टमित्र तथा समाजका सबै वर्गबीच टीका लगाउने चलन छ। वर्षमा एक पटक मनाइने यो टीकाको धेरै प्रकारका महिमा छन्।

टीकाको सबैभन्दा ठूलो महत्ता नै वर्षको एक पटक भए पनि सबै परिवारजन एक ठाउँमा जम्मा भएर भलाकुसारी गर्नु र एकापसमा सद्भावको वातावरण सिर्जना गर्नु हो । यसपालि बाढीपहिरोका बाबजुद पनि आआफ्ना घर गएर दशैंको पूजा गर्ने, चाड मनाउने र परिवारजनलाई भेट्नेहरूको सङ्ख्या मुलुकभर लाखौँको थियो । वर्षात्ले बाटोघाटो बिग्रिएर यातायातको कठिनाइ भएको भए पनि जसोतसो मानिसहरू आआफ्ना गन्तव्यमा पुग्न सफल भएका थिए।

त्रिभुवन विमानस्थल वा भारत र नेपालको सिमानाका नाकाहरूमा नेपाल भित्रिने नेपालीहरूको ठूलै भिड लागेको थियो भने नेपाल घुम्न वा काम गर्न आएका भारतीयहरू पनि आफ्नै मुलुकमा नै गएर दशैं मनाउने हेतुले यात्रामा हिँडेका दृश्य देखिएका थिए। महानवमीको साँझपख बौद्धनाथको स्तुपातिर घुम्न जाँदा त्यहाँ पनि सधैँ ठूलो सङ्ख्यामा देखिने भारतीय पर्यटक नगण्य भेटिएका थिए भने भारतबाहेकका मुलुकका पर्यटकको राम्रै उपस्थिति थियो।

भारतमा दसैँलाई रावणमाथि रामको विजयको रूपमा धुमधामसँग मनाइन्छ। रावणको ठूलो मूर्ति स्थापना गरेर सो मूर्तिमा रामभक्त हनुमानले पुच्छरमा आगो बालेर जलाएको मनोरञ्जक दृश्य भारतको राजधानी र अन्य सहरमा पनि हेर्न पाइन्छ।

बाढी, पहिरो र अन्य प्रकोपले परिवारका सदस्य र घरबारी तथा ठूलो धनराशी गुमाएका पीडित नेपालीहरू तथा गरिबीको विषमताको भुमरीले सधैँ पिरोलिएका नेपाली जनताको लागि दशैंतिहार वा आआफ्ना मान्यताका कुनै पनि चाडवाडले खुसी ल्याउन सक्दैनन्। तर पनि अब यस्तो स्थिति ननिम्तियोस् र गरिबीबाट मुक्त हुन पाइयोस् भनेर ईश्वरसँग झिनो वरदान मात्र माग्न पनि चाडवाडले एक मञ्चको भूमिका खेल्छन्।

आजको बदलिँदो र व्यस्त समाजमा वर्षको एक पटक भए पनि दसैँतिहार र टीकाकै बहानामा परिवारजन र आफन्तजनसँग भेट्ने यो एउटा उत्तम माध्यम हो । तर पहिले जस्तो सयौँ नातेदार तथा हितैषीकहाँ टीका लगाउन जाने प्रथामा भने परिवर्तन आएको छ।

म आफैँले पनि एकाध अति निकट नातेदारकहाँ मात्र टीका थाप्न जाने मौका पाएँ । पहिलेको दाँजोमा सहरी यातायातमा पनि निकै सुविधा भए पनि पहिले जस्तो सहर साना हुँदैनन्। सस्तो जमिनको खोजीमा इष्टमित्रहरू निकै टाढाटाढा जमिन किनेर बस्न थालेका छन्।

दसैँका सबै दिन निकै महत्त्वका भए पनि पहिलो दिन यानी घटस्थापना, सातौँ दिन यानी फूलपाती, आठौँ दिन यानी महाअष्टमी र नवौँ दिन यानी महानवमी प्रमुख दिनहरू हुन् भने दसौँ दिन यानी टीकाको दिन भने सबैभन्दा विशेष दिन हो।

अनि दशैंको विसर्जन हुने कोजाग्रत पूर्णिमाको पनि विशेष महत्त्व हुने गर्दछ। आश्विन शुक्लपक्षमा सुरु हुने दसैँ पर्व कोजाग्रत पूर्णिमाको दिन लक्ष्मीको पूजा गरेर सकिन्छ । त्यसको दुई हप्तापछि यानी कृष्णपक्षमा भने तिहार सुरु हुन्छ। अतः दशैंको अन्तिम दिन हुने लक्ष्मी पूजा पूर्णिमाको दिन गरिन्छ भने तिहारको लक्ष्मी पूजा त्यसलगत्तैको औँसीको दिन।

केही उच्छृङ्खल तत्त्वबाहेक नेपालका सबै जातजाति र धर्मावलम्बीहरूले आफ्नाबाहेक अन्य धर्मका चाड पनि खुसीसाथ मनाउने गर्दछन् । क्रिस्चियनहरूको क्रिसमस र नयाँ वर्ष होस् वा बौद्ध धर्मावलम्बीको वैशाख पूर्णिमा (बुद्ध जयन्ती) र अन्य चाड होस् वा इस्लाम धर्मावलम्बीको इद, बकरिद वा रोजा र हिमाल, पहाड, तराईका अन्य चाड किन नहुन्, सबै नेपालीहरूले शुभकामना आदानप्रदान गरेर मनाउने गर्दछन्।

त्यस्तै नेपालका सनातन धर्मावलम्बी र हिन्दूहरूले मनाउने दशैंतिहार तथा अन्य महत्त्वपूर्ण चाडवाड र जात्रामा पनि नेपालका सबै जातजाति र धर्मावलम्बीहरूले शुभकामना आदानप्रदान गर्दै खुसीयाली बाँड्ने चलन छ। यो धार्मिक सहिष्णुता सधैँ रहिरहोस् र धर्म र जातको नाममा समाजलाई दूषित बनाउन खोज्नेहरूलाई परमेश्वरले सदबुद्धि दिनुहोस्, यही नै मूल कामना छ!


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *