छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु

डिसी नेपाल
६ कार्तिक २०८३ १६:५७
40
Shares

काठमाडौं । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। बिहीबार सुनसरी, रौतहट, तनहुँ, कञ्चनपुर र दाङमा भएका दुर्घटनामा सात जनाको मृत्यु भएको हो भने स्याङ्जामा शुक्रबार भएको स्कुटर दुर्घटनामा एक जनाको ज्यान गएको छ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ स्थित सडकमा बिहीबार दिउँसो कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार ६२ वर्षीय जनक लाल मेहताको मृत्यु भएको छ। भोक्राहा नरसिंह गाउँपालिका–१ निवासी मेहताको विराटनगरस्थित प्राइम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ।

त्यस्तै, सुनसरीकै कोशी गाउँपालिका–१ लौकहीस्थित सडकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा २२ वर्षीय अर्जुन यादवको मृत्यु भएको छ। भोक्राहा नरसिंह गाउँपालिका–३ निवासी यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य तीन जनामध्ये एक जनाको न्युरो अस्पताल विराटनगर र दुई जनाको धरानस्थित अस्पतालमा उपचार भइरहेको छ।

सुनसरीकै धरान उपमहानगरपालिका–८ शनी मन्दिरस्थित सडकमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय सम्राट तामाङको मृत्यु भएको छ। इटहरीबाट धरानतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका धरान–५ देउराली निवासी तामाङको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, रौतहटको वृन्दावन नगरपालिका–६ हर्षाहा चोकस्थित सडकमा मोटरसाइकलको ठक्करबाट २७ वर्षीय अबदुल सहमदको मृत्यु भएको छ। चपुरबाट गौरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गुजरा नगरपालिका–८ देविपुर निवासी सहमद गम्भीर घाइते भएका थिए। उनको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार बेलुकी मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ झरौटास्थित सडकमा कारको ठक्करबाट ६८ वर्षीय सन्तमान श्रेष्ठको मृत्यु भएको छ। दमौलीबाट पोखरातर्फ जाँदै गरेको कारले ठक्कर दिँदा शुक्लागण्डकी नगरपालिका–११ राईपुर निवासी श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनको झरौटास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका–२ खैरेनीस्थित सडकमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालक ६५ वर्षीय सतरोहन लाल यादवको घटनास्थलमै मृत्यु भएको छ। भारतको लखिमपुर खिरीअन्तर्गत सम्पूर्णानगर–१ निवासी यादव दुर्घटनामा परेका थिए।

त्यस्तै, दाङको घोराही उपमहानगरपालिका–१५ सुस्मा रोडमा बिहीबार राति स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा २१ वर्षीय अस्मित कँवरको मृत्यु भएको छ। घोराही–१५ रतनपुर निवासी कँवरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अर्का एक जनालाई थप उपचारका लागि संजीवनी अस्पताल रिफर गरिएको छ।

स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीस्थित सडकमा शुक्रबार दिउँसो स्कुटर दुर्घटना हुँदा ३९ वर्षीया रेवती गुरुङको मृत्यु भएको छ। बिरुवा गाउँपालिका–२ निवासी गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *