चितवनमा दसैँमा सवारी दुर्घटना ७३ प्रतिशतले घट्यो

डिसी नेपाल
८ कार्तिक २०८३ ९:१३
4
Shares

नारायणगढ। चितवनमा यस वर्षको दसैँ अवधिमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ। गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटना करिब ७३ प्रतिशतले घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को दसैँ अवधिमा चितवनमा ३३ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ५८ जना घाइते भएका थिए।

चालु आर्थिक वर्ष २०८३/८४ को दसैँ अवधिमा भने नौ वटा सवारी दुर्घटना भएका छन्। यस अवधिमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।

गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनाको सङ्ख्या २४ वटाले घटेको छ। त्यसैगरी, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्यामा ७५ प्रतिशत र घाइते हुनेको सङ्ख्यामा ५० प्रतिशतले कमी आएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार प्रविधिको प्रयोग, कडाइका साथ गरिएको सवारी जाँच, चुस्त सुरक्षा व्यवस्था र ट्राफिक सचेतना अभियानका कारण दुर्घटना तथा मानवीय क्षति घटाउन सहयोग पुगेको हो।

जिल्लाका प्रमुख स्थानमा जडान गरिएका सिसिटिभी क्यामेरामार्फत निगरानी गर्नु, ट्राफिक प्रहरीले बडी वर्न क्यामेराको प्रयोग गर्नु तथा मुख्य सडकखण्डमा सवारी जाँचलाई कडाइ गर्नुले दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पारेको थापाले बताए।

उनका अनुसार चाडपर्वका समयमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनुका साथै निरन्तर ट्राफिक सचेतना अभिवृद्धि गरिएकाले पनि यस वर्ष सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घटाउन मद्दत पुगेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *