दशैंको बिदाइ र तिहारको पदचाप
दशैंको बिदाइ, तिहारको पदचाप र धानबालीको चटारोले ग्रामीण जीवनलाई पुनः जागृत पार्छ।
प्रतीक्षाको गोरेटो कति लामो हुन्छ- जसको नाप कुनै परम्परागत तुलोदेखि अत्याधुनिक नापतौलका सामग्रीले समेत तौलन सक्दैन। न त कुनै नक्साले नै देखाउन सक्छ, न त भौगोलिक सीमांकनको रेखाले नै कोर्न सक्छ। त्यो त केवल उत्कण्ठित आँखा र औँलाका भाँचिएका टुक्काहरूमा नापिन्छ।
जस्तै- शरद लाग्यो, इन्द्रजात्रा आयो, पचली भैरव जात्रा र सिकाली जात्रा पनि सकियो। अब आकाशले पनि दसैँ आएको सङ्केत गरिसक्यो। फूलपाती भित्र्याइयो, अब दशैं घरभित्रै पसिसक्यो।
दिनहरू एक-एक गरी ढल्किँदै जाँदा, मनभित्र एउटा रहस्यमय स्पन्दन जागिरहन्थ्यो। दशैं आउनुअघिको त्यो समय, सातौँ दिन लामो बिदाको फुर्सदिलो समयको सदुपयोग। बाँकी रहेका थाँती कामहरूको मेलोमेसो पूरा गर्ने ध्याउन्न। यसैगरी परदेशको क्षितिजदेखि आफ्नै घरदेशको आँगनको पिँढीसम्म एउटा लामो, अधैर्य र पट्यारलाग्दो उकुसमुकुसले भरिएको प्रतीक्षाको बाटो भएर पसारिइरहन्थ्यो।
कसैका लागि त्यो प्रतीक्षा गाडीको एउटा टिकट पाउनुमा सीमित हुन्थ्यो, कसैका लागि धेरै वर्षपछि आफ्नै मान्छेको हातबाट निधारमा पर्न जाने रातो अक्षताको स्पर्श पाउनुमा हुन्थ्यो। आँगनको डिलमा उभिएर टोलाइरहने बूढा बा-आमाका आँखामा छोराछोरी आइपुग्ने समयको लेखाजोखा हुन्थ्यो भने, बालबालिकाका कलिला मनहरूमा मासुभात, नयाँ लुगा, पिङ र चंगाको रङ पोखिइरहेको हुन्थ्यो।
हामी दिन गन्थ्यौं, औंला भाँच्थ्यौं। मनमनै सुस्केरा हाल्थ्यौं- यसपालिको दसैँ कहिले आउला, कस्तो खुसी र सुवास लिएर आउला? कसरी आउला, के-के लिएर आउला? आएपछि कतिन्जेल बस्ला?
अनि, एकदिन अकस्मात् टुप्लुक्कै दशैं आइपुग्थ्यो। यसरी टुप्लुक्कै आइपुगेको दशैंले कामको अनेक बोझ पनि थमाउँथ्यो। घरका कुनाकानीमा अस्तव्यस्त र असरल्ल रहेका सामान हटाउने, सफा गर्नेदेखि सजाउने अनेक काम यतिबेलै आइपर्थे। माकुराका जालो फाल्ने, खुइलिएका भित्तामा रङ भर्ने साथै किनमेलको हतारो त्यत्तिकै हुन्थ्यो।
बिदा भनेर कहाँ सुख पाउनु र, सास फेर्ने फुर्सदसमेत हुँदैनथ्यो। मिलिक्कै दिन बितिहाल्थ्यो। किनमेल जानु, घर आउनु, खाना पकाउनु, भाँडा माझ्नु- ओहोहो, काम त कति हो कति!
यद्यपि यति हुँदाहुँदै पनि दसैँले बेग्लै उमंग ल्याउँथ्यो। उल्लास भित्र्याउँथ्यो। खुसीका अनेक रङहरूमा जीवनलाई चंगाजस्तै उडाउँथ्यो, पिङजस्तै मच्चाउँथ्यो। हावाजस्तै वेग मार्थ्यो र शरदको आकाशजस्तै सफा भएर सबैसँग हाँसीखुसीले बात मार्थ्यो।
यसरी दसैँ केवल पर्व मात्रै भएर आउँदैनथ्यो, त्यो त एउटा सिङ्गो उत्सवको उज्यालो बोकेर आउँथ्यो। औँसीको अँध्यारोमा पनि झिलिमिली बत्ती भएर छाउँथ्यो। दुःखको घडीमा पनि खुसीको पल भएर आउँथ्यो। बेफुर्सदको क्षणमा पनि फुर्सदको स्वादिलो खाना भएर आउँथ्यो। बिछोडको घडीमा पनि मिलनको खुसी बोकेर आउँथ्यो।
घरका पुराना भित्ताहरूले रातो-सेतो माटो र रङको स्पर्श पाउँदा लाग्थ्यो, यी निर्जीव पर्खाल र भित्ताहरूले पनि नयाँ जीवन पाएका हुन्थे। कोठा, चोटा, बैठक, भर्याङ, मझेरी र पिँढीहरूमा वर्षौँदेखि हराएका परिचित आवाजहरू फेरि सल्बलाउन थाल्थे।
भान्साबाट आउने मीठो बासना र आँगनमा थपिएका नयाँ पाइलाहरूले घरको शून्यतालाई एकाएक मेटिदिन्थे। हाँसोका ठूला छालहरूभित्र गुम्सिएका कैयौँ दुःखहरू क्षणभरका लागि बिलाउँथे, अनि ती किनारामा भेट र भलाकुसारी गर्दै आराम गरिरहेका हुन्थे। आफन्तको न्यानो अँगालोमा टाढिएका दूरीहरू पग्लिएर जान्थे।
यस्तो खुसीमा केही छिनका लागि भए पनि पीडा र तनावहरू सुइकुच्चा ठोक्थे वा साथमै रहे पनि तिनलाई पैतालाले थिचेर खिचीमिची पारी बिर्सिने चेष्टा गरिन्थ्यो। बाढी र प्रकोपको पीडालाई फेरि नसम्झिने गरी खुसीलाई अँगाल्न पुगिन्थ्यो।
भूकम्प वा दैवीप्रकोपको विपत्तिबाट जोगाउन भगवान्सँग प्रार्थना गरिन्थ्यो। पूजापाठ र आस्था-आराधनाको एउटा बेग्लै अनुराग देवस्थलदेखि घरभरि फैलिन्थ्यो। त्यसमा अलग्गै विश्वास हुन्थ्यो। सामाजिक सद्भाव र हार्दिकताको आभास मिल्थ्यो।
त्यो आत्मीयताको सघन क्षणमा लाग्थ्यो- आहा! समयलाई यहीँ, यत्तिकैमा रोकिदिन पाए कति जाती हुन्थ्यो होला! दैलोमा आइपुगेको बिदाइको क्षणलाई अलि परै अडिन भन्न पाए कति राम्रो हुन्थ्यो होला!
तर, समय त एउटा बहिरहने नदी रहेछ, जसले कसैको आग्रह सुन्दैन।
दसैँ त गयो, तर त्यसले छाडेर गएको शून्यतालाई दूर गर्न अब भाइतिहारको मधुर प्रकाश बिस्तारै नजिकिँदै छ। तिहार— जो मखमली र सयपत्रीको सुवास बोकेर आउँछ, दिदीबहिनीका स्नेहमयी काँपेका हातहरूमा सप्तरङ्गी टीकाको न्यानोपन बोकेर आउँछ। आँगनको सुनसानपनलाई अब दीपावलीको झिलिमिलीले ढाक्नेछ।
जीवन पनि त यही आगमन र प्रस्थानको एउटा निरन्तर यात्रा नै त हो! एउटा पर्व जान्छ, अर्को पर्वले जीवनमा नयाँ रङ भर्छ। खेतमा पाकेका धानका बालाझैँ हाम्रा आशाहरू पनि लहलहाइरहन्छन्। दशैंको बिदाइ, तिहारको पदचाप र धानबालीको चटारो सम्झनाहरूको एउटा मौन धुन बनेर मनको गहिराइमा निरन्तर गुञ्जिरहन्छ।
No ads found for this position




Facebook Comment