अर्थमन्त्रीको भारत भ्रमणका क्रममा दिइएको अभिव्यक्तिप्रति एमालेको कडा आपत्ति
काठमाडौं। नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै एमाले नेता शेरबहादुर तामाङले परराष्ट्र नीतिको निरन्तरता र छिमेकी सम्बन्धका विषयमा सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन्।
“नेपाल र भारतबीच परापूर्वकालदेखि जनस्तरमा ऐतिहासिक सम्बन्ध रहे पनि राजनीतिक र प्रशासनिक तहमा भने सोचेजस्तो सुमधुर सम्बन्ध कायम हुन सकेको छैन,” तामाङले भने, “नेपालको भौगोलिक अखण्डतामाथि विगतमा भारतको हेपाहा प्रवृत्ति स्पष्ट रूपमा देखिएकै हो। दसगजा क्षेत्रका सीमा पिल्लर सारिनुका साथै कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका नेपाली जनताले भारतीय थिचोमिचोबाट निरन्तर सास्ती भोग्दै आएका छन्।”
उनले विगतमा भारतीय प्रहरीले बानेश्वरसम्मै आएर छापा मारेको प्रसङ्ग उल्लेख गर्दै दुवै देशले यस्ता विवादित विषयहरूलाई समाधान गरेर मात्र सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए।
सरकार परिवर्तन भए पनि देशको असंलग्न परराष्ट्र नीति परिवर्तन हुन नहुने बताउँदै एमाले नेता तामाङले अर्थमन्त्रीको कूटनीतिक शैलीमाथि तिखो टिप्पणी गरे। “सरकार फेरिए पनि असंलग्न र सन्तुलित परराष्ट्र नीति डगमगाउनु हुँदैन। अर्थमन्त्री वाग्लेले भारत भ्रमणका क्रममा किन लम्पसार पर्नुपरेको हो, त्यो बुझ्न सकिएन,” उनले आक्रोश व्यक्त गर्दै भने, “छिमेकी मित्रराष्ट्रहरूसँगको ऐतिहासिक सम्बन्धलाई अवसरका रूपमा लिँदै भारत र चीन दुवैसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम गरेर अघि बढ्नुपर्छ।”
साक्षात्कारका क्रममा तामाङले प्रधानमन्त्री बालेन शाहको आगामी भारत भ्रमणका क्रममा १८ हजार मेगावाट क्षमताको बहुचर्चित कर्णाली चिसापानी जलविद्युत् आयोजना अघि बढाउने सम्झौता गर्न सरकारलाई सुझाव दिए। उक्त आयोजना अघि बढेमा दुवै देशलाई ठूलो आर्थिक लाभ पुग्नुका साथै नेपाली जनतालाई घरायसी प्रयोजनका लागि निःशुल्क बिजुली उपलब्ध गराउन सकिने उनको दाबी छ।
यसैगरी, चाडबाडको समयमा बजारमा अत्यधिक बढेको महँगी नियन्त्रण गर्न सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने तामाङले बताए। वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै उनले भने, “बालेन शाह नेतृत्वको सरकारले यति काम गर्यो भनेर ठ्याक्कै देखाउन सक्ने कुनै ठोस उपलब्धि हासिल गर्न सकेको छैन। जनताको आशा र भरोसामाथि यो सरकारले तुषारापात नगरोस्।”
एमाले तत्कालै सडक आन्दोलनमा जाने मनस्थितिमा नरहेको स्पष्ट पार्दै नेता तामाङले सरकारले जनअपेक्षा अनुसार काम नगरे प्रतिपक्षका रूपमा संसद र सडकबाट सशक्त ढङ्गले खबरदारी जारी राख्ने चेतावनी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment